
१३ माघ, काठमाडौं । नेपाली कांग्रेसले अध्यादेश ल्याउनुपर्नुको औचित्यताबारे सांसदहरूलाई जानकारी गराएको छ ।
संसदीय दलको बैठक बोलाएर आइतबार अध्यादेशका विषयवस्तुका बारेमा जानकारी गराइएको हो । आज बसेको बैठकमा कानुन सुधार कार्यदलमा कांग्रेसबाट सहभागी नेताहरूले सांसदहरूलाई अध्यादेशमा समावेश विषयवस्तुबारे जानकारी गराएका हुन् ।
कानुन सुधार कार्यदलमा रहेका कानुनविद् सेमन्त दाहाल र योजनाविद् प्रताप पौडेलले सुशासनका लागि अध्यादेशमा समावेश गरिएका विषयबारे जानकारी गराए ।
बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘अध्यादेश किन ल्याउनुपर्यो ? यसभित्र के के छन् ? ती कन्टेन्टमा केही समस्या छन् भनेपनि आज खुलेर छलफल भएको छ ।’
बैठकमा महामन्त्री गगन थापाले दुई दलीय संयन्त्रले गरिरहेका कार्यबारे जानकारी गराएका थिए भने गृहमन्त्री रमेश लेखकले अध्यादेश ल्याउनपर्नुका कारणबारे सांसदहरूलाई जानकारी गराएका थिए ।
संसदीय दलको बैठक भोलि पनि बस्नेगरी आजको लागि स्थगित गरिएको छ ।
भोलि सांसदहरूले आफ्ना धारणा राख्ने र त्यसपछि मन्त्रीहरूले जवाफ दिने प्रमुख सचेतक घिमिरेले जानकारी गराए ।
प्रतिक्रिया 4