+
+

६ महिनामा काठमाडौं महानगरको खर्च जम्मा १७ प्रतिशत

महानगर वित्त विभागका अनुसार कुल विनियोजित २४ अर्ब ९० करोड ६३ लाख २५ हजार बजेटमध्ये ४ अर्ब ३७ करोड ८७ लाख ४७ हजारमात्र खर्च भएको छ । यो चालु आवको कुल लक्ष्यको १७.५८ प्रतिशतमात्र हो ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ माघ १० गते १९:२३

१० माघ, काठमाडौं । संघीय राजधानी समेत रहेको देशकै ठूलो बजेट ल्याउने स्थानीय निकाय काठमाडौं महानगरपालिकाले बजेट खर्च अत्यन्तै न्यून गरेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना अर्थात् पुस मसान्तसम्म कुल बजेटको एक चौथाइ पनि खर्च गर्न नसकेको हो ।

महानगर वित्त विभागका अनुसार कुल विनियोजित २४ अर्ब ९० करोड ६३ लाख २५ हजार बजेटमध्ये ४ अर्ब ३७ करोड ८७ लाख ४७ हजारमात्र खर्च भएको छ । यो चालु आवको कुल लक्ष्यको १७.५८ प्रतिशतमात्र हो ।

कुन शीर्षकमा खर्च कति ?

आर्थिक विकासतर्फ विनियोजन भएको ७४ करोड ४४ लाख ८३ हजारमध्ये १८ करोड ६५ लाख रुपैयाँ अर्थात् २५ प्रतिशत खर्च गरेको छ । महानगरको आर्थिक विकास शीर्षकतर्फ कृषि, उद्योग, पर्यटन, सहकारी, वित्तीय क्षेत्र, पशुपन्छी विकास पर्छ ।

यस्तै सामाजिक विकासतर्फ विनियोजन भएको ५ अर्ब ३५ करोड ३४ लाखमध्ये १३.२३ प्रतिशत अर्थात् ७० करोड ८४ लाखमात्र खर्च गर्न सकेको छ ।

महानगरले सामाजिक विकास शीर्षक अन्तर्गत शिक्षा, स्वास्थ्य खानेपानी तथा सरसफाइ, भाषा तथा संस्कृति, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, युवा तथा खेलकुद, जनसंख्या तथा बसाइँसराइ, सामाजिक सुरक्षा तथा संरक्षण छ ।

पूर्वाधार विकास खर्च १३ प्रतिशतमात्र

काठमाडौं महानगरको सबैभन्दा धेरै बजेट भएको पूर्वाधार विकासतर्फ रहेको ११ अर्ब ३६ करोड ४५ लाखमध्ये चालु आव ६ महिनामा जम्मा १३.६१ प्रतिशत अर्थात् १ अर्ब ५४ करोड ७० लाखमात्र गरेको छ ।

पूर्वाधार विकास अन्तर्गत यातायात पूर्वाधार, भवन, आवास तथा सहरी विकास, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि, सम्पदा पूर्वाधार, विज्ञान तथा प्रविधि, पुनर्निमाण पर्छ ।

यस्तै सुशासन तथा अन्तरसबन्धित क्षेत्रमा छुट्याएको ३ अर्ब २४ करोड ६९ लाखमध्ये जम्मा ८ प्रतिशत अर्थात् २६ करोड १६ लाख ६२ हजार रुपैयाँमात्र खर्च भएको छ ।

यस अन्तर्गत वातावरण तथा जलवायु, विपद् व्यवस्थापन, मानव संशाधन विकास, शान्ति तथा सुव्यवस्था, पराराष्ट्र, कानुन तथा न्याय, शासन प्रणाली, तथ्यांक प्रणाली, श्रम तथा रोजगारी, योजना तर्जुमा र कार्यान्वयन, अनुगमन तथा मूल्यांकन, प्रशासकीय सुशासन, वित्तीय सुशासन पर्छ ।

महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ भने ६ महिनामा ३९.९ प्रतिशत खर्च गरेको छ । महानगरले यो शीर्षकमा ४ अर्ब १९ करोड ६९ लाख छुट्याएको थियो भने १ अर्ब ६७ करोड ४९ लाख खर्च गर्न सकेको हो ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?