+

 बिर्सिने रोग ‘अल्जाइमर’ महिलालाई किन बढी देखिन्छ ?

२०८१ माघ  ११ गते १३:०२ २०८१ माघ ११ गते १३:०२
 बिर्सिने रोग ‘अल्जाइमर’ महिलालाई किन बढी देखिन्छ ?

कतिपय वृद्धको व्यवहार बच्चाको  जस्तै हुन्छन् । उनीहरुलाई पहिलेका कुरा मात्र होइन । दैनिक भइरहेको गतिविधिबारे पनि पत्तो हुँदैन ।  यस्तो अवस्थालाई बुढेसकाल लागेको भनेर भन्ने गरिन्छ ।

के यो बुढेसकालको संकेत मात्र हो ? यस्तो किन हुन्छ ?

विज्ञानले यस्तो समस्यालाई  ‘अल्जाइमर’ नाम दिएको छ । अल्जाइमर एक गम्भीर स्नायु रोग हो।  जसले विस्तारै व्यक्तिको स्मरण शक्ति, सोच्ने क्षमता र साधारण कार्यहरू गर्ने क्षमतालाई नष्ट पार्दै लान्छ । मुख्यत: यो समस्याले ६० वर्षभन्दा माथिका व्यक्तिहरूलाई असर गर्छ ।

महिला र पुरुष दुवैमा देखिने भए पनि सबैभन्दा बढी यो समस्याले महिलालाई पिरोल्छ । अल्जाइमर्स  सोसाईटीका अनुसार विश्वभर अल्जाइमर रोगबाट पीडित दुई तिहाइ महिला छन्।

महिलालाई नै यो रोगले बढी किन सताउँछ त ?

महिलाहरूको प्रतिरक्षा प्रतिक्रिया, हर्मोनल चक्र र अन्य धेरै कारकहरूमा पुरुषको भन्दा बढी भिन्न हुने भएकोले केही स्नायु सम्बन्धी रोगको उच्च जोखिम पुरुषको तुलनामा महिलामा बढी देखिन्छ । ती रोग मध्ये एक हो, अल्जाइमर ।

हर्मोनल परिवर्तन प्रमुख कारक

पुरुषको तुलनामा महिलाहरू हर्मोनल परिवर्तनको लागि बढी संवेदनशील हुन्छन्। हर्मोनल उतारचढावले स्नायु सम्बन्धी समस्यालाई बढावा दिन्छ। महिलाहरूमा एस्ट्रोजेन हर्मोनको स्तर धेरै पटक परिवर्तन हुन्छ । जुन भविष्यमा अल्जाइमरको कारक बन्न सक्छ ।

उदाहरणका लागि महिनावारी, गर्भावस्था वा रजोनिवृत्तिको समयमा। यही धेरै उतार चढावले पनि स्नायुको काम गर्ने प्रणाली असर पार्छ । महिलाको यौन तथा प्रजनन विकासमा एस्ट्रोजेन हर्मोनले महत्त्वपूर्ण भूमिका खेल्छ। यसले मस्तिष्क, हड्डी, छाला, कपाल र अन्य अंगहरूलाई पनि असर गर्छ ।

विशेषगरी ५० देखि ५५ वर्षको उमेरमा महिलामा हुने रजोनिवृत्ति पछि स्नायु समस्याहरू हुन सक्छन । किनभने एस्ट्रोजेन हार्मोनले शरीरलाई अल्जाइमर रोगको प्रभावबाट बचाउँछ ।

यद्यपि, रजोनिवृत्ति पछि एस्ट्रोजनको स्तर घट्ने कारणले पुरुषहरूको तुलनामा महिलाहरूमा यो रोगको जोखिम बढी हुन्छ। डिप्रेसन, खानपान गतिलो नहुनु र अनिद्राको उच्च दरले यो बढ्दो जोखिममा योगदान पुर्‍याउँछ।

अर्को कारण भनेको उमेर पनि हो । जति उमेर बढ्दै गयो । त्यति हाम्रो शरीरको अंग र त्यसले काम गर्ने क्षमता गुमाउँछ । यस्तोमा पुरुषको दाँजोमा महिलाहरूको आयु लामो हुन्छ । लामो आयु हुने बित्तिकै वृद्ध उमेरमा अल्जाइमर्स हुने सम्भावना बढी हुन्छ ।

तस्वीर स्रोत : एआई

अल्जाइमर्स रोग देखा परेमा यसको लक्षणलाई नियन्त्रण मात्र गर्न सकिन्छ । किनकि विज्ञानले यो समस्याको उपचार पत्ता लगाइसकेको छैन ।

नियन्त्रण कसरी हुन्छ ?
अल्जाइमर जस्ता स्नायु रोगको व्यवस्थापनको लागि सन्तुलित आहार सेवन गर्नु सबैभन्दा महत्त्वपूर्ण छ। पातदार तरकारी, माछा मासु, बदाम र एन्टिअक्सिडेन्टले भरिपूर्ण खानेकुराहरू बढी खानुपर्छ ।

लक्षण नियन्त्रण गर्ने औषधि नछुटाइ खानुपर्छ। यसबाहेक शारीरिक गतिविधि भइरहनु पर्छ । त्यसको लागि हल्का खालका व्यायाम, नियमित योग गर्ने बानी विकास गर्नु पर्छ । यसले मस्तिष्कमा रक्तसञ्चार सुधार गरी यो समस्याको लक्षणमा सुधार ल्याउँछ ।

व्यायामले रोग नभएकाहरुलाई पनि स्नायु सम्बन्धी रोगको जोखिम कम गर्न मद्दत गछ । तनाव व्यवस्थापन, पर्याप्त निद्रा, दिर्घ रोग मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल नियन्त्रणमा हुन पनि आवश्यक छ।

मदिराले पनि यो रोगको जोखिमलाई बढावा दिने हुँदा यसबाट सकेसम्म टाढा बस्नु उचित हुन्छ ।

अल्जाइमर बिर्सिने रोग
प्रा. डा. राजीव झा
लेखक
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय