+
+

संघीय सरकारमा रहेका तीन मन्त्रीलाई पर्सावासीको प्रश्नैप्रश्न

संघीय सरकारमा रहेका तीन मन्त्रीलाई पर्सावासीले आफूहरूको विकासप्रति कम चासो दिएको भनेर प्रश्न गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते १५:२३

११ माघ, काठमाडौं । संघीय सरकारमा रहेका तीन मन्त्रीलाई पर्सावासीले आफूहरूको विकासप्रति कम चासो दिएको भनेर प्रश्न गरेका छन् ।

शुक्रबार आम जनता पार्टी (आजपा) ले वीरगञ्जमा कार्यक्रम राखेको थियो । वीरगञ्जको घण्टाघरमा आयोजित कार्यक्रममा उपस्थित भएकाहरूले पर्साबाट संघीय मन्त्री भएकासँग प्रश्न गरेका हुन् ।

पर्साबाट नेकपा एमालेका नेता राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री छन् भने नेपाली कांग्रेसका अजय चौरसिया कानुनमन्त्री र जनता समाजवादी पार्टीका प्रदीप यादव खानेपानीमन्त्री रहेका छन् । पर्साबाट संघीय सरकारमा तीन जना मन्त्री भए पनि पर्साको विकासका लागि काम नगरेको आरोप उनीहरूको छ ।

आजपा मधेस प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहाले पर्साबाट तीन जना नेता संघीय सरकारमा मन्त्री भए पनि वीरगञ्जको विकासका लागि के–के काम गरेको भनेर सार्वजनिक गर्न आग्रह गरे । समृद्ध वीरगञ्ज उजाड बनाइएको भन्दै उनले वीरगञ्जलाई देशको आर्थिक राजधानी बनाउन माग गरे ।

उनका अनुसार वीरगञ्जसहित तराई मधेशमा खानेपानीको समस्या दिनदिनै बढदै गइरहेको छ । खानेपानीको हाहाकार छ । ‘तर पर्साबाट खानेपानीमन्त्री भएका मन्त्रीज्यूलाई कुनै चिन्ता र चासो छैन्,’ कुशवाहाले भने ।

आजपा केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज लखिन्द्र साहले मन्त्रीहरूले पर्सावासीलाई ढाँट्ने बाहेक अरू केही काम नगरेको बताए ।

‘नारायणी अस्पताललाई मेडिकल कलेज किन नबनाएको ? जीर्णअवस्थामा रहेको नारायणी रंगशालाको सुधार कहिले हुने ? स्तरोन्नति कहिले हुने ? ठाकुरराम बहुमुखी क्याम्पसलाई विश्वविद्यालय कहिले बनाउने ? वीरगञ्जको चिनीमिल कहिले सञ्चालन हुने ?,’ साहले प्रश्न गरे, ‘भ्रदगोल बस्तीलाई आधुनिक पूर्वाधारसँग कहिले जोड्ने ? समृद्ध वीरगञ्ज उजाड किन भयो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?