+
+

७ महिनाको रेकीपछि १२ लाख ‘सुपारी’मा व्यवसायीमाथि रड आक्रमण

जेलदेखि बेयालत बस्ने महिलासम्मको कनेक्सन

आक्रमणको तीन महिनापछि भारतको हिमाञ्चल, हरियाण र पन्जाब तीन प्रदेशको मुख्यबिन्दु पन्चकुलाबाट मुख्य दुई व्यक्ति पक्राउ परेसँगै जेलदेखि बेलायत बस्ने व्यक्तिसम्मको कनेक्सन खुलेको हो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ माघ ११ गते २०:४५

११ माघ, काठमाडौं । लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा एक व्यवसायीमाथि भएको रड आक्रमणको घटनामा केन्द्रीय कारागार सुन्धारादेखि बेलायतसम्मको कनेक्सन जोडिएको खुलेको छ ।

आक्रमणको तीन महिनापछि भारतको हिमाञ्चल, हरियाण र पन्जाब तीन प्रदेशको मुख्यबिन्दु पन्चकुलाबाट मुख्य दुई व्यक्ति पक्राउ परेसँगै जेलदेखि बेलायत बस्ने व्यक्तिसम्मको कनेक्सन खुलेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पन्चकुलाबाट नुवाकोटको ककनी गाउँपालिका–४ का ३३ वर्षीय अजय लामा र गोरखाको आरुघाट गाउँपालिका–७ का दीपक बरामुलाई पक्राउ गरेर शुक्रबार काठमाडौं ल्याइएको छ ।

उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग र संगठित अपराधको मुद्दा यसअघि नै काठमाडौं जिल्ला अदालतमा दर्ता भएकाले उनीहरूलाई अदालत उपस्थित गराइने अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताएका छन् ।

घटनाको तीन महिनासम्मको अनुसन्धानपछि अपराध अनुसन्धान कार्यालयको ४ नम्बर पिलरका डीएसपी अनिल घिमिरेको टोलीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेकाहरूले प्रहरी समक्ष घटनाबारे स्वीकार गर्दै सुपारी लिएर आक्रमण गरेको बताएका छन् । १२ लाख रुपैयाँ दिने प्रस्ताव आएपछि आक्रमण गरेको उनीहरूको भनाइ छ ।

अजय लामासहितको समूहले नुवाकोटको ककनी गाउँपालिका–६ घर भएका नेपाल भूमि रियल स्टेट व्यवसायका सञ्चालक ३५ वर्षीय विक्रम लामामाथि ११ कात्तिकमा दिनदहाडै लाजिम्पाटमा अन्धाधुन्दा रड आक्रमण गरेको थियो । लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा भएको आक्रमणबाट उनी गम्भीर घाइते भएका थिए । अहिले भने अस्पतालबाट उनी डिस्चार्ज भइसकेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिल कार्यालले काठमाडौं जिल्ला अदालतमा सात जनालाई प्रतिवादी बनाउँदै २९ पुसमा मुद्दा दायर गरेको थियो ।

जसमा हाल पक्राउ परेका अजय र दीपकलाई फरार प्रतिवादी बनाइएको थियो । उनीहरूसँगै धादिङको ज्वालामुखी गाउँपालिका–४ घर भएका रमेश सिलवाल, सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भइ हाल बेलायत बस्दै आएकी ५० वर्षीया लक्ष्मी राईलाई पनि फरार प्रतिवादी बनाइएको थियो ।

घटना भएकै दिन ११ कात्तिकमा पक्राउ परेका नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भएका ३० वर्षीय मार्शल भनिने शैलेन्द्र तामाङ, गोरखाको गण्डकी गाउँपालिका–४ घर भएका २८ वर्षीय निश्चल सुनार र गोरखाकै आरुघाट गाउँपालिका–८ का ३० वर्षीय सिजन अधिकारीलाई पक्राउ गरेर मुद्दा चलाइएको थियो । अपराध अनुसन्धान कार्यालयको टोलीले २ मंसिरमा झापाबाट निश्चल सुनारलाई र २६ पुसमा भारतको दिल्लीबाटै सिजन अधिकारीलाई पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश रेशराज शर्माको इजलासले ३ माघमा सिजनलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो भने निश्चल र मार्शल पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

प्रहरीका अनुसार सँगै जेल बसेका अजयले आफू जेल पर्नुको कारणबारे सिजनलाई बताएका थिए । त्यतिबेला बिक्रम लामाकै कारण आफू जेल परेको विषय सिजनलाई सेयर गरेको अजयले प्रहरी समक्ष बताएका छन् । ‘जेलबाट निस्केपछि बदला लिने’बारे समेत अजयले बताएको सिजनको भनाइ छ ।

यही आक्रमणको आरोपमा पक्राउ परेका सिन्धुलीका टीका भण्डारी र पदम राईलाई भने जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । ज्यान मार्ने उद्योगको आरोप लागेर मुद्दा दायर भएका लक्ष्मी राई र रमेश सिलवाल भने अझै फरार छन् ।

जेलमा भेट, निस्केपछि आक्रमण

भारतबाट पक्राउ परेर ल्याइएका अजय यसअघि लिखत र ठगीको कसुरमा जेल परेर निस्केका व्यक्ति रहेको खुलेको छ । ५० हजार धरौटीमा छुटेका सिजन पनि डाँका चोरीमा मुद्दा चलेर जेल चलान भएका थिए । २०७७ सालमा अजय र सिजनको भेट केन्द्रीय कारागार सुन्धारामा भएको खुलेको छ ।

प्रहरीका अनुसार सँगै जेल बसेका अजयले आफू जेल पर्नुको कारणबारे सिजनलाई बताएका थिए । त्यतिबेला बिक्रम लामाकै कारण आफू जेल परेको विषय सिजनलाई सेयर गरेको अजयले प्रहरी समक्ष बताएका छन् । ‘जेलबाट निस्केपछि बदला लिने’बारे समेत अजयले बताएको सिजनको भनाइ छ ।

जेलमा रहेका सिजन र अजय दुवै कैद भुक्तान गरेर छुटे । तीन वर्ष ६ महिना जेल बसेका अजय छुटेपछि फेरि सिजनकै सम्पर्कमा पुगेका थिए । त्यसपछि सिजनले नै बिक्रम लामामाथि आक्रमण गरे सुपारी दिनेसम्मको विषय खुलाएको अजयले प्रहरी समक्ष बताएको एक अनुसन्धान अधिकृत बताउँछन् ।

‘सुरुमा ५ लाखबाट कुरा भएर १२ लाख रुपैयाँसम्म दिने सहमति भएपछि आक्रमण भएको देखिन्छ,’ अपराध अनुसन्धान कार्यालयका ती अधिकृत भन्छन्, ‘सिजनलाई परिचालन गर्नेमा भने रमेश र लक्ष्मीको भूमिका रहेको देखिन्छ ।’

आफू जेल पर्नुको कारण बिक्रम नै रहेको बताउँदै आएका र त्यसमाथि १२ लाख रुपैयाँको सुपारीसमेत पाउने भएपछि आक्रमण गर्न तयार भएको अजयको भनाइ छ ।

‘मार्ने नियत थिएन । हातखुट्टा भाँचेर छाड्ने उद्देश्यले आक्रमण गरेको हो । हामीलाई परिचालन गर्ने व्यक्ति सिजन हुन्,’ अजयले अनलाइनखबरसँग कुरा गर्दै भनेका छन् ।

ठगी र लिखतका साथै अहिले पक्राउ परेका अजयविरुद्ध गत वर्षको ९ पुसमा ठमेलको सात घुम्तीस्थित १० एक्स क्लबको अगाडि ड्युटीमा रहेका प्रहरी जवान लोकबहादुर बुढामाथि कुटपिट गरेको अभियोगमा मुद्दा चलेको थियो ।

७ महिनाको रेकीपछि आक्रमण

आफूसँग समेत रिसईबी भएका व्यक्तिमाथि आक्रमण गर्न सुपारी पाएपछि दीपक, निश्चल र मार्सलको सहयोगमा आक्रमण गरेको अजयको भनाइ छ । आक्रमणका लागि गत वैशाखदेखि नै योजना बनेको र पटक–पटकको प्रयास असफल भएपछि गत ११ कात्तिकमा आक्रमण भएको खुलेको अनुसन्धान अधिकृत डीएसपी अनिल घिमिरेले बताए ।

त्यसका लागि चार वटा नयाँ मोबाइल सेट समेत किनेर अजयले दिएका थिए । आक्रमणपछि ती मोबाइल पुनः प्रयोग गरिएको समेत खुलेको थिएन । आक्रमणको बेलामा उनीहरूले सिजनको मोटरसाइकल समेत प्रयोग गरेको खुलेको थियो ।

आक्रमणका लागि मोटरसाइकल प्रयोग गर्न दिएको भन्दै सिजनविरुद्ध पनि मुद्दा चलाइएको थियो । तर अहिले अजय पक्राउ परेपछि उनको मोटरसाइकल प्रयोगमात्रै नभएर उनकै योजनामा आक्रमण भएको खुलेको हो ।

आक्रमणपछि अजयको समूह भागेर गोरखा पुगेको थियो । उनीहरू गोखरा पुगेको प्रहरीले पत्ता लगाएपछि त्यहाँबाट भागेर उनीहरू भरतपुर चितवन पुगेका थिए । भरतपुरमा २ दिन बसेपछि त्यहाँबाट झापा पुगेको अनुसन्धानबाट खुलेको थियो ।

झापामा रहेको पत्ता लगाएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले यो समूहका निश्चल सुनारलाई पक्राउ गरेको थियो । तर उनीसँगै रहेका अजय, दीपक भने फरार हुन सफल भएका थिए ।

झापामा रहँदा अजयकी आमाले सागर लिम्बु नाम गरेका व्यक्तिमार्फत् अजयलाई ५ लाख रुपैयाँ दिइएको समेत प्रहरीले पत्ता लगाएको थियो । उक्त रकम आक्रमणकै सुपारी वापत सिजनले दिएको हुनसक्ने एक अनुसन्धान अधिकृत बताउँछन् ।

यो घटनाको मुख्य योजना लक्ष्मी र रमेश रहेको प्रहरीको दाबी छ । लक्ष्मी र रमेश दुवै बेलायतमा पछिल्लो समय लिभिङ टुगेदरमा रहेको रहेको एक अनुसन्धान अधिकृतको दाबी छ ।

झापामा निश्चल पक्राउ परेपछि अजय त्यहाँबाट भागेर धरान आएर बसेको खुलेको छ । उनी धरानमा ५ दिन बसेको प्रहरी अधिकारी बताउँछन् । यता दीपक भने झापाबाट भरतपुरस्थित आफन्तकोमा बसेका थिए ।

अजय धरानबाट कपिलवस्तु आएपछि उनीहरू दुवै जना गोरुसिंगेमा तीन बसेको उनीहरूले प्रहरीसमक्ष बताएका छन् । त्यसपछि उनीहरू लखनउमा पप्पु नाम गरेका एक भारतीय साथीकोमा गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । लखनउमा उनीहरू करिब डेढ महिना बसेका थिए ।

यहीबीचमा भारतको दिल्लीबाट प्रहरी सिजनलाई पक्राउ गरेको थियो । त्यसपछि उनीहरूले लोकेशन परिवर्तन गरेर पन्चकुला गएको खुलेको छ । अजयको मितबुवा नाता पर्ने व्यक्तिकोमा उनीहरू दुबै बस्दै आएका थियो । सोही क्रममा उनीहरूलाई पन्चकुलाबाट पक्राउ गरेर ल्याइएको प्रहरीको भनाइ छ ।

आक्रमणको मुख्य योजनाकार बेलायतमा : प्रहरी

यो घटनाको मुख्य योजना लक्ष्मी र रमेश रहेको प्रहरीको दाबी छ । उनीहरू दुई जनालाई नै मुख्य योजनाकार बनाउँदै ज्यान मार्ने उद्योग र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको छ । पछिल्लो समय लक्ष्मी र रमेश लिभिङ टुगेदरमा बेलायतमा रहेको एक अनुसन्धान अधिकृतको दाबी छ ।

आक्रमणबाट गम्भीर घाइते भएका बिक्रम लक्ष्मीको देवर नाता पर्ने व्यक्ति हुन् । लक्ष्मीले भने आफू संलग्न नरहेको भन्दै मिडिया ट्रायल भएको दाबी गरेकी थिइन् । उनै विक्रमले आफूबारे कुरा लगाएर दाजुसँगको सम्बन्ध बिगारेर डिभोर्ससम्मको अवस्था ल्याएको भन्दै उनकै योजनामा आक्रमण भएको निष्कर्ष प्रहरीको छ । जसकारण बेलायत रहेको उनीहरू दुई जनालाई मुख्य योजनाकार बनाउँदै मुद्दा दायर भएको छ ।

लक्ष्मी र बिक्रम कुनै समयका व्यावसायिक साझेदार पनि रहेको खुलेको छ । एक क्रसर व्यवसायमा यी दुईको संयुक्त लगानी थियो । पछिल्लो समय भने सम्बन्धमा दरार आएपछि मार्नेसम्मको योजना बनाएर आक्रमण गरिएको दाबी पीडित विक्रम लामाको रहेको छ ।

यसअघि नै पनि आफूमाथि आक्रमणको योजना बनाइएको सूचना पाएको भन्दै बिक्रम प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पुगेका थिए । आक्रमणदेखि लागुऔषध र सुनमा समेत फसाउने योजना रहेको बिक्रमको दाबी छ ।

६१ किलो सुनमा जोडिएको सूचना आएपछि सीआईबीले त्यतिबेला बिक्रमलाई आफ्नो कार्यालयमा ल्याएर सोधपुछ गरेको समेत खुलेको छ । पछि उनै बिक्रममाथि दिनदहाडै रड आक्रमण भएको थियो ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?