
काठमाडौं । विश्वचर्चित पपस्टार एड सिरन दक्षिण एसियाली मुलुक भुटानमा कन्सर्ट गर्ने पहिलो अन्तर्राष्ट्रिय कलाकार बनेका छन् । ३३ वर्षिय ‘ब्याड ह्याबिट’ गायकले शनिबार थिम्पुमा भव्य प्रस्तुति दिए । उनलाई सुन्न छिमेकी मुलुक भारतबाट समेत दर्शकको धुइरो लागेको थियो ।
कन्सर्टपछि इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै सिरनले भुटानको कन्सर्ट आफ्नो महत्वपूर्ण कोशेढुंगा भएको बताए । उनले थिम्पुमा प्रस्तुति दिँदाको अनुभव पनि समेटेका छन् ।
थिम्पुको चाङ्लिमिथाङ रंगशालामा प्रस्तुति दिएपछि उनले इन्स्टामा लेखेका छन्, ‘पहिलो अन्तर्राष्ट्रिय कलाकारको रुपमा गएराति भुटानमा प्रस्तुति दिँदा गौरवान्तित महसुस गरेको छु । कस्तो सुन्दर ठाउँ र देश, अविश्सनीय मानिसको साथमा ।’
उनको सामाजिक संजाल पोस्ट हेर्दा भुटानबाट उनी नीजिरुपमा पनि प्रभावित बनेको देखिएको छ । क्याप्सनको अन्त्यमा उनले आफूलाई स्वागत गरेको भुटानलाई धन्यवाद दिँदै पुनः भेट्ने वाचा गरेका छन् ।
चारपटक ग्रामी अवार्ड जितेका सिरनलाई सुन्न दशौं हजार भुटानी चाङ्लीमिथाङ रंगशालामा उपस्थित थिए । सीएनएनका अनुसार ७ लाखभन्दा धेरै बौद्ध भिक्षु रहेको भुटान यस्तो भूपरिवेष्ठित मुलुक हो जुन सन् १९७० को समयदेखि विस्तारै पश्चिमा मुलुकसँग खुल्न थालेको थियो ।
सिरनको ‘म्याथम्याटिक्स वल्र्ड टूर’ सन् २०२५ मा समापन हुँदैछ । यो टूरअनतर्गत उनी यसवर्ष युरोपेली मुलुकमा गुञ्जिने तयारी छ । मे ५ देखि उनी स्पेनको मड्रिडमा गुञ्जिनेछन् । त्यसपछि रोम, ओस्लो, जुरिच, स्टकहोम, स्वीडेन, कोपनहेगनमा प्रस्तुति दिने तय छ । सेप्टेम्बर ९ मा अन्तिमपटक जर्मनीको डुसेलडर्फमा प्रस्तुति दिने तय छ ।
प्रतिक्रिया 4