+

अपराजित एपीएफ सातौंपटक महिला राष्ट्रिय क्रिकेट च्याम्पियन

२०८१ माघ  १२ गते १३:५९ २०८१ माघ १२ गते १३:५९
अपराजित एपीएफ सातौंपटक महिला राष्ट्रिय क्रिकेट च्याम्पियन

१२ माघ, काठमाडौं । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै साविक विजेता समेत रहेको एपीएफले उपाधि जितेको हो ।

सुदूरलाई फाइनलमा ९ विकेटले पराजित गर्‍यो । सुदूरले लिएको ६८ रनको लक्ष्य एपीएफले १३औं ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफका लागि ममता चौधरीले र इन्दु बर्माले अविजित रहँदै क्रमश ४३ र १८ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले १८.१ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो । मनिषा बोहराले सर्वाधिक १८ रन बनाइन् । कप्तान विन्दु रावलले १७ रन बनाइन् ।

एपीएफका लागि कविता जोशीले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् । सबनम राईले ३ ओभरमा ८ रन दिएर २ विकेट लिइन् । इन्दु बर्माले ४ ओभरमा १४ रन दिएर २ विकेट लिइन् । करुणा भण्डारीले १ विकेट लिइन् ।

एपीएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो । एपीएफले महिला पीएम कप सातौंपटक जितेको हो । इन्दु बर्माको कप्तानीमा एपीएफले पहिलोपटक उपाधि जितेको हो ।

यसअघि एपीएफले सन् २०१६ देखि सन् २०१९ सम्म लगातार तथा त्यसपछि २०२१ र २०२३/२४ मा उपाधि जितेको थियो ।

इन्दु सर्वोत्कृष्ट खेलाडी, ममता सर्वोत्कृष्ट ब्याटर

एपीएफकी कप्तान इन्दु बर्मा प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भइन् । उनले प्रतियोगिताभर १७२ रन बनाइन् भने ५ विकेट पनि लिइन् ।

त्यस्तै एपीएफकै ओपनिङ ब्याटर ममता चौधरी सर्वोत्कृष्ट ब्याटर घोषित भइन् । उनले २०९ रन बनाएकी थिइन् ।

प्रतियोगितामा कुल १० विकेट लिएकी बागमती प्रदेशकी बलर मनिषा उपाध्याय उत्कृष्ट बलर घोषित भइन् ।

पीएम कप महिला क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय