+
+

अखिल क्रान्तिकारीमा प्रचण्ड पक्षलाई प्यानल बनाउन हम्मे

पार्टी अध्यक्ष प्रचण्ड पक्षबाट एउटा प्यानल बनाउनका लागि सोही समूहबाट उम्मेदवारी दिएकाहरूलाई पछि हटाउन पार्टी नेताहरू समेत लागेका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८१ माघ ११ गते १७:५६

११ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षलाई प्यानल बनाउनै हम्मे–हम्मे परेको छ । संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएकालाई पछि हटाएर प्रचण्डले इच्छाएका विजयप्रकाश शर्मा सापकोटाको नेतृत्वमा प्यानल बनाउन प्रयास भइरहे पनि त्यो सफल हुन सकिरहेको छैन ।

पार्टी अध्यक्ष प्रचण्ड पक्षबाट एउटा प्यानल बनाउनका लागि सोही समूहबाट उम्मेदवारी दिएकाहरूलाई पछि हटाउन पार्टी नेताहरू समेत लागेका छन् । आफ्नो नाम फिर्ता लिएको हल्ला चलेपछि अध्यक्षका दाबेदार सुदीन पौडेलले आफ्नो उम्मेदवारी कायमै रहेको बताए ।

पौडेलले संगठनका व्यक्तिहरूले आफूविरुद्ध नक्कली हर्कत गरेको उल्लेख गर्दै उम्मेदवारी फिर्ता नलिएको जानकारी गराएका हुन् ।

‘मैदानबाट डराएर केही साथीहरूले नक्कली हर्कत गर्दैछन् । मैले मेरो उम्मेदवारी कायम राखेको छु । केही साथीहरूले नक्कली निवेदन लिएर गएर निर्वाचनमा बुझाएकाले म निर्वाचन कार्यालयमा जाँदैछु,’ पौडेलले भने । पौडेलले दबाब आएपनि उम्मेदवारीबाट पछि नहट्ने अनलाइनखबरसँग बताए ।

पौडेलले संगठनका केही अराजक व्यक्तिले नाम फिर्ता लिएको भनी हल्ला चलाएको तर आफू पछि नहट्ने बताए ।

अध्यक्षका अर्का उम्मेदवार विश्वमणि थापाको उम्मेदवारी फिर्ता गरेको चर्चा भए पनि उनले भने नाम फिर्ता नगरेको जिकिर गरेका छन् ।  ‘बिहान सुदिन र तिर्सना हमालको नाम फिर्ता लिएको हल्ला चलाए, अहिले मेरो चलाएका छन्, मैले नाम फिर्ता लिएको छैन’ थापाले अनलाइनखबरसँग भने, ‘मुक्ति प्रधानले गराएको निर्वाचनप्रति नै हामीलाई शंका लाग्न थालेको छ ।’

निर्वाचन समितिले उम्मेदवारको अन्तिम सूची शुक्रबार साँझ सार्वजनिक गरेको छ । तर निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीमा अध्यक्षमा थापाको नाम उल्लेख छैन ।

यसैबीच, अखिल क्रान्तिकारीका फ्र्याक्सन इञ्चार्ज हिमाल शर्माले अध्यक्षका उम्मेदवार विश्वमणि थापाले उम्मेदवारी फिर्ता लिएको दाबी गरे ।

शनिबार हुने निर्वाचनका लागि पौडेलसहित छ जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका थिए । अध्यक्षका लागि उपदेशकुमार यादव, पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा सापकोटा, विश्वमणि थापा र योगन्द्रबहादुर बुढाले उम्मेदवारी दिएका छन् ।

पार्टी अध्यक्ष प्रचण्डले पर्वतका विजयप्रकाश सापकोटालाई इच्छाएपछि उनको प्यानल खडा गर्न नेताहरू लागेका छन् । पौडेल उपमहासचिव वर्षमान पुन नजिक छन् । उपाध्यक्ष नारायणकाजी निकट रहेका अध्यक्षका उम्मेदवार यादवको प्यानल बनेको छ । साथै उपमहासचिव जनार्दन शर्मा निकट रहेका हेमन्त राईले पनि प्यानलै बनाएर उम्मेदवारी दिएका छन् ।

अन्य तीन अध्यक्षका उम्मेदवारमा विजयप्रकाश शर्मा सापकोटाको नेतृत्वमा प्यानल बनाउन प्रयास भइरहेको प्रचण्ड निकट नेताहरूले जानकारी गराएका छन् ।

पार्टी स्रोतका अनुसार अध्यक्ष प्रचण्डले आफ्नो समूहको प्यानल बनाउन जिम्मेवारी उपमहासचिव शक्ति बस्नेतलाई दिएका छन् । बस्नेत मातहत रहेर सहजीकरण गर्न विद्यार्थी फ्र्याक्सन ईञ्चार्ज हिमाल शर्मा र पूर्वअध्यक्ष पञ्चा सिंहलाई खटाइएको छ ।

अध्यक्षका उम्मेदवारी दिएका पौडेल, थापा र बुढालाई पछि हटाएर प्रचण्ड निकटका विद्यार्थी नेता सापकोटाको नेतृत्वमा प्यानल बनाउन प्रयास भएपछि अन्य उम्मेदवार असन्तुष्ट बनेका हुन् ।

‘उपमहासचिव शक्ति बस्नेतलाई अध्यक्षले समूह मिलाउन जिम्मेवारी दिनुभएको छ । उम्मेदवारहरूलाई कन्भिन्स गराउन उहाँ लागिरहनु भएको छ,’ प्रचण्ड निकट एक विद्यार्थी नेताले भने ।

दाबी विरोधको छानबिन गरेर उम्मेदवारको नामावली सार्वजनिक बिहीबार राति गर्ने भनिएपनि नाम बाहिर ल्याइएन । हालसम्म पनि अखिल क्रान्तिकारीको साइटमा दाबी विरोधमाथि छानबिन भइरहेको उल्लेख गरिएको छ ।

‘पार्टी अध्यक्षको अनुकूलतामा टिम तयार बनाउन सबै चलखेल गरिएको छ, निर्धारित समयमा अन्तिम नामावली समेत प्रकाशन नगरी रोकिएको छ,’ एक नेताले भने ।

यसबारे बुझ्दा निर्वाचन गराउने जिम्मेवारी पाएका प्रधानले फोन उठाएनन् ।

पार्टी अध्यक्ष समूहबाट प्रतिस्पर्धा गर्नेहरूलाई मिलाउनका लागि एकपदमा उम्मेदवारी दिएकालाई अर्कोमा सारिएको भन्दै विरोध समेत भएको छ । महासचिवमा उम्मेदवारी दिएका रोशन खड्कालाई हाल उपाध्यक्षको उम्मेदवार बनाएको बताइएको छ ।

उम्मेदवारी मनोनयन सकेर नाम सार्वजनिक भइसकेपछि उम्मेदवारको पद हेरफेर गरिएको संगठनका नेताहरूले आरोप लगाएका छन् । ‘२३ औँ राष्ट्रिय सम्मेलनको निर्वाचन कार्यतालिका ढिलो गरी सार्वजनिक गरियो र त्यसमा पनि उम्मेदवारहरूले मनोनयन गरेको भन्दा फरक पदमा नामावली प्रकाशन भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्षका उम्मेदवार पौडेलले भने ।

निर्वाचन आयोगले संस्थागत धाँधली गरेको पौडेलको आरोप छ । विद्यार्थीहरूले आफ्नो नेतृत्व आफैं चुन्ने सहज वातावरण बनाउन पार्टीका नेताहरूसँग उनले आग्रह गरे । महासचिवबाट उपाध्यक्षको उम्मेदवार बनाइएको भनिएका रोशन खड्काले आफ्नो उम्मेदवार उपाध्यक्षकै लागि भएको दाबी गरेका छन् ।

प्रचण्ड पक्षकाहरूको प्यानल बनाउने प्रयास स्वरूप उम्मेदवार दिएकाहरूको नाम समेत फिर्ता गर्न लगाइएको छ । पार्टी हेडक्वाटर नजिक रहेक गोविन्द बानियाँले महासचिव पदबाट नाम फिर्ता लिएका छन् । उनले भने, ‘हेडक्वार्टरमा केन्द्रित हुन अनिवार्य भएकोले नेतृत्वलाई विजयी बनाउन मैले महासचिव पदको उम्मेदवारी फिर्ता गर्ने निर्णय गरेको छु ।’

उपमहासचिव जनार्दन शर्मा पक्षधरको भने प्यानल करिब टुंगिएको उनी निकट विद्यार्थी नेताहरूले बताएका छन् । अध्यक्षमा हेमन्त राई र महासचिवमा रोशन थापामगरलाई उक्त समूहले अघि सारेको छ ।

उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षबाट रौतहटका उपदेश यादवले अध्यक्षको उम्मदेवारी दिएका छन् । उनको प्यानलमा महासचिव सञ्जीव फुँयाल (बन्दुक) छन् ।

नयाँ नेतृत्वका लागि शनिबार (भोलि) मतदान हुने कार्यतालिका छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?