+

महिनावारीको दुखाइ कम गर्न पेनकिलर खानु कति उचित ?

२०८१ माघ  १३ गते १५:१६ २०८१ माघ १३ गते १५:१६
महिनावारीको दुखाइ कम गर्न पेनकिलर खानु कति उचित ?

महिनावारीले मुड स्विङ, दुखाइ र अत्याधिक रक्तस्रावजस्ता विभिन्न प्रकारका समस्या ल्याउँछ। कतिपय महिलालाई महिनावारीको समयमा सहनै नसक्ने पीडा हुन्छ । महिनावारीको समयमा हुने पीडा अर्थात् पेट दुख्ने समस्यालाई चिकित्सकीय भाषामा ‘डिस्मेनोरिया’ भनिन्छ।

महिनावारीको समयमा पेट, कम्मर, खुट्टा र टाउको दुख्ने समस्याका कारण दिनचर्यामा नै प्रभाव परिरहेको हुन्छ। यस्तोबेला कतिपय महिलाले दुखाइ कम गर्न पेनकिलरको सहारा लिने गर्छन् । तर यो तरिका कति उचित हो ? यसले शरीरलाई कत्तिको हानि पुर्‍याउँछ ?

महिनावारीमा दुखाइ किन हुन्छ ?

जब महिनावारी आउँछ, गर्भाशयको एन्डोमेट्रियम झिल्ली ‘प्रोस्टाग्ल्यान्डिन’ भनिने हर्मोनका कारण बग्छ । जसका कारण पाठेघर खुम्चिन्छ । त्यसैले गर्दा पाठेघर सुन्निने, दुख्नेजस्ता समस्या हुन थाल्छ। जब ‘प्रोस्टाग्ल्यान्डिन’को स्तर धेरै बढ्छ, फाइब्रोइड बन्न सक्छ । जसका कारण महिनावारीको समयमा समस्या बढ्न सक्छ।

पेनकिलर खानु उचित हुन्छ ?

महिनावारीको समयमा दुखाइ निवारक औषधि सही तरिकाले र सीमित मात्रामा लिने हो भने सुरक्षित हुन्छ । सामान्यतया, यी दिनमा दुखाइबाट राहत पाउन गैर-स्टेरोइड एन्टी–इन्फ्लेमेटरी औषधिहरू प्रयोग गरिन्छ । यी औषधिले शरीरमा प्रोस्टाग्ल्यान्डिनको उत्पादनलाई कम गर्छ । यो एक हर्मोनजस्तै हो, जसले पाठेघरको मांसपेशीलाई सङ्कुचन गराउँछ र यसले ‘पिरियड क्र्याम्प’ दुखाइ निम्त्याउँछ।

यद्यपि, यी औषधिहरू लिँदा पूर्ण दिशानिर्देशहरू पालना गर्नु महत्त्वपूर्ण हुन्छ । डाक्टरले तोकेको मात्रा भन्दा बढी दुखाइ कम गर्ने औषधि सेवन गर्नुहुँदैन। पेन किलर औषधिहरू उच्च मात्रामा वा चिकित्सकको सल्लाहबिना लामो समयसम्म सेवन गर्दा पेट दुख्ने, अल्सर र मिर्गौलाको समस्या समेत हुनसक्छ।

प्रत्येक महिना धेरै दुखाइ छ वा दुखाइका साथ धेरै रक्तस्राव भएको छ भने पेनकिलर लिएर मात्र समस्याको समाधान हुँदैन। त्यस्ता केसमा फाइब्रोइड वा एन्डोमेट्रिसिस जस्ता कुनै स्वास्थ्य अवस्था हुन सक्छ। कहिलेकहीँ यो हर्मोनको असन्तुलनका कारण हुन्छ । त्यसैले धेरै दुखाइ लगातार भए चिकित्सकको परामर्श लिनुपर्छ।

यी घरेलु उपचारले पेन किलरजस्तै काम गर्छ ।

–आहारमा टमाटर, जामुन, अनानास, अदुवा आदि एन्टिइन्फ्लेमेटरी गुणले भरिपूर्ण चीजहरू समावेश गर्ने । जसले महिनावारीको दुखाइ कम गर्छ ।

– आहारमा भिटामिन डी, भिटामिन ई, ओमेगा ३ आदि समावेश गर्ने।

–एन्डोर्फिन हर्मोन बढाउन नियमित व्यायाम आदि गर्ने। यसले मांसपेशीलाई आराम दिने काम गर्छ ।

– प्रशस्त पानी पिउने र हाइड्रेटेड रहने। मनतातो पानीको सेवनले पेट दुख्नुका साथै पेट फुल्ने र अपचजस्ता समस्याबाट पनि बच्न सकिन्छ ।

–मानसिक तनाव कम गर्ने। तनावले महिनावारीको दुखाई र तिनीहरूको गम्भीरताको जोखिम बढाउन सक्छ ।

–दुखाइ भएको ठाउँमा हट वाटर ब्यागले सेक्ने । तातोले मांसपेशीहरूलाई दुखाइबाट आराम दिन सक्छ ।

– चिसो पेय पदार्थ, जङ्क फुड, चिप्स, मदिरा र धूम्रपानले ‘क्राम्प’ बढाउँछ, त्यसैले यसलाई कम गर्नुपर्छ ।

महिनावारीको दुखाइ
डा. रञ्जना यादव
लेखक
डा. रञ्जना यादव
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. यालव हाल काठमाडौं कलंकीस्थित नेसनल अस्पतालमा कार्यरत छिन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९०२१ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय