
काठमाडौं । घरेलु फिल्मका दुई ठूला नाम नकिम उद्दिन र दीपेन्द्र गौचनको सहकार्य रहेको फिल्म ‘केटी हराएको सूचना’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ । देशभर २८१ शोसहित फिल्म रिलिज भएको हो ।
फिल्मले काठमाडौंमा १०१ र मोफसलमा १८० शो पाएको छ । १६१ मिनेट रनटाइमको यो फिल्मले युनिभर्सल प्रमाणपत्र पाएको छ । यसको अर्थ, जुनसुकै उमेर समूहका दर्शकले पनि हेर्न सक्नेछन् ।
जब एक मधेसी युवाले अचानक एक पहाडी युवतीलाई अपहरण गरेर जनकपुरस्थित गाउँमा लैजान्छ, त्यसपछि उनीहरूले एकअर्कालाई यसरी चिन्छन् जुन उनीहरूले कहिल्यै देखेका थिएनन् । पहाडी-मधेसी सम्बन्ध, तराई क्षेत्रको सौन्दर्य र संस्कृतिको पृष्ठभूमिमा आधारित पहाडी-मधेसी मेलमिलापलाई फिल्मले देखाएको छ ।
शीर्ष भूमिकामा सृष्टि श्रेष्ठ र नाजिर हुसेनले अभिनय गरेका छन् । २ दशकअघि ‘उजेली’ डकुड्रामा बनाएर चर्चामा आएका निर्देशक गौचनको यो कमब्याक फिल्म हो । धेरैपछि नेपाली फिल्मले ‘मिनिमालिस्ट’ निर्माण शैलीलाई पछ्याएको भन्दै यो फिल्मको प्रशंसा भैरहेको छ ।
शुक्रबार बिहानदेखि विशेषगरि सहरी क्षेत्रका मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी सुखद देखिएको छ । क्यूएफएक्समा बिहानी शो २० प्रतिशत हाराहारीको अकुपेन्सीमा देखिएपनि दिउँसोदेखि अकुपेन्सी वृद्धि हुने अनुमान गरिएको छ । फिल्मलाई क्यूएफएक्स तथा एप्पल इन्टरटेनमेन्टका प्रमुख समेत रहेका उद्दिन र निर्देशक गौचनले मिलेर निर्माण गरेका हुन् ।
उत्साहजनक शो पाएको फिल्मले यदि बलियो ‘वर्ड अफ माउथ’ पाएको खण्डमा राम्रो ओपनिङ गर्नसक्छ ।
प्रतिक्रिया 4