चिसो मौसम बालबालिकाका लागि निकै चुनौतीपूर्ण हुन सक्छ। किनकि जाडोमा हुने चिसो हावापानी, तापक्रमको गिरावट र भाइरसको सक्रियताका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ।
वयस्कको तुलनामा बालबालिकामा प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकोले उनीहरूमा चिसो मौसममा रुघाखोकी, ज्वरो, निमोनिया, छालासम्बन्धी समस्या, र सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन सक्छन्।
चिसोबाट जोगाउन किन आवश्यक छ?
बालबालिका खेलकुद, विद्यालय, र बाहिरी वातावरणमा सक्रिय हुने भएकाले उनीहरू चिसो हावाको प्रत्यक्ष सम्पर्कमा रहन्छन्। यसले गर्दा उनीहरूमा भाइरल संक्रमण, घाँटी दुख्ने, तथा अन्य शारीरिक समस्या छिट्टै देखिन सक्छ।
बालबालिकाको शरीर अझै पूर्ण रूपमा विकसित भइसकेको हुँदैन । उनीहरूको तापक्रम नियन्त्रण गर्ने प्रणाली ठूला व्यक्तिको तुलनामा कमजोर हुन्छ। यदि जाडोबाट सही ढंगले जोगाउन सकिएन भने यसले दीर्घकालीन स्वास्थ्य समस्याहरू उत्पन्न गर्न सक्छ।
त्यसैले, बालबालिकाको स्वास्थ्यप्रति सचेत रहनु र चिसो मौसममा विशेष ध्यान दिनु आवश्यक छ।
कसरी जोगाउने ?
न्यानो पार्ने कपडा
— बच्चाको शरीरलाई गर्मी प्रदान गर्ने कपडा मात्रले उनीहरूलाई चिसोबाट बचाउन सक्ने हुँदा न्यानो कपडा लगाइदिनु पर्छ ।
— बालबालिकालाई थर्मल कपडा बाहिरी लुगा भित्र लगाउन दिने हो भने यसले शरीरको तापक्रमलाई स्थिर राख्छ।
— बच्चालाई धेरै पातला कपडाको तह हुने गरी लगाइदिँदा यसले न्यानो दिनुका साथै चिसो हावा छेक्छ
— खुट्टा र टाउकोबाट धेरै तापक्रम बाहिर जान्छ । त्यसैले, न्यानो मोजा र टोपी लगाउन आवश्यक छ।
—बच्चाहरूलाई जाडोमा बुट लगाइदिनु पर्छ । जसले खुट्टालाई बाहिर हुँदा न्यानो राख्छ।
कस्तो खानपिन ?
—चिसो मौसममा बच्चाहरूको प्रतिरोधात्मक क्षमता बलियो बनाउन सही खानपानको विशेष महत्व हुन्छ।
—पोषणयुक्त खाना र झोलिलो परिकारले शरीरलाई ऊर्जा प्रदान गर्छ ।
—सूप, झोल, र दालजस्ता परिकार बच्चाहरूलाई दिनुपर्छ । यी परिकारले शरीरलाई भित्री रूपमा न्यानो राख्छ।
—अदुवा र मह ले शरीरलाई चिसोबाट जोगाउन मात्र होइन । रुघाखोकीको रोकथाम गर्न पनि मद्दत गर्छ।
—मौसमी फलफूलः स्याउ, सुन्तला, किवीजस्ता फलफूल बालबालिकाको आहारमा समावेश गर्नुपर्छ । यसले शरीरलाई आवश्यक भिटामिन सी प्रदान गर्छ, जसले प्रतिरोधात्मक क्षमता बढाउँछ।
—सुख्खा फलहरूः बदाम, काजु, अख्खर जस्ता ड्राईफ्रुट्स बालबालिकालाई दिनुपर्छ । यी खानेकुराले शरीरलाई न्यानो राख्न मद्दत गर्छ।
स्वच्छता र सरसफाइ
—चिसो मौसममा संक्रमणको जोखिम धेरै हुन्छ। बालबालिकालाई चिसोबाट बचाउन सरसफाइमा ध्यान दिनु अनिवार्य छ।
— बच्चाहरूलाई खाना खानु अगाडि र बाहिरबाट फर्केपछि साबुनपानीले हात धुन प्रोत्साहन गर्नुहोस्।
—बच्चाहरूको कोठा सफा राख्नुहोस्। धूलो–माटो हटाउन भ्याकुम क्लिनरको प्रयोग गर्नुहोस्।
—कोठामा चिसो हावा नछिर्ने गरी झ्याल, ढोका बन्द गर्नुपर्छ । तातो हावा दिनको लागि हिटर वा ब्लोअरको प्रयोग गर्न सकिन्छ।
पानी पिउन प्रोत्साहित गर्ने
—चिसोमा बच्चाहरू कम पानी पिउने बानी गर्छन्, तर शरीरलाई हाइड्रेट राख्नु अत्यन्त आवश्यक छ।
—बच्चाहरूलाई मनतातो वा तातो पानी दिनुहोस्।
— यदि बच्चाहरूलाई पानी पिउन मन गर्दैनन् भने सूप, जुस, वा झोलिलो परिकार दिन सकिन्छ।
—हाइड्रेटेड शरीरले बच्चाहरूको प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ।
नियमित आराम र पर्याप्त निद्रा
— चिसो मौसममा बच्चाहरूले पर्याप्त आराम र राम्रो निद्रा पाउनु अत्यावश्यक छ।
— बच्चाहरूलाई दैनिक ८ देखि १० घण्टा निदाउन दिनपर्छ ।
—आरामले बच्चाहरूको शरीरलाई पुनः ऊर्जावान बनाउँछ र प्रतिरोधात्मक क्षमता बढाउँछ।
चिसोमा बाहिर खेल्न नदिनुहोस्
—अत्यधिक चिसोको समयमा बच्चाहरूलाई बाहिर जान र खेल्नबाट रोक्नुपर्छ।
—यदि बच्चाहरूलाई बाहिर जानैपर्छ भने, उनीहरूलाई न्यानो कपडाले राम्रोसँग ढाक्नुपर्छ।
—अत्यधिक हिउँ परेको वा हावा चलिरहेको अवस्थामा बच्चाहरूलाई घरभित्र राख्नु नै उचित हुन्छ।
चिसोको लक्षण देखिए हेलचेक्राई नगर्ने
—चिसो मौसममा यदि बच्चाहरूमा रुघाखोकी, ज्वरो, घाँटी दुख्ने, वा कुनै स्वास्थ्य समस्या देखा परेमा तुरुन्तै डाक्टरसँग परामर्श लिनुपर्छ ।
—चिसोको लक्षण देखिए पहिलाअदुवा, बेसार, मह मिसाएर बनाइएको पेय पदार्थ बच्चाहरूलाई दिन सकिन्छ। यसले पनि उनीहरुलाई धेरै राहत दिन्छ ।
—लक्षण गम्भीर भएमा घरमै उपचार गर्न खोज्नु हुँदैन।
शारीरिक व्यायाम र सक्रियता
—चिसो मौसममा बच्चाहरूलाई शारीरिक रूपमा सक्रिय राख्नुपर्छ।
—घरभित्रै खेल्न सकिने गतिविधि जस्तै योग, स्ट्रेचिङ, वा हल्का व्यायाम गराउन सकिन्छ।
—शारीरिक सक्रियताले बच्चाहरूको शरीरलाई न्यानो राख्छ।
चिसो मौसममा विद्यालय जाँदा के कुराको ख्याल राख्ने ?
—विद्यालय जाने बालबालिकाको स्वास्थ्यमा पनि ध्यान दिनु आवश्यक छ।
— विद्यालयमा न्यानो कपडा लगाउन दिनुस्।
— बच्चालाई आफ्नो टिफिनमा तातो र पौष्टिक खाना दिनुहोस्।
प्रतिक्रिया 4