+
+

अखिल क्रान्तिकारीमा पार्टीको छायाँ, प्यानल बनाउन कसरत

अध्यक्ष प्रचण्ड निकटका नेताहरूले फरक–फरक व्यक्ति खडा गर्दा अन्य नेताहरूका पक्षबाट उम्मेदवार बनेकाले प्यानल खडा गर्न नसकेको बताइएको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८१ माघ १० गते २१:५१

१० माघ, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि अध्यक्षमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । तर, प्रतिस्पर्धा भने तीन जनाबीच हुने संगठनका नेताहरूले दाबी गरेका छन् ।

अध्यक्षमा उपदेशकुमार यादव, सुदीन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा सापकोटा, विश्वमणि थापा र योगन्द्रबहादुर बुढाले उम्मेदवारी दिएका छन् ।

निर्वाचनका लागि यादव, सापकोटा र राईबीच स्पष्ट प्यानल देखिएपनि पौडेल, थापा र बुढाको तलसम्म प्यानल देखिइसकेको छैन । अखिल क्रान्तिकारीका एक पूर्वअध्यक्षका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इच्छाएका व्यक्ति सापकोटा हुन् । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षबाट यादव र उपमहासचिव जनार्दन शर्मा समूहबाट राई अध्यक्षका उम्मेदवार बनेका छन् ।

अध्यक्ष प्रचण्ड निकटका नेताहरूले फरक–फरक व्यक्ति खडा गर्दा अन्य नेताहरूका पक्षबाट उम्मेदवार बनेकाले प्यानल खडा गर्न नसकेको बताइएको छ । महासचिव देव गुरुङ र उपाध्यक्ष पम्फा भुसालले अध्यक्षमा विश्वमणि थापा अघि सारेका छन् । उपाध्यक्ष कृष्णबहादुर महराले योगेन्द्रबहादुर बुढा र उपमहासचिव वर्षमान पुनले सुदीन पौडेललाई अघि सारेका छन् ।

पर्वतका सापकोटालाई नेतृत्व दिन अध्यक्ष प्रचण्ड स्वयंले इच्छा राखेपछि हेडक्वाटर नजिक हुनेहरूलाई उनीसँग जोडेर प्यानल बनाइएको ती पूर्वअध्यक्ष बताउँछन् । सापकोटाको प्यानलबाट महासचिवमा उम्मेदवारी दिएका गोविन्द बानियाँ, प्रतिक कार्की, सञ्जय महतो र रोशन खड्कामध्ये तीन जनाको नाम फिर्ता गराउन उक्त समूहका विद्यार्थी नेताले पहल गरिरहेका छन् ।

मधेसको ‘सेन्टिमेन्ट क्याच’ गर्ने उद्देश्यले सञ्जय महतोलाई महासचिव बनाउनेबारे पनि उक्त समूहमा छलफल चलेको छ । शर्मा पक्षबाट सम्भावना कम भएपछि महासचिवको उम्मेदवार बन्न महतोले समूह परिवर्तन गरेको नेताहरू दाबी गर्छन् ।

उपाध्यक्षमा सापकोटा प्यानलबाट मदन ढकाल, उचित दास, मुना काप्री, सुरजकुमार भण्डारी, अविनास रम्तेल लगायतको नाम चर्चामा छ । ढकाल पार्टी अध्यक्ष प्रचण्ड निकट छन् । काप्री संगठनका पूर्व महासचिव दीपेश पुन नजिक छन् भने रम्तेल प्रचण्डकी छोरी गंगा दाहालले इच्छाइएकी व्यक्ति भएको विद्यार्थी नेताहरू दाबी गर्छन् ।

यो समूहबाट कोषाध्यक्षमा शर्मा समूह छोडेर संस्थापनतिर गएका महेन्द्रबहादुर चन्दको नाम चर्चामा छ ।

उपमहासचिव शर्मा पक्षलाई प्यानल बनाउन अरूलाई भन्दा सजिलो भएको देखिन्छ । अध्यक्ष र उनी निकटबाट धेरै आकांक्षी देखिँदा एउटा समूहको प्रतिनिधित्व गरेका उपमहासचिव शर्मा पक्षलाई प्यानल बनाउन सजिलो भएको हो ।

शर्मा समूहले अध्यक्षको प्रतिस्पर्धामा हेमन्त राईलाई अघि सारेको छ । भोजपुरका राईलाई नेता सुदन किराँतीको पनि समर्थन छ ।

उक्त प्यानलबाट महासचिवको उम्मेदवारमा निर्विकल्प रोशन थापामगर देखिएका छन् । सोही समूहबाट अध्यक्षको उम्मेदवार हुने अपेक्षा राखेका उनलाई महासचिव पदमा उठाइएको छ ।

राईको प्यानलबाट उपाध्यक्षमा सपिम खरेल, भीष्म चौलागाईं, देवेन्द्रराज शर्मा, ममता अधिकारी, शिवम साहू, उमेश कँडेल लगायत छन् ।

रौतहटका यादवको प्यानलबाट महासचिवमा सञ्जीव फुँयाल (बन्दुक), उपाध्यक्षमा समीर बुढाथोकी, सञ्जीवकुमार चौधरी लगायत र कोषाध्यक्षमा पार्वता चौलागाईं उम्मेदवार बनेकी छन् ।

यादवको पक्षमा मधेसका नेताहरू एकजुट रहेको विद्यार्थी संगठनका नेताहरूले दाबी गरेका छन् । अखिल क्रान्तिकारीको इतिहासमा मधेसबाट मूल नेतृत्वमा पहिलोपटक यादवले उम्मेदवारी दिएका छन् । नेताहरू गिरीराजमणि पोखरेल, लिलामणि पोखरेल, मातृका यादव, विश्वनाथ साह लगायतका नेताहरू यादवको पक्षमा एकढिक्का देखिएका छन् ।

अध्यक्षको उम्मेदवार बनेका सुदीन पौडेल विश्वमणि थापा र योगन्द्रबहादुर बुढाको भने स्पष्टसँग प्यानल नबनेको नेताहरूको दाबी छ । अध्यक्षमा उम्मेदवारी दिएका पौडेल तनहुँका भए पनि उनले विद्यार्थी राजनीति म्याग्दीबाट सुरु गरेका थिए ।

पौडेल गण्डकी प्रदेश अध्यक्ष भई कार्य गरिसकेको भएकोले उनको पक्षमा तुलनात्मक रूपमा बढी मत खस्ने उनी निकट नेताहरू दाबी गर्छन् ।

अध्यक्षका उम्मेदवार सर्लाहीका थापा र डोल्पाका बुढाको पक्षमा प्यानलमा उम्मेदवारहरू छुट्टिइसकेका छैनन् ।

निर्वाचन नजिकिएसँगै केही विद्यार्थी नेताहरूले समूह समेत परिवर्तन गरेर समीकरण बनाउन लागेका छन् । उपमहासचिव शर्मा निकट भनी चिनिएकी संगठनकी पूर्व अध्यक्ष पञ्चा सिंह हेडक्वाटर नजिक भएकी छन् ।

शर्मा समूहबाट यसअघि उपाध्यक्ष रहेका नारायण खनाल र मदन भूल पनि प्रचण्डतिर लागेका छन् । अर्कोतर्फ, प्रचण्ड पक्षमा रहेकाहरू केही नेताहरू भने उपमहासचिव शर्मातिर लागेका छन् । पूर्व उपाध्यक्ष लक्ष्मी जोशी, अशेष भट्ट लगायत नेताहरू शर्मा समूहमा खुलेका हुन् ।

अखिल क्रान्तिकारीको विधानअनुसार २४३ सदस्यीय केन्द्रीय कमिटीमा ३३ जना पदाधिकारी, ४८ सचिवलाय सदस्य र १६२ जना केन्द्रीय सदस्य हुनेछन् । २३ औं राष्ट्रिय सम्मेलनका लागि १२ माघमा मतदान हुनेछ । पदाधिकारीमा ३३ पदका लागि निर्वाचन हुँदा अध्यक्ष, महासचिव र कोषाध्यक्षमा १/१ जना, उपाध्यक्ष ९, उपमहासचिव ९ र सचिव १२ जना चुनिने छन् ।

अखिल क्रान्तिकारीको निर्वाचनका लागि गठित निर्वाचन आयोगका प्रमुख मुक्ति प्रधानका अनुसार उम्मेदवारउपर परेका दाबी विरोध माथि छानबिन जारी रहेको छ । ‘उम्मेदवारमाथि परेको दाबी विरोधमा छानबिन भइरहेको छ, यथासक्य छिटो उम्मेदवारको अन्तिम नामावली प्रकाशित गछौं,’ प्रधानले अनलाइनखबरसँग भने ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?