
काठमाडौं । रोहित अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘माइतीघर’ले कलाकारको अन्तिम लाइनअप सार्वजनिक गरेको छ । निर्माताले आइतबार सार्वजनिक गरेको सूचीमा केही कलाकार हेरफेर भएको देखिएको छ ।
दिकिला शेर्पा फिल्मबाट बाहिरिएकी छिन् । सिक्किमकी चर्चित अभिनेत्री श्यामाश्री शेर्पाको प्रवेश भएको छ । श्यामाको पछिल्लो फिल्म ‘तारा : द लस्ट स्टार’ गतवर्ष भारतबाट कान्स फिल्म फेस्टिभलको मार्केटमा छनोट भएको थियो ।
निर्माता अधिकारीले दिकिलाको ठाउँमा श्यामाश्री अनुबन्धित भएको पुष्टि गरे । ‘श्यामाश्रीजीसँग कागजी सम्झौता गरिसकेका छौं । दिकिला हाम्रो फिल्ममा हुनुहुन्न’ कलाकार हेरफेरबारे उनले भने ।
श्यामाश्रीले साम्तेन भुटिया निर्देशित फिचर फिल्म ‘तारा : द लस्ट स्टार’सहित भारतीय वेब-श्रृंखला, विज्ञापन, म्युजिक भिडियोमा अभिनय गरेकी छन् । ‘तारा’लाई चाँडै नेपालमा गर्ने तयारी छ ।
चैत अन्त्यदेखि छायांकन तयारीमा रहेको फिल्म ‘माइतीघर’मा प्रकाश सपुत, धीरज मगर, केदार घिमिरे, उपासनासिंह ठकुरी, बुद्धि तामाङ, माओत्से गुरुङ, शिशिर बाङ्देल लगायतको अभिनय हुने जनाइएको छ ।
मिलन तामाङले निर्देशन गर्ने यो फिल्ममा रविन शेरचन र धीरज तामाङ निर्माताको रुपमा हुनेछन् । चन्द्रकुमार दोङको कथा, इश्वर श्रेष्ठ र नीरज कटुवालको कार्यकारी निर्माण हुनेछ । रोहित अधिकारी फिल्म्सको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।
प्रतिक्रिया 4