+
+

सञ्चारमन्त्रीको प्रश्न : ड्रोनको लडाइँ सुरु भइसक्यो, खुकुरीले जितिन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १३ गते १४:४२

१३ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयसँग सम्बन्धित सबै ऐन र कानुनहरू एक वर्षभित्र संशोधन गरिसक्ने बताएका छन्।

आइतबार काठमाडौंमा ‘एक स्थानीय तह, एक हुलाक’ घोषणा कार्यक्रममा मन्त्री गुरुङले पुराना ऐन र कानुनकै कारणले सञ्चार मन्त्रालयले परिणाम देखिने गरी काम गर्न नसकेको बताए ।

‘नेपालमा लोकतन्त्र आयो । गणतन्त्र आयो । संघीय गणतन्त्रात्मक व्यवस्था आयो । योभन्दा सुदृढ व्यवस्था अहिलेसम्म संसारमा केही छैन । सबैभन्दा उन्नत खालको गणतन्त्र भनेको संघीय लोकतान्त्रिक गणतन्त्र हो । त्यसकारण यो वर्षभित्र पुराना ऐन, नीति र नियमलाई परिवर्तन गरेर हाम्रो संविधान र व्यवस्थाले जे कुरा भनेको छ त्यो जनता र राष्ट्रको सेवा तथा उन्नति, समृद्धि र सुशासनका लागि काम गर्नुपर्छ,’ उनले भने ।

पुराना ऐन र कानुनबाट आफू अनुकूल नियमावली ल्याउँदै प्रयोग गरेका कारणले विभिन्न समयमा दुर्घटना हुने गरेको उनले बताए ।

सूचना र प्रविधिको क्षेत्रमा विश्वले ठूलो फड्को मारिसक्दा पनि हामी ऐन र कानुनमा अल्झिँदा मुलुकको समृद्धि र सुशासन कायम गर्न नसकिएको उनको भनाइ छ ।

‘अब पुराना खुकुरीले लडाइँ लड्न सकिन्छ ? ड्रोनको लडाइँ सुरु भइसक्यो । सूचना र प्रविधिमा संसार कहाँ पुगिसक्यो हामी चाहिँ पुरानै खुकुरीले लडाइँ जित्न सक्छौं भनेर बसेका छौं । पहिलेको बहादुरी सम्झेर अब चाहिँ विकास हुन्न । हामी ठिक उल्टो गरिरहेका छौं । पहिले संरचना बनाउने अनि नीति बनाउने काम भयो । राम्रो काम त हो तर उल्टो भएको छ । यसले हामी फेरि समस्यामा पर्छौं,’ उनले भने ।

हुलाक सेवाको सुधारका लागि नयाँ ऐन र नीति बनाउनु आवश्यक रहेको भन्दै सरकारले हुलाक नीति ल्याउने गरी काम गरिरहेको बताए ।

‘नयाँ नीति र नयाँ ऐन नबनाइकन भएन । यसलाई संशोधन गर्नुपर्‍यो । हामीले नीति र ऐन नबनाउने र आफू अनुकूल नियमावली बनाउँदै आएकोले विभिन्न दुर्घटनाहरू भइरहेका हुन्छन् । अनि जनताले प्रश्न उठाइरहेका हुन्छन्, सुशासन कहाँ छ, भ्रष्टाचार बढेको बढ्यै छ ? काम गर्ने क्षमता नबढ्नुको कारण त्यही हो,’ सञ्चारमन्त्री गुरुङले भने ।

उनले सबै स्थानीय तहहरूमा हुलाक सेवा पुग्नु आफैंमा ठूलो उपलब्धि भएको उल्लेख गर्दै प्रभावकारी ढंगले काम गर्न मातहतका निकायलाई निर्देशन दिए ।

उनले अबको पाँच वर्षभित्र सबै हुलाक कार्यालयहरूको भौतिक संरचना बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले हुलाक कार्यालहरुले राजस्व वृद्धिमा ध्यान दिन उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?