
१० माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारीसधान प्रदूषण परीक्षण गर्दा ६० प्रतिशत प्रदूषित भेटिएको छ ।
महानगरले २ सय ९२ वटा सवारीसाधनको प्रदूषण परीक्षण गर्दा १ सय ७४ अर्थात् ६० प्रतिशत प्रदूषण फेल भएका भेटिएका हुन् ।
तीमध्ये पेट्रोलबाट चल्ने ७१ सवारी जाँच गर्दा १४ वटा फेल भेटिए भने डिजेलबाट चल्ने २ सय २१ मध्ये १ सय ६० फेल छन् ।
सवारीसाधनबाट वायु प्रदूषणमा पर्ने असर घटाउन महानगरले परीक्षण गरिरहेको छ । यस क्रममा फेल भएका सवारीलाई मर्मत गरेर मापदण्डमा सञ्चालन गर्न सुझाव दिइएको महानगरले जनाएको छ ।
२९ पुसदेखि थालिएको यो सचेतनात्मक कार्यक्रम नियमित चलिरहेको छ । यस कार्यक्रमबाट सुधारको मौका दिँदा पनि मापदण्ड पूरा नभएका सवारीलाई क्रमशः सञ्चालनमा रोक लगाउनेसम्मको कारबाही गर्ने महानगरको तयारी छ ।
अहिलेसम्म कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामंगल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधन परीक्षण भएको छ ।
जाँचका क्रममा फेल भेटिएका सवारीमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कुल बस, सरकारी कार्यालयले सञ्चालन गरेको बोलेरो, सामान बोक्ने ट्रक लगायत छन् ।
सवारी जाँच गर्न महानगरको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्य गरेको छ ।
प्रतिक्रिया 4