+

रुनुका आठ फाइदा

२०८१ माघ  ११ गते १७:२१ २०८१ माघ ११ गते १७:२१
रुनुका आठ फाइदा

रुनु कमजोरीको लक्षण हो । धेरैलाई यही लाग्छ । सायद यही कारणले गर्दा पुरुषहरू दुख पर्दा पनि आँसु लुकाउछन्।  जुन स्वास्थ्यको दृष्टिकोणले ठिक होइन ।

विज्ञान भन्छ, रुनुका धेरै फाइदा छन् । जसरी खुल्लमखुल्ला हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।  त्यसैगरी, रुनु पनि निकै महत्वपूर्ण हुन्छ ।

रुनु एक सामान्य मानव स्वभाव हो । जुन हाम्रो विभिन्न भावनाबाट उत्प्रेरित हुन्छ । जब हामी दुखी, निराश वा कुनै चीजको बारेमा तनावमा हुन्छौँ, तब यी विभिन्न भावनाहरूको कारणले रुन्छौँ । रुनु शरीरका साथै दिमागका लागि पनि फाइदाजनक हुन्छ ।

आँसु सुखको होस् या दुःखको होस्, बग्न दिनु राम्रो  हो। आँसु रोक्दा दिमाग र शरीरमा नराम्रो प्रभाव पार्छ । तसर्थ, अरूको अगाडि आफूलाई बलियो देखाउने भन्दै आँसु दबाउनु हुँदैन । यसलाई बग्न दिनुपर्छ ।

आँसुमा प्रोटिन, हर्मोन, र स्ट्रेस कम गर्ने तत्व हुन्छन्, जसले रुनुलाई उपचारात्मक बनाउँछ ।

रुँदा  मन हल्का हुन्छ

रोएर मन हलुका हुन्छ भन्ने कुरा त हामीले धेरै सुन्दै आएका छौँ, यो सत्य पनि हो । रोएर दबाइएका भावनाहरूलाई मुक्त गर्न सकिन्छ। जसले भारी दिमाग र मनलाई हल्का बनाउँछ । जब हामी रुन्छौँ, यसले प्यारासिम्प्याथेटिक स्नायु प्रणालीलाई सक्रिय बनाउँछ । जसले शरीरलाई आराम महसुस गराउँछ ।

तनाव कम हुन्छ

आँसुले तनाव हर्मोनलाई राहत दिई धेरै हदसम्म तनाव कम हुन्छ । आँसुमा सबैभन्दा बढी तनाव हार्मोन र अन्य रसायन हुन्छन् । यस्तो अवस्थामा रुँदा शरीरमा यी रसायनको मात्रा कम हुन्छ। किनभने यी रसायन आँखाबाट आँसुको माध्यमबाट बग्छ, जसले तनाव कम गर्छ ।

शरीर शुद्धीकरण गर्छ

आँसुमा पानी मात्र नभई तनावको समयमा शरीरमा जम्मा हुने प्रोटिन र टक्सिन पनि हुन्छ । रुँदा शरीरलाई डिटक्सिफिकेसन हुन्छ । शरीरमा भएका विषाक्त पदार्थ आँसुसँगै बाहिर निस्किन्छ ।

भावनात्मक शुद्धीकरण

रुँदा मनमा सञ्चित पीडा, दुःख, वा तनावलाई बाहिर निकाल्न मद्दत गर्छ । भावनात्मक आँसु बहाउनु भनेको मनलाई हल्का बनाउनु हो । भावनात्मक आँसुमा एड्रेनोकोर्टिकोट्रोपिक हर्मोन हुन्छ । जसले तनाव घटाउन भूमिका खेल्छ । रुनुले शरीरलाई आरामको अवस्थामा फर्काउन मद्दत गर्छ ।

श्वासप्रश्वासमा सुधार

हामी प्रायः रुँदा गहिरो सास लिन्छौँ, जसले शरीरलाई आराम दिन मद्दत गर्छ । साथै यसले शरीरका साथसाथै दिमागलाई पनि राहत दिन्छ ।

प्रतिरक्षा प्रणाली सुधार

रुँदा तनाव कम हुन्छ र ‘फिल गुड’ हर्मोन अक्सिटोसिन उत्पादन हुन्छ । यसले प्रतिरक्षा प्रणालीमा सुधार गर्छ र रोगहरू रोक्न मद्दत गर्छ ।

राम्रो निद्रा

धेरै रुने बच्चामा राम्रो निद्रा पर्ने अध्ययनहरुले पनि देखाएको छ। यसले उनीहरूको दिमाग शान्त रहन र कुनै पनि प्रकारको पीडा कम गर्न मद्दत गर्छ। किनकि जब कोही व्यक्ति रुन्छ उसको शरीरबाट निस्किने एन्डोर्फिनले दिमागलाई शान्त पारी राम्रो निद्रा लाग्ने बनाउँछ ।

दृष्टि सुधार

रुँदा प्राकृतिक रूपमा आँखामा तरलपदार्थ लुब्रिकेट हुन्छ । सुख्खापन हट्छ । यसले कोर्नियालाई चिसो र सफा राख्छ । आँसुले आँखाको धुलो हटाउन पनि मद्दत गर्छ । साथै आँसुले आँखाको झिल्लीलाई सुक्न दिँदैन । साथै झिल्ली स्वास्थ्य रह्यो भने लामो समयसम्म आँखाको ज्योति ठिक रहन्छ ।

प्रोटिन हर्मोन
गृष्मा पनेरु
लेखक
गृष्मा पनेरु
मनोपरामर्शदाता

पनेरु मनोपरामर्शदाता हुन् । उनी हाल काठमाडौंस्थित सर्वमाया हेल्थ केयर र सारथी फाउन्डेसन नेपालमा कार्यरत छिन् । उनले साइकोलोजीमा एमए गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय