११ माघ, काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित हरँदै प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत शुक्रबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा रेखा रावलले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि एपीएफले दिएको ११६ रनको लक्ष्य पछ्याएको आर्मी १७ ओभरमा सबै विकेट गुमाएर ४६ रनमै अलआउट भयो ।
रेखाले ४ ओभरमा १ मेडन राख्दै ११ रन मात्र खर्चेर ४ विकेट लिएकी हुन् । यस्तै सबनम राईले ४ ओभरमा २ मेडन राख्दै ३ रन मात्र खर्चेर २ विकेट लिइन् । कप्तान इन्दु बर्माले एक विकेट लिइन् ।
आर्मीकी राधिका पुजराले सर्वाधिक १७ रन बनाउदा लक्ष्मी साउदले १० रन जोडिन् । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित १७ ओभरमा ३ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । खराब मौसमका कारण खेल १७ ओभरमा छोट्याइएको थियो ।
एपीएफका लागि ओपनर राजमती ऐरीले ३५ बल खेल्दै ३ चौका मदतमा सर्वाधिक ३५ रन बनाइन् । कविता जोडीले अविजित ३४ रन जोडिन् । उनले २५ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरिन् ।
यसैगरी कप्तान इन्दु बर्माले १९ बल खेल्दै २ चौका मदतमा अविजित १८ रन योगदान गरिन् । अर्की ओपनर ममता चौधरी ११ र रोमा थापा ७ रन बनाएर आउट भए । आर्मीकी सुस्मिता भूषालले २ तथा ईश्वरी विष्टले १ विकेट लिइन् ।
सुपर फोरमा दुवै खेल जितेको एपीएफ कूल ६ अंक जोडेर फाइनल पुगेको हो । सेमिफाइनल पुगेको सुदूरपश्चिमलाई एपीएफले आफ्नो समूहमा पराजित गरेकोले २ अंक पहिले नै जोडेको थियो । त्यसपछि सुपर फोरको पहिलो खेलमा बागमती प्रदेशलाई १० विकेटले पराजित गरेको थियो ।
सुपर फोरअन्तर्गत अहिले भइरहेको सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीचको खेलको नतिजापछि फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।
प्रतिक्रिया 4