१३ माघ, काठमाडौं । आगामी बिहीबारदेखि काठमाडौंमा सुरू हुने नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीमा यू-१९ महिला विश्वकप खेलेका दुई खेलाडी पनि परेका छन् । पूर्वकप्तान रुबिना क्षेत्री र सीता रानामगर तथा यू-१९ टोलीबाट पुजा महतो र अलिशा कुमारी यादव पनि टोलीमा समावेश छन् ।
अन्य खेलाडीहरूमा बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमती ऐरी, मनिषा उपाध्याय र ईश्वरी विष्ट छन् ।
पछिल्लोपटक एसिया कपमा सहभागी भएको खेलेको टोलीबाट काजल श्रेष्ठ, डली भट्ट, सबनम राई र कृतिका मरासिनी बाहिरिँदा रेवती, अलिशा र मनिषा पहिलोपटक टिममा परेका हुन् भने ईश्वरीले टोलीमा कमब्याक गरेकी हुन् ।
प्रधानमन्त्री कप महिला टी२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक विकेट लिनेमा शीर्ष दुईमा रहेका मनिषा उपाध्याय र रेवती धामी टिममा परेका हुन् ।
बाँयाहाते मिडियम पेस बलर मनिषाले आईसीसी यू-१९ महिला टी२० विश्वकपको एसिया छनोटमा टिममा रहेको भएपनि एसिया कप र विश्वकपका लागि भने टिममा परेकी थिइनन् ।
जनवरी ३० देखि फेब्रुअरी ७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्ने छन् । नेपाली महिला टोलीको नेदरल्याण्ड्ससँग पहिलो अनुभव हुनेछ ।
पहिलो खेल जनवरी ३० मा नेपाल र नेदरल्याण्ड्सको बीचमा हुनेछ । त्यसैगरी नेदरल्याण्ड्स र थाइल्याण्डले ३१ जनवरीमा खेल्ने छन् भने फेब्रुअरी १ मा नेपाल र थाइल्याण्ड खेल्ने छन् । त्यसपछि ७ फेब्रुअरीसम्म लगातार सोही क्रमका खेलहरू हुनेछन् ।
यस ऐतिहासिक सिरिजले महिला क्रिकेट खेलाडीहरूलाई थप प्रेरणा तथा उत्साह थप्नुका साथै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई थाइल्याण्ड र नेदरल्याण्ड्सका दुई टोलीसँग प्रतिष्पर्धा गर्दै थप अनुभव हासिल गर्ने अवसर समेत प्राप्त गर्ने विश्वास क्यानले लिएको छ ।
प्रतिक्रिया 4