
पुसको कठ्याङ्ग्रिँदो जाडो । बिहान ७ बजे । पूर्वी पहाडी जिल्ला खोटाङको दिक्तेल सोल्मास्थित ‘शुभम क्याफे एन्ड होमस्टे’ को भुइँतलामा मासु काट्दै, पिठो मुछ्दै र मुछिसकेको पिठोबाट गोलो चक्का बनाउँदै गरेका तीन किशोर । काममा तल्लीन अन्दाजी १४/१५ वर्षका किशोरहरूलाई उत्सुकतावश मैले सोधेँ, ‘यो के गर्दै गरेको ?’
‘मःम बनाउन लागेको,’ उनीहरू जवाफ दिन्छन् । कुराकानीकै क्रममा थाहा हुन्छ उनीहरू शुभद्रा–मदन फाउन्डेसन (शुभम) ले सञ्चालन गरेको जनजागृति माध्यमिक विद्यालयमा पढ्ने र बस्ने विद्यार्थी रहेछन् । ४ कक्षादेखि शुभममै पढेर, हुर्केका उनीहरू अहिले ९ कक्षामा पढिरहेका रहेछन् ।

एक छिनपछि बिहानको चिसोमा तातो कफीको आनन्द सम्झिँदै माथिल्लो तलामा रहेको शुभम क्याफेतिर लागेँ । ग्राहकले प्रत्यक्ष देख्न पाउने गरी बनाइएको आधुनिक भान्सातिर चाररपाँच जना विद्यार्थी रेस्टुरेन्टका ग्राहकका लागि बिहानको चिया–खाजाको तयारीमा लागेका रहेछन् । त्यतिकैमा बाल्टिनभरि दूध लिएर एक छात्रा आउँछिन् ।
‘कहाँबाट ल्याएको रु,’ मैले उत्सुकता पोखेँ । ‘भर्खरै दुहेर ल्याएको,’ छात्रा जवाफ दिन्छिन् ।
सम्पूर्ण रूपमा विद्यार्थीबाटै चलाइएको रेस्टुरेन्ट देखेपछि फेरि सोधेँ, ‘ब्रेकफास्टमा के–के पाइन्छ ?’
‘के खानुहुन्छ, त्यही तयार गरिदिन्छु,’ एक छात्राले जवाफ दिइन् ।
मैले ‘अम्लेट पाउरोटी पाइन्छ रु’ भनेर सोधेँ ।
‘पाउरोटी त तपाईं काठमाडौंमा खाइहाल्नु हुन्छ, यहाँ आएपछि त नयाँ चिज कोदो, फापरको रोटी पो चाख्नुपर्छ,’ तुरुन्त अर्की एक छात्राले जवाफ दिइन् ।
त्यसपछि मैले फापरको रोटी र अम्लेटको साथमा कफी अर्डर गरेँ । खाना नआएसम्म विद्यार्थीहरूसँग वार्तालाप जारी राखेँ । उनीहरू ९ र १० कक्षाका विद्यार्थी रहेछन् । शुभमकै छात्रावासमा बसेर पढने, काम गर्ने, सिक्ने ।
पाउरोटी छैन भन्नुको सट्टा छात्राको कुशल जवाफबाट म प्रभावित भएँ । होटल–रेस्टुरेन्टहरूमा ग्राहकलाई कसरी व्यवहार गर्ने, खानेकुरा कसरी पस्कने ९सर्भ० जस्ता कुरा विद्यार्थीले कामकै क्रममा सिक्ने रहेछन् ।
सिकाइका विभिन्न तरिका हुँदोरहेछ । जस्तै, सुनेर, पढेर, हेरेर, गरेर अनि गराएर । सिकाइका यी विविध तरिकामध्ये हेरेर, गरेर र गराएर सिकाउने पद्धति नै व्यावहारिक र दिगो हुने रहेछ । यही हेरेर, गरेर र गराएर सिकाउने पद्धतिलाई अधिकतम महत्त्व दिइने शुभमको शिक्षा पद्धति सह्रानीय र अनुकरणीय छ ।

कसैलाई अनौठो लाग्न सक्ला, पढ्न पठाएको बच्चालाई ‘नोकर’ जस्तै काममा लगाइएको छ भन्दा । तर, यो विद्यालयको विशेषता नै यही रहेछ श्रम र सिप सिक्ने । किताब घोक्नेभन्दा सिपमा जोड दिने । खेल–खेलमै काम गर्दै, सिक्दै अनि साना भाइबहिनीलाई आफ्नै खुट्टामा उभिने कला सिकाउने, श्रमको महत्त्व सिकाउने । यो शिक्षा पद्धति अजीव हुँदाहुँदै महत्त्वपूर्ण लाग्यो । देशभरि यस्तै शिक्षा पद्धति अँगाल्न सके कति राम्रो हुँदो हो !
त्यतिकैमा ९ बज्छ । विद्यार्थीहरू बिस्तारै समूह–समूहमा विद्यालयको मेसभित्र पसेको देखिन्छ । म पनि तल झर्दै मेसको माहोल हेर्न गएँ । विद्यार्थीहरू एकेक वटा थाल उठाउँदै खाना थाप्दै गर्छन्, मेसभित्रबाट एक जनाले भात, अर्कोले दाल र अर्कोले तरकारी दिन्छन् । विद्यार्थीहरू टेबुलमा गएर खान्छन्, खाइसकेपछि टेबुल सफा गर्छन् र आफैं थाल माझ्दै तोकिएको ठाउँमा राख्ने गर्छन् ।
मेसको ढोकामै बसेर एक छात्रा क–कसले खाए, टिक लगाउँदै रहिछिन् । करिब १ सय २० जनाले खाने मेसमा खाना पकाउने काम एक जना शिक्षकको अगुवाइमा विद्यार्थीहरूले नै गर्दा रहेछन् । विद्यार्थीहरूको आ–आफ्नो रोस्टर हुने रहेछ, पालैपालो सबै किसिमका काम गर्ने, सिक्ने ।
खेलकुदमा चासो राख्नेका लागि फुटबलदेखि टेबुल टेनिस, मार्सल आर्टसम्मका खेल सिक्ने अवसर रहेछ । करेसाबारी, पशुपन्छी, माछापालन, धान, गहुँ खेती लगायत विद्यार्थीले आफूलाई चाहिने सबै आवश्यकता आफैं उत्पादन गर्ने प्रयास हुनु साह्रै सह्रानीय लाग्यो ।
सिलाइ, बिजुली, प्लम्बिङ, मेकानिकल, कम्प्युटरदेखि उमेर र आफ्नो झुकाव अनुसार साइकल, मोटरसाइकल तथा गाडीसम्म सिक्न पाइने रहेछ । विद्यालयले एसईई परीक्षामा पनि हरेक वर्ष अब्बल नतिजा ल्याउने गरेको र यहाँका विद्यार्थी स्नातक, स्नात्तकोत्तर भई अहिले देशका विभिन्न क्षेत्रमा सफलतापूर्वक कार्यरत रहेको प्रधानाध्यापक सूर्य राईले सुनाए ।

शुभममा ४ कक्षादेखि पढेर हुर्केकी र अहिले खोटाङमै स्नातक अध्ययनरत एक छात्राले त हामीलाई शुभमकै गाडीमा ३५ किलोमिटर टाढा हलेसी महादेवसम्म घुमाउन लगिन् । उनी अझै शुभमकै छात्रावासमा बस्ने रहिछिन् । विद्यालय शिक्षा पूरा गरिसकेर पनि कैयौं विद्यार्थी शुभमसँगै जोडिएको पाउँदा खुसी लाग्यो । दिक्तेलको मुख्य बजार रत्नपार्कमा शुभमले भर्खरै एउटा आधुनिक रेस्टुरेन्ट ‘शुभम खाजा घर’ खोलेको रहेछ । सुपथ मूल्यमा स्वस्थ खाना र खाजा पाउने खाजा घरमा दुई जना केटा कार्यरत देखेँ । कुरा गर्दा थाहा भयो उनीहरू शुभममै हुर्केर हाल स्नातक अध्ययन गरिरहेका रहेछन् । खालि समय मिलाएर रेस्टुरेन्ट चलाउने रहेछन् ।
विद्यालयको पढाइ सकाएर पनि विद्यार्थीहरू कुनै न कुनै रूपमा शुभमसँग जोडिएका रहेछन् । विद्यार्थीहरू आफंै सक्षम नभएसम्म हरकिसिमले शुभमकै साथमा रहने रहेछन् ।
शुभममा हाल ४२ जिल्लाका ८/९ वर्षदेखि १९/२० वर्षका विभिन्न जातजाति, धर्मका ११० विद्यार्थी छात्रावास बसेर पढ्ने, खेल्ने, सिक्ने गर्दा रहेछन् । विद्यालयको पढाइको आधार भनेकै काम गर्ने र सिक्ने । त्यसैले आफ्नो क्षमता अनुसार सबैको पालैपालो आ-आफ्नो काम र जिम्मेवारी हुने ।
शुभमका विद्यार्थीहरूले हरेक साँझ सुत्नुअघि दिनभरि भए गरेका कामको दैनिकी राख्नुपर्ने रहेछ । सानैदेखिको लेख्ने बानीले गर्दा पछि गएर उनीहरूको लेखाइ र प्रस्तुति पनि सुन्दर र सहज हुने पाइयो । अनिवार्य सहभागी हुनुपर्ने हरेक शुक्रबार साँझको नाचगान कार्यक्रमले विद्यार्थीलाई खुला रूपमा रमाउने अवसर दिनुका साथै उनीहरूको लजाउने, अरूसँग खुलेर बोल्न, व्यवहार गर्न नसक्ने अन्तरमुखी स्वभाव समेत निवारण गर्दै सानैदेखि एक सबल व्यक्तित्व निर्माणको जग बसाल्दै जाने देखियो ।
शुभममा गाउँलेहरूले आफ्नो बारीमा फलाएका ताजा तरकारी, फलफूल खरिद बिक्री गर्न सहज हुने गरी एउटा कृषि उपज खरिद बिक्री केन्द्र खोलेको रहेछ । खरिद बिक्री केन्द्रमा दैनिक आवश्यकताका किराना सामानदेखि खाद्यवस्तु, ताजा तरकारी पनि पाइने । बिक्न नसकेका सागपात तरकारीलाई त्यही सुकाएर गुन्द्रुक सिन्की बनाएर बेचिने व्यवस्था गरिएको हुँदा केही पनि खेर नजाने । गाउँलेबीच सहकार्य वा भनौं सहकारीको एक पक्का नमुना त यहाँ पो पाइयो । स्थानीय सरकारले गाउँले अर्थतन्त्रको यो सहज नमुनालाई भरथेग गरी प्रोत्साहित गर्न सकेको खण्डमा प्रत्येक गाउँ नमुना गाउँ बन्न सक्ने प्रशस्त आधार पाइयो ।
स्थानीय सरकारका त्यस्ता प्रयास प्रदेश सरकार तथा संघीय सरकारले पनि सक्दो सहयोग र प्रोत्साहन गर्न आवश्यक देखिन्छ । व्यक्तिगत प्रयासबाट सुरु गरिएको शिक्षाको यो नौलो शैली किन सरकारले अन्यत्र पनि प्रयोगमा ल्याउने प्रयास गर्दैन ? मेरो जिज्ञासा ।

अन्त्यमा, आज नेपाली विद्यार्थीहरू १२ पास गर्न पाएका हुँदैनन् विदेश जाने तरखरमा हुन्छन् । नेपालका शिक्षण संस्थाहरू बिस्तारै खालि हुँदैछन् । पढेर देशमै गतिलो रोजगारी पाइन्छ, स्वरोजगार भई इज्जतसाथ जीवनयापन गर्न सकिन्छ भन्ने सम्बन्धमा विश्वास घट्दै गएको छ । गाउसहर बिस्तारै खालि हुँदैछन् । देश केवल बुढाबुढी, बालबच्चा र अशक्तहरूको निवास बन्दैछ । के यसले हाम्रो शिक्षा पद्धतिमा तत्काल आमूल परिवर्तनको आवश्यकता संकेत गर्दैन ? सरकार गम्भीर हुन आवश्यक छ ।
(मानन्धर नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक हुन्)

प्रतिक्रिया 4