+

ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको तयारी तीव्र

२०८१ माघ  ११ गते १२:१० २०८१ माघ ११ गते १२:१०
ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको तयारी तीव्र

११ माघ, काठमाडौं । ई-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा हुने दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको तयारी तीव्रताका साथ अघि बढिरहेको छ ।

च्याम्पियनसीपको अन्तिम चरणको प्रतिस्पर्धा फागुन ८ देखि १० गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा हुनेछ । त्यसका लागि अहिले तयारी तीव्र भइरहेको छ भने सहभागी हुन चाहनेहरुको संख्या पनि उल्लेख्य छ ।

नेपाली ई-स्पोर्ट्स इतिहासमै सर्वाधिक पुरस्कार राशी रहेको यस च्याम्पियनसीपमा विभिन्न ६ विधाको इभेन्टमा प्रतिस्पर्धा गराइनेछ । जसमा ई-फुटबल, मोबाइल लिजेण्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट र कस प्ले छन् ।

च्याम्पियनसीपमा छनोट चरणका खेलहरु अनलाइनबाट गराइनेछ भने अन्तिम चरणको खेल मात्र भौतिक रुपमा (ल्यान इभेन्ट) हुनेछ । अब शनिबारसम्म नाम दर्ता गर्न सकिनेछ । इच्छुक खेलाडीहरुले खल्ती एपमार्फत नि:शूल्क नाम दर्ता गराउन सक्नेछन् ।

क्वालिफायर राउण्डका खेलहरु यही माघ १४ देखि १८ गतेसम्म (जनवरी २७-३१) सम्म हुनेछ । यसैगरी समूह्य चरण र प्लेअफका खेलहरु  माघ २० देखि फागुन २ गतेसम्म (फेब्रुअरी २-१४) सम्म हुनेछ ।

खेलाडीहरु पनि च्याम्पियनसीपलाई लिएर उत्साहित छन् । ‘यस पटक दशरथ रंगशालमै हुन लागेको छ । त्यसैले हामी एकदमै उत्साहित छौं’ लियो इस्पोर्ट्सका सदस्य प्रवेश गुरुङले बताए । सुर्खेतमा गत वर्ष भएको पहिलो संस्करणमा उपविजेता बनेको लियो इस्पोर्ट्स यस पटक च्याम्पियन बन्ने लक्ष्यका साथ तयारी गरिरहेको उनले बताए ।

हैत दामी स्टेज नेम रहेका उनी पहिलो संस्करणमा एमभपीपी पनि बनेका थिए । ‘हामी यही च्याम्पियनसीपका लागि तयारी गरिरहेका छन् । यो जितेमा एसियन च्याम्पियनसीपमा नेपाललाई प्रतिनिधित्व गर्न पाउनेछ । त्यसैले सबै जना उत्साहित छन् ।’

अन्तिम चरणमा पब्जीतर्फ १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । पब्जीमा हरेक टिममा ४ जना मुख्य खेलाडी हुनेछन् भने १ अतिरिक्त खेलाडी र १ म्यानेजर हुनेछन् । यसैगरी मोबाइल लेजेण्ड्समा २ टिमले अन्तिम चरणमा प्रतिस्पर्धा छन् । यसमा हरेक टिममा ५ जना खेलाडी हुनेछन् भने एक अतिरिक्त खेलाडी र १ म्यानेजर हुनेछन् ।

ई फुटबलमा अन्तिम चरणमा ३२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी डोटा टू र भ्यालोरेन्टमा ४-४ टिम अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । कस प्ले मा भने कुनै लिमिटेसन राखिएको छैन । उनीहरुले फेसन सो शैलीमा स्टेजमा डेमो देखाउनेछन् ।

अन्तिम चरणको खेललाई रोमाञ्चक र आकर्षक तरिकाले आयोजना गर्ने तयारी भइरहेको नेपाल प्लेजका एमडी उज्जेनलाल श्रेष्ठले जानकारी दिए । अहिलेसम्म च्याम्पियनसीपका लागि ५ हजार भन्दा बढीले नाम रजिस्टर गरिसकेको श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समयमा नेपालमा इ-स्पोर्ट्स खेलको गतिविधि बढिरहेको र नेसनल च्याम्पियनससिपको दोस्रो संस्करणमै ठूलो माहोल बनेको इशानका अध्यक्ष अन्जन धमलाले बताए ।

च्याम्पियन आयोजनाका लागि इशान र नेपाल प्लेजबीच यसअघि नै तीन वर्षको लागि सम्झौता भइसकेको छ । जस अनुसार प्रतियोगिताको म्यानेजमेन्ट र मार्केटिङका नेपाल प्लेजले गर्नेछ ।

नेपाल प्लेजमा एमडी उज्जेनलाल श्रेष्ठले नेपाली ई-स्पोर्ट्स इतिहासमै यो प्रतियोगितालाई कोशेढुंगा सावित हुने गरी आयोजना गर्ने बताएका छन् । ‘यो इभेन्टलाई हामी नेपाली ई-स्पोर्ट्मै एउटा माइलस्टोन इभेन्ट बनाउने प्रयासमा छौं’ श्रेष्ठले भने ।

आयोजकले चलचित्रकर्मी तथा ई-गेमिङका प्रवर्द्धक समेत रहेका निश्चल बस्नेतलाई ब्राण्ड एम्बासडर नियुक्त गरेर च्याम्पियनसीपको प्रचार प्रसार पनि गरिहरेको छ । विभिन्न कलेजहरुमा गएर आयोजकले कार्यक्रमहरु पनि गरिरहेको छ ।

दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसीपको कुल प्राइज पुल २५ लाख रहेको छ । जसबाट ६ विधाको विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ ।

हरेक इभेन्टको पुरस्कार राशी फरक हुनेछ । जसमा पब्जी मोबाइल सबैभन्दा चर्चित विधाको रुपमा छ र यसको प्राइज पनि धेरै छ । पब्जीमा कूल १० लाख १० हजार पुरस्कार राशी राखिएको छ ।

जसमा विजेताले नगद २ लाख ५० हजार पाउनेछन् भने अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाउनेछन् । यस विधामा एमभीपीले पनि नगद पुरस्कार पाउनेछन् ।

यस्तै मोबाइल लेजेण्ड्समा ५ लाख २० हजार पुरस्कार राशी रहेको छ । जसमा विजेताले १ लाख ८२ हजार हात पार्नेछन् । भ्यालोरेन्टमा ३ लाख, इ फुटबलमा २ लाख १० हजार, डोटा टु मा २ लाख र कस प्लेमा १ लाख ५० हजार पुरस्कार राशी रहेको आयोजकले जनाएको छ ।

भ्यालोरेन्ट र डोटा टु को विजेताले समान १ लाख ५ हजार हात पार्नेछन् भने इ फुटबलमा विजेताले ९० हजार र कस प्ले विजेताले ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसीप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय