+
+

नारीवाद सम्बन्धी दक्षिण एसियाली कला प्रदर्शनी काठमाडौंमा सुरु (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १२ गते २१:०४

काठमाडौँ । दक्षिण एसियाली महिला कलाकारको नारीवाद सम्बन्धी वृहत् कला प्रदर्शनी काठमाडौँमा शनिबारदेखि सुरु भएको छ । ‘फेमिनिस्ट फ्युचर : आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने कार्यक्रमको परिकल्पनाकार डा. अर्शिया लोखन्डवाला बताउँछिन् ।

तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा बौद्धस्थित तारागाँउ सांस्कृतिक केन्द्रमा सुरु भएको प्रदर्शनी तीन महिनासम्म अवलोकन गर्न पाइने छ । प्रदर्शनीमा दक्षिण एसियाका १० जना महिला कलाकारको सिर्जना राखिएको छ ।

प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैङ्गिक राजनीति जस्ता विषय सम्बोधन गर्ने लोखन्डावालाको भनाई छ । प्रदर्शनीमा भारतका ४, नेपालका ३ र श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशका एक-एक महिला कलाकारका सृजना राखिएका छन् ।

भारतीय कलाकार अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला, नेपाली कलाकार अश्मिना रञ्जित, विधाता केसी र उमा विष्टसँगै श्रीलङ्काकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बङ्गलादेशकी तायबा बेगम लिपीका सृजना प्रदर्शनीमा छन् ।

सबै कलाकारले कलामार्फत पारम्परिक लैङ्गिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र सामाजिक संरचनाको प्रभाव उजागर गर्ने प्रयास गर्नेछन् ।

नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एसियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित संघर्षसँग जोड्ने प्रयास वरूप प्रदर्शनी आयोजना गरिएको सराफ फाउन्डेशन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता साराफले बताइन् ।

प्रदर्शनीले महिलाको सम्मानसँगै दमनकारी दक्षिण एसियाली समाजको गहिरो र जटिल संरचनाको विश्लेषण गर्ने जनाइएको छ । शिल्पकला, फोटोग्राफी, इन्स्टलेसन, भिडियो र प्रदर्शनीमार्फत कलाकारले महिलाको जीवनको कथालाई उजागर गर्ने आयोजकको भनाइ छ ।

प्रदर्शनीको पहिलो दिन शनिबार अश्मिना रञ्जितको ‘सीता द आइडियल वाइफ २०२५’ मञ्चन गरिएको थियो । प्रस्तुतिले ब्राम्हण पितृसत्ताले महिलालाई कसरी गाँजेर राखेको छ भन्ने सन्देश दिन खोजिएको रञ्जितको भनाई छ । उनले महिलाको अधिकार र स्वतन्त्रता खोस्ने परम्पराअनुसारको विवाहमा गरिने ‘कन्यादान’ प्रथाको आलोचना गरेकी थिइन् ।

लैङ्गिकताको कुरा बुझ्नको लागि जात व्यवस्था बारे बुझ्न आवश्यक रहेको प्रदर्शनीमा सहभागी लेखक तथा अभियन्ता सरिता परियार बताउँछिन् ।

प्रदर्शनीमा विभिन्न समकालिन मुद्दालाई अन्वेषण गर्ने सृजना समेत समावेश छन् । पुष्पमाला एनको ‘अभेगा : द प्यासन २०१२’ ले रामायणका महिलाका पात्रको पारम्परिक चित्रणलाई चुनौती दिँदै उनीहरूको सशक्त पक्षबारे उजागर गर्नेछ ।

तैयबा बेगम लिपीले आफ्ना सिर्जनामा विवाहको जटिलता र हिंसात्मक प्रवृत्तिलाई चित्रित गरेकी छन् । उमा विष्टले छाउपडी प्रथाको आलोचना गर्दै नेपाली महिलाका संघर्षलाई प्रस्तुत गरेकी छन् । प्रदर्शनीको टिकट शुल्क विद्यार्थीका लागि दुई सय तोकिएको छ भने अन्य अवलोकनकर्ताले ३ सय रुपैयाँ तिर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?