
१३ माघ, चितवन । चितवन जिल्ला अदालत बार एशोसिएसनमा पहिलो पटक महिला अध्यक्ष चयन भएकाछन् । चितवन बारको सदस्यहरूमध्ये पनि पहिलो महिला सदस्य बनेकी फूलमाया रानाभाट यस पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
शनिबार सम्पन्न अधिवेशनमा उनले आफ्ना निकटतम प्रतिस्पर्धी नुनराज सिलवाललाई पराजित गर्दै निर्वाचित भएका हुन् । उनले ८१ मत प्राप्त गर्दा सिलवालले ७८ मत प्राप्त गर्नुभयो । रानाभाट लोकतन्त्रवादी कानुन व्यवसायी संघबाट निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा सीताराम अधिकारी विजयी भएका छन् । उनले ९१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सरिता सापकोटाले ६६ मत प्राप्त गरे ।
सचिवमा कुलचन्द्र खनाल ८० मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी बलराम पौडेलले ७० मत प्राप्त गरे । सहसचिवमा पवित्रा सुवेदी निर्विरोध चयन भएका छन् ।
कोषाध्यक्षमा दिपकराज तिमिल्सिना निर्वाचित भएका छन् । तिमिल्सिनाले ८१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सपी मियाँले ७५ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा प्रियङ्का थापा निर्विरोध निर्वाचित भएका छन् ।
खुल्ला सदस्यतर्फ शैखरनाथ पोखरेल ७५, किरण गुरुङ ८४, सुरेन्द्रराज सुवेदी ७६, शम्भु बर्तौला ७७, रामकुमार प्याकुरेल ८१, अजयकुमार तामाङ ८१ र केदारराज पन्त ७६ मतका साथ विजयी हुनुभएको निर्वाचन समितिका संयोजक जगन्नाथ भण्डारीले जानकारी दिए ।
‘एक विद्यालय एक ट्राफिक शिक्षक’
दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘एक विद्यालय एक ट्राफिक शिक्षक’ अभियान सञ्चालन गरेको छ । भरतपुर महानगरपालिकाबाट सुरु भएको यो अभियान जिल्लाभर सञ्चालन गरिने जनाइएको छ ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार भरतपुर महानगरका एक सय ९८ विद्यालयका एक÷एक जना शिक्षकलाई ट्राफिक व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ। बाँकी छ पालिकामा क्रमशः तालिम दिइने उल्लेख गर्दै तालिम पश्चात् शिक्षकलाई आवश्यक अडियो, भिडियो, फोटोलगायत सामग्रीसमेत उपलब्ध गराइएको उनले बताए ।
उनले भने, ‘तालिम लिने सबै शिक्षकले आफ्नो विद्यालयका विद्यार्थी, शिक्षक कर्मचारीलाई ट्राफिक नियमसम्बन्धी तालिम दिने छन्।’ यसबाट सबै विद्यार्थीले ट्राफिक नियमबारे जानकारी पाउनेछन् भने उनीहरूले अभिभावकलाईसमेत यो शिक्षा दिन सक्नेछन् ।
जिल्लामा पाँच सय आठ विद्यालय छन् । साना कक्षाका विद्यार्थी बाहेक एक लाखभन्दा बढीले यो तालिमबाट लाभ लिने प्रमुख प्रहरी निरीक्षक शर्माले जानकारी दिए । ट्राफिक जनचेतनाका बारेमा ज्ञान नहुँदा दिनहुँ दुर्घटना बढेको भन्दै कार्यालयले यो अभियान सञ्चालन गरेको उनको भनाइ छ ।
प्रतिक्रिया 4