
११ माघ, काठमाडौं । अखिल क्रान्तिकारीको अध्यक्षमा उम्मेदवारी दिएका योगेन्द्रबहादुर बुढाले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारी फिर्ता भएको जानकारी गराएका हुन् । बुढा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा नजिक छन् ।
साथै, उनले अध्यक्षकै अर्का उम्मेदवार विजयप्रकाश शर्मा सापकोटालाई समर्थन गर्ने निर्णय लिएको पनि बताएका छन् । आजै सार्वजनिक भएको अन्तिम नामावलीमा पनि उनको नाम थियो ।
बुढाले उम्मेदवारी फिर्ता लिएसँगै अध्यक्षका लागि ४ जनाको प्रतिस्पर्धा हुने भएको छ ।
उपदेशकुमार यादव, विजयप्रकाश शर्मा सापकोटा, सुदीन पौडेल र हेमन्त राईबीच प्रतिस्पर्धा हुने भएको हो । अध्यक्षका अर्का उम्मेदवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षबाट सापकोटाले उम्मेदवारी दिएका छन् ।
यादव भने उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षका हुन् ।
पौडेल उपमहासचिव वर्षमान पुन पक्षका हुन् भने राई अर्का उपाध्यक्ष जनार्दन शर्मा नजिक छन् ।
उपाध्यक्षका लागि २० जनाको उम्मेदवारी परेको छ भने महासचिवमा ८ जनाले उम्मेदवारी दिएका छन् ।
महासचिवमा तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामबहादुर मिजार, सञ्जयकुमार महतो र सञ्ञिव फुँयाल उम्मेदवार बनेका छन् ।
२४३ जनाको केन्द्रीय समितिमा पदाधिकारी ३३, सचिवालय सदस्य ४८, केन्द्रीय सदस्य १६२ जनाको लागि निर्वाचन हुनेछ ।
भोलि शनिबार नयाँ कमिटीका लागि मतदान हुनेछ ।
प्रतिक्रिया 4