
१२ माघ, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडाको रुपमा घोषणा गरिएको छ ।
शुक्रबार उपमहानगरकै विकट क्षेत्र नकौलीडाँडामा उपमहानगर प्रमुख मिनाकुमारी लामाले वडालाई बालमैत्री घोषणा गरिन् ।
नकौली आधारभूत स्वास्थ्य केन्द्र बाँझोडाँडामा आयोजित घोषणासभामा वडाको वस्तुस्थिति बारे जानकारी दिँदै वडा अध्यक्ष सविन न्यौपानेले घोषणाका लागि आवश्यक ५१ सूचकमध्ये ४७ वटामा सतप्रतिशत र बाँकी ४ वटा सूचकमा क्रमशः ८२ देखि ९६ प्रतिशतसम्म प्रगति हासिल गरिएको जानकारी दिए ।
१४ दशमलव ८६ वर्ग किलोमिटर रहेको १ नम्बर वडामा घरधुरी तथ्यांक सर्वेक्षणअनुसार ६ हजार ७९० जनसंख्या छ । यहाँ १८ वर्ष मुनिका बालबालिकाको संख्या २ हजार १४ रहेको छ । ५ वटा सामुदायिक र एउटा संस्थागत विद्यालय रहेको वडामा १८ वटा बाल समूह र एउटा बाल सञ्जाल सक्रिय रहेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।
नेपाल सरकारले २०८७ सम्ममा सबै स्थानीय तहलाई बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ । सरकारको लक्ष्यलाई पछ्याउँदै हेटौंडा उपमहानगरपालिका बालमैत्री घोेषणाको अन्तिम चरणमा रहेको नगर प्रमुख लामाले बताइन् ।
हेटौंडाका १९ वटा वडामध्ये १६ वटा वडा बालमैत्री घोषणा भइसकेको उपमहानगरका प्रवक्तासमेत रहेका वडाध्यक्ष न्यौपानेले जानकारी दिए । उनका अनुसार हेटौंडाको ३, १४ र १५ नम्बर वडा बालमैत्री घोषणा हुन बाँकी छन् ।
प्रतिक्रिया 4