
१३ माघ, न्यूयोर्क । नेपाली पार्कर खेलाडी दिनेश सुनारले पार्कर खेलमा सबैभन्दा धेरै बटरफ्लाई ट्वीस्ट गरेर कीर्तिमानी राखेका छन् ।
उनले अमेरिकाको न्यूयोर्कमा ३० सेकेण्डमा १४ बटरफ्लाई ट्वीस्ट गरेर गएको आइतबार (१९ जेनवरी २०२५) मा कीर्तिमानी राखेको गिनिज वर्ल्ड रेकर्डको वेवसाइटमा उल्लेख छ ।
गिनिज बुकमा उनको यो २१औं कीर्तिमान हो । सुनारले यसअघि पार्कर र जिम्नास्टिक खेल अन्तरगत विभिन्न विधामा २० वटा विश्व कीर्तिमानी कायम गरिसकेका थिए ।
खोटाङको हलेसी स्थायी घर भएका सुनारले २०७१ मा बिराटनगरमा भएको सातौं राष्ट्रिय खेलकुद र २०७५ मा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए ।
हाल न्यूयोर्कमा भएको समारोहका बीच उनले २१औं रेकर्ड राखेका हुन् । समारोहमा तेम्बा शेर्पा, उर्गेन शेर्पा, नग्वाङ निमा शेर्पा, नन्दीप्रसाद ढकाल, अजित शाह, प्रखी राई लगायत उपस्थित थिए भने निक स्टेब टाइम किपर थिए ।
सुनारले २६ कात्तिकमा भारतमा अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार समेत पाएका थिए । हाल अमेरिकामा रहेर पार्कर खेललाई अघि बढाइरहेका उनी नेपाली खेलकुद र सांस्कृतिक आदानप्रदानमा सक्रिय हुँदै आएका छन् ।
सुनार खोटाङमा रहँदा ज्याकी च्यान, ब्रस ली लगायतका चलचित्रबाट प्रभावित भएर जिम्नास्टिक र पार्कर विधाको अभ्यासमा लागेका थिए । हाल उनी नेपालमा पार्कर खेलका अगुवा मानिन्छन् ।
प्रतिक्रिया 4