+
+

भारतको रेल दुर्घटनामा ११ वर्षीय छोरासहित अस्ताए अछामका नन्दराम र मैसारा

गाउँमै बसेका श्रीमती र छोरा लिएर नन्दराम जाँदै थिए ‘कर्मथलो’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते २१:२२
नन्दराम विश्वकर्मा, मैसारा कामी विश्वकर्मा र छोरा हिक्मत विश्वकर्मा

११ माघ, काठमाडौं । भारतको महाराष्ट्र राज्य अन्तर्गत जलगाउँ जिल्लाको परधाडे स्टेसन नजिकै भएको रेल दुर्घटनामा परेर एकै परिवारका तीन जना नेपालीले ज्यान गुमाएका छन् । अछामको पञ्चलदेव विनायक नगरपालिका–४ का एकै परिवारका तीन जनाको दुर्घटनामा परेका निधन भएको हो ।

श्रीमान्–श्रीमतीसहित ११ वर्षीय छोराको दुर्घटनामा परेर निधन भएको वडाध्यक्ष हर्क बहादुर बडुवालले जानकारी दिए । मृत्यु हुनेहरूमा ४४ वर्षीय नन्दराम विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा र उनीहरूका कान्छा छोरा ११ वर्षीय हिक्मत विश्वकर्मा रहेका छन् ।

वडाध्यक्ष बडुवालका अनुसार नन्दराम भारतमै रोजगारी गर्दै आएका थिए । उनी यसअघि पनि घर आउजाउ गरिरहेका हुन्थे । पछिल्लो पटक भने उनी गाउँमा रहेकी श्रीमती र छोरालाई पनि आफूसँगै भारत लैजानका लागि नेपालगन्जसम्म आएका थिए ।

उनका अरु दुई भाई छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ । एउटा छोरा भारतमै रोजगारी गर्छन् भने अर्का छोरा सुर्खेत बसेर अध्ययन गरिरहेका छन् ।

सुर्खेत अध्ययन गरिरहेका जेठा छोराले नेपालगन्जसम्म भाई र आमालाई पुर्‍याएर बुवाको जिम्मा लगाएका थिए । नन्दराम भारतबाट नेपालगन्जसम्म आएर उनीहरूलाई लगेका थिए । सोही क्रममा महाराष्ट्रमा भएको रेल दुर्घटनामा परेर उनीहरूको निधन भएको हो ।

भारतमा रोजगारी गरिरहेका चाहिँ माइला छोरा हुन् । उनीहरू तीनै जनाको भारतमै दाहसंस्कार भइसकेको छ ।

सोही रेलको डब्बामा उनीहरूसँगै अन्य ९ जना नेपाली पनि थिए । दुर्घटनाबाट उक्त डब्बामा रहेका अन्य पाँच जना बाँच्न सफल भएका थिए । उक्त परिवारका तीन बाहेक अछाम कमलबजारका ६० वर्षीया जोक्ला उर्फ कला कामीको पनि निधन भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार सो दुर्घटनामा परेर सात जना नेपालीले ज्यान गुमाएका छन् । अछामका ४ जना, कैलालीका २ जना र बाँकेका एक जनाको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत ९ माघ साँझ करिब ५ः०५ बजे भएको रेल दुर्घटनामा भएको थियो । सो दुर्घटनामा परेर १२ जनाको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?