+
+

काम गर्ने अवसर पाइएन भनेर कांग्रेसले गनगन गर्न मिल्दैन : महामन्त्री थापा

संघ, प्रदेश र ३३० पालिकामा कांग्रेस सरकार चलिरहेकाले अब पनि काम गर्न पाइएन भनेर गनगन गर्न नमिल्ने कांग्रेस महामन्त्री गगन थापाको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १३ गते १५:०७
फाइल तस्वीर ।

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले काम गर्ने अवसर पाइएन भनेर गनगन गर्न नपाइने बताएका छन् । काम गर्नका लागि छोटै अवधि पनि पर्याप्त हुने विभिन्न उदाहरण दिँदै उनले कामै गर्ने अवसर पाइएन भनेर भन्न नमिल्ने बताएका हुन् ।

राजधानीमा आज भएको मीनकुमारी राणाको प्रतीमा अनावरण, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेले पनि काम गर्ने समय पाइएन भन्न नमिल्ने बताए ।

‘कांग्रेस र एमालेले २०८४ को निर्वाचनको चर्चा गर्नै मिल्दैन । त्यहाँसम्म पुग्नका लागि अझै तीन वर्ष छ र काम गर्नका लागि यो अवधि पर्याप्त छ,’ उनले भने, ‘यो अवधिमा काम गर्न सकेनौँ भने अरु कुराको गनगन गर्न पाइँदैन ।’

संघ, प्रदेश र तीन सय ३० पालिकामा कांग्रेस सरकारमा रहेको भन्दै उनले ती सरकारलाई प्रभावकारी बनाउनतिर कांग्रेसको ध्यान जानुपर्ने बताए ।

यस्तो अवस्थामा पनि केही गर्न नसके आफूहरू हुनुको कुनै अर्थ नहुने उनले बताए । ‘यस्तो बेला पनि काम गर्न सकेनौँ भने हामी हुनुको अर्थ हुँदैन । त्यसैले यो तीन वर्ष हामीले काम गरेर देखाउनुपर्छ ।’

उनले बिपी कोइराला, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले नेतृत्व गरेका सरकारको अहिले पनि स्मरण हुने गरेको भन्दै ती सबै सरकार छोटो अवधिका मात्र रहेको चर्चा गरे ।

‘बिपी कोइरालाले जम्मा १८ महिना सरकार चलाउनुभयो । गिरिजाप्रसादले २०४८ देखि २०५१ सम्मको तीन वर्ष चलाएको कांग्रेसले अहिले पनि चर्चा गर्ने गर्छ । आर्थिक विकासको क्षेत्रमा ती दुवै सरकारले कायापलट गरेका थिए । यस्तै, एमालेले मनमोहन अधिकारीको नेतृत्वको नौ महिने सरकारको अहिले पनि गर्व गर्छ,’ उनले भने, ‘यसरी हेर्दा काम गर्नका लागि लामो समय चाहिने होइन रहेछ । अब बाँकी तीन वर्ष राम्रो काम गर्न सकेनौँ भने कुनै गनगनको अर्थ छैन ।’

जनताले कांग्रेसलाई धेरै दिएको भन्दै थापाले जनताले दिने कुरामा अब पनि चुक्न नहुने बताए । ‘जनताले के दिएनन्, मन्त्री बनाइदिएको छ, सांसद बनाएको छ, पालिकामा जिताएको छ, प्रदेशमा जिताएको छ, अनि जनतालाई केही दिनुपर्दैन ?’ उनको प्रश्न थिया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?