+
+

मेयरको निर्णय उपमेयरले उल्टाएपछि इटहरीमा लफडा 

कर्मचारी सरुवा गर्दा पक्षपात गरेको भन्दै ३ माघमा उमपेयरको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सरुवाको निर्णय उल्टाएको थियो । कर्मचारी सरुवा गर्दा मेयर पौडेलले छलफल नगरी कांग्रेसले नेतृत्व गरेको वडा बाहेक एमालेले नेतृत्व गरेका वडाका कर्मचारीको सरुवा गरेको एमालेको आरोप छ ।

हरि अधिकारी हरि अधिकारी
२०८१ माघ १३ गते २१:०५

१३ माघ,विराटनगर । आइतबार बिहान इटहरी उपमहानगरपालिकाका कर्मचारी आफैंले केही घण्टा सेवा अवरुद्ध पारे । उपमेयरसहित केही वडाध्यक्षहरूले कर्मचारीलाई अभद्र व्यवहार गरेको भन्दै कर्मचारीले सेवा अवरुद्ध पारेका हुन् ।

शुक्रबार उपमेयरसहित एमालेका वडाध्यक्षहरूसँग प्रशासन शाखा प्रमुख सञ्जीव खड्काको भनाभन भएको थियो । खड्काको कार्यकक्षमा भनाभन भएपछि जनप्रतिनिधिले खड्कालाई बाहिर निकालेर उनको कार्यकक्षमा ताला लगाइदिएका थिए । नेकपा एमालेका जनप्रतिनिधहरूका अनुसार खड्काले वडा कार्यालयको सर्भर डाउन गरेपछि विवाद भएको थियो ।

कर्मचारी र एमालेबाट निर्वाचित जनप्रतिनिधिको लफडाका कारण कर्मचारीको सरुवा हो । गत २८ पुसमा मेयर हेमकर्ण पौडेल र प्रमुख कार्यकारी अधिकृत रामचरित्र मेहताले ७७ जना कर्मचारीको सरुवा गरेका थिए । कर्मचारीको सरुवाको निर्णयपछि पौडेल उपमेयर संगीताकुमारी चौधरीलाई कार्यबाहक दिएर बिदामा बसे ।  उनी आइतबार मात्रै कार्यालयमा हाजिर भए । पौडेल नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् भने चौधरी नेकपा एमालेबाट निर्वाचित उपमेयर हुन् ।

कर्मचारी सरुवा गर्दा पक्षपात गरेको भन्दै ३ माघमा उमपेयर चौधरीको अध्यक्षतामा बसेको बहुमत कार्यपालिका सदस्य बैठकले सरुवाको निर्णय उल्टाएको थियो । कर्मचारी सरुवा गर्दा मेयर पौडेलले छलफल नगरी कांग्रेसले नेतृत्व गरेको वडा नम्बर १, ६ र १३ सहितका वडा बाहेक एमालेले नेतृत्व गरेका वडाका कर्मचारीको सरुवा गरेको एमाले जनप्रतिनिधिको गुनासो छ ।

उपमेयरले सरुवाको निर्णय उल्ट्याए पनि प्रशासन प्रमुख खड्काले सरुवा भएको क्षेत्रमा जान भन्दै कर्मचारीलाई दबाब दिएका थिए । कर्मचारी सरुवा भएको ठाउँमा जान नमानेपछि खड्काले शुक्रबार वडाको सर्भर नै डाउन गरिदिएको एमाले जनप्रतिनिधिको आरोप छ ।

‘वडाको सर्भर नै डाउन गरिदिएपछि विवाद भएको हो,’ इटहरी वडा नम्बर ३ का अध्यक्ष उमेश सुवेदीले भने, ‘यो सरुवाको बेला होइन, मेयरले आफू अनुकूल सुरुवा गरेर बिदा बसेपछि विवाद भयो ।’

बहुमत सदस्यको बैठकले सरुवाको निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेपनि कर्मचारीमाथि अनावश्यक दबाब दिइएको उनको भनाइ छ । शुक्रबार वडाको सर्भर नै अवरुद्ध गरेपछि प्रशासन प्रमुखसँग भनाभन भएको सुवेदीले बताए । त्यसपछि खड्काले प्रशासन सम्हाल्न नसक्ने भएकाले कार्यकक्षमा ताला लगाएको सुवेदीको दाबी छ ।

शुक्रबार खड्कामाथि उपमेयर चौधरीले दुर्व्यवहार गरेको भन्दै आज करिब दुई घण्टा कर्मचारीले काम रोकेका थिए । २८ पुसदेखि बिदा बसेका मेयर हेमकर्ण पौडेल कार्यालयमा हाजिर भएपछि ज्ञापनपत्र बुझाएर कर्मचारी काममा फर्किएका थिए । काममा फर्किएका कर्मचारीले उपमेयर चौधरीले लिखित रूपमा मार्फी माग्नका लागि अल्टिमेटम पनि दिएका छन् ।

इटहरीका प्रमुख प्रशासकीय अधिकृत रामरचित्र मेहता राजनीतिक विवादको चेपुवामा कर्मचारी परेको बताउँछन् । सर्भर डाउन भएको विषयमा आफूसँग कुरा गर्न छाडेर जनप्रतिनिधिले कर्मचारीसँग विवाद गरेको उनले बताए । कर्मचारीले न्याय माग गर्दै ज्ञापन पत्र बुझाएको उनको भनाइ छ ।

‘सर्भर डाउन भएको थाहा भएपछि मैले खोल्न लगाएको हो, त्यसका लागि (सर्भर डाउनका लागि) त्यति (कर्मचारीसँग विवाद) गर्नुपर्ने जरुरी थिएन, थाहा भएको पाँच मिटेमै मैले खोलिहालें,’ उनले भने, ‘ कर्मचारीले गल्ती गरेको भए मलाई भन्दा हुन्थ्यो उहाँहरूले, त्यसरी जानु उचित होइन ।’

‘खासमा चाहिँ राजनीतिक द्वन्द्व हो, द्वन्द्वको चपेटामा कर्मचारी परे,’ उनले फेरि भने,‘… सबैले सम्मान पाउनुपर्ने होइन ? कर्मचारीको कार्यकक्षमा गएर त्यस्तो गर्नुपर्ने होइन ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?