
१३ माघ, काठमाडौं । पुस २०७६ मा नेपाली इन्जिनियरहरूले नेपालमा डिजाइन गरेको र नेपालमै बनेको पहिलो विद्युतीय मोटरसाइकल (इलेक्ट्रिक बाइक) सार्वजनिक भयो । ‘यात्री’ ब्रान्डमा उत्पादन गरिएको यो इलेक्ट्रिक बाइकको उत्पादन नेपालको अटोमोबाइल क्षेत्रको एउटा ठूलो कोसेढुंगो थियो ।
नेपाली विद्युतीय बाइक निर्माता कम्पनी ‘यात्री मोटरसाइकल्स’ ले आफ्नो पहिलो बाइक ‘प्रोजेक्ट–जेरो’ (पी–०) सार्वजनिक गरेको थियो ।
नेदरल्यान्ड्सबाट उच्च शिक्षा अध्ययन सकेर फर्किएका इन्जिनियर असिम पाण्डेसहितको टोलीले तयार पारेको यो मोटरसाइकल नेपालमै बनेको पहिलो विद्युतीय मोटरसाइकल हो ।
असिम सहितको युवा टिमले दुई वर्ष बढी समय लगाएर यो परियोजना सफल बनाएका थिए । त्यसपछि यो कम्पनीले फरक डिजाइन सहितका विद्युतीय मोटरसाइकल नेपालमै उत्पादन गर्न थाले, जसले नेपाली युवाको मन जित्दै गयो ।
असिमको टिममा मेकानिकल इन्जिनियर कनिष्क सुवाल, अशेष श्रेष्ठ र सुलभ श्रेष्ठसहित सार्थक शर्मा, कृष्ण श्रेष्ठ, बत्सल पाण्डे परियोजनाका विकासकर्ता थिए ।
त्यसपछि ‘पोजेक्ट–वान (पी–१) इलेक्ट्रिक बाइक सार्वजनिक भएको थियो । हाल यात्रीका ८० मोटरसाइकलहरू नेपालको सडकमा दौडिरहेका छन् ।
नेपाली बजारमा ग्राहकले रुचाए पनि यात्रीले विभिन्न समस्या झेल्दै आएको थियो । नेपालमै दुई पाङ्ग्रे ईभीको ‘इनोभेसन’ त नेपाली युवाहरूले नै गरे तर यसलाई ठूलो मात्रामा व्यावसायिक उत्पादन गर्नु सानोतिनो कुरा थिएन ।
अब यी युवाहरूले गरेको इनोभेसनलाई व्यावसायिक उत्पादनमा लैजान ‘इन्भेस्टमेन्ट’ (लगानी) पनि जुटेको छः नेपालको अग्रणी अटो कम्पनी सिप्रदी ट्रेडिङले यो परियोजनालाई साझेदारी गर्दै अघि बढाउने भएको छ।
यी दुईको साझेदारीमा स्थापित ‘सिप्रदी यात्री प्रालि’ ले अब ‘यात्री’ का उत्पादनहरूको व्यावसायिक उत्पादन थाल्न भएको छ ।
तर, मोटरसाइकल होइन, स्कुटर । यात्रीले नेपालमा टाटा मोर्टसको आधिकारिक विक्रेता सिप्रदीसँगको सहकार्यमा स्कुटर सेग्मेन्टमा नयाँ उत्पादन ल्याउन लागेको हो ।
योसँगै सिप्रदी ट्रेडिङ कम्पनी अब दुई पाङ्ग्रे सवारीसाधनकाे उत्पादन र विक्रीवितरणमा प्रवेश गर्ने भएको छ । यात्री र सिप्रदीले नयाँ उत्पादनका लागि नाम गरेको कम्पनी दर्ता गरेर संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) मा काम गरिरहेको छ । प्राविधिक पक्ष, फिचर लगायत यात्री पक्षले हेर्छ भने बजारीकरण तथा निर्माणमा हुने सहयोग सिप्रदीले गर्ने सम्झौता छ ।
धमाधम हुँदैछ काम
यात्री डिजाइन स्टुडियोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) असिम पाण्डेका अनुसार नयाँ आउने स्कुटरका लागि तीन महिनादेखि निर्माणको काम भइरहेको छ ।
‘अहिले हामीले कस्तो स्कुटर नेपालका लागि सुहाँउदो हुन्छ भनेर निर्माण गरिरहेका छौं । तीन महिनादेखि इन्जिनियरिङ, प्राविधिक रूपमा काम भइरहेको छ,’ पाण्डेले अनलाइनखबरसँग भने ।
उनले सन् २०२५ भित्र नेपाली बजारमा नयाँ उत्पादन सार्वजनिक गर्ने लक्ष्य सहित काम भइरहेको बताए ।
‘नेपालका १ हजारभन्दा बढी मोटरसाइकल प्रयोगकर्तालाई कस्तो इलेक्ट्रिक बाइक, स्कुटर चाहिन्छ भनेर सोधेका थियौं । उहाँहरूले दिनुभएको सुझाव अनुसार हामीले अहिले निर्माणको काम गरिरहेको छौं,’ पाण्डेले भने ।
सिप्रदीका वरिष्ठ महाप्रबन्धक चिरन थापा नेपालमै बनेको यात्रीलाई अझै नेपाली भूगोल र बजार सुहाउँदो निर्माण गर्न सहकार्य गरेर अघि बढेको बताउँछन् ।
‘हामी यसअघि नेपाली बजारमा दुई पाङ्ग्रेमा प्रवेश गरेका थिएनौं तर यात्रीको इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीको योजना हेरेर अगाडि बढेका हौं,’ थापा भन्छन्, ‘नेपालमै उत्पादन भएको यात्रीको बजार विस्तार मात्रै होइन, यसले नेपाली अर्थतन्त्रमा पुर्याउने टेवा र नेपाली उत्पादन प्रवर्द्धन गर्नुपर्ने हाम्रो उद्देश्य हो ।’
थापाका अनुसार यात्री स्कुटरका लागि सिप्रदीको नेटवर्क पनि ठूलो सहयोग हुनेछ । ‘अहिले आएको इलेक्ट्रिक बाइक, स्कुटर कतै बिग्रिहाल्यो, बाटोमै रोकिए के गर्ने भन्ने आम उपभोक्तालाई धेरै चिन्ता देखिन्छ । तर आफ्नै चार्जिङ स्टेसनको नेटवर्क, वर्कसप, शोरुम नेटवर्कले पनि अब आउने यात्री स्कुटरका ग्राहकलाई सजिलो हुनेछ,’ उनले भने, ‘आफ्टर सेल्स सर्भिस (बिक्रीपछिको सेवा) मा पनि सिप्रदीको अटो पूर्वाधारको नेटर्वकले ठूलो काम गर्छ,’उनले भने ।
कस्तो आउँदैछ यात्री स्कुटर ?
थापाका अनुसार यात्रीसँगको सहकार्यमा आउन लागेको ‘यात्री’ स्कुटर नेपाली बजार अनुसार निर्माण हुँदैछ । ‘हामीले नेपाली उपभोक्ताको क्रयशक्ति, यहाँको औसत मोटरसाइकल, स्कुटर किन्न सक्ने क्षमता हेरेर निर्माण गर्दैछौं । यसका लागि उच्च प्रविधियुक्त ढंगले काम हुँदैछ,’ थापा भन्छन् ।
एक वर्षभित्र आउने अनुमान गरिएको यात्री स्कुटरको फिचरबारे यात्री डिजाइन स्टुडियोका सीईओ पाण्डे भन्छन्, ‘हामीले मोटरसाइकल उपभोक्तासँग गरिएको कुराकानी, उहाँहरूले देखाउनु भएको इच्छाबारे अध्ययन पनि गरेका छौं । अहिले जति पनि इलेक्ट्रिक बाइक, स्कुटरमा देखिरहेका समस्या हेरेर बनाउँदै छौं ।’
पाण्डेका अनुसार नेपालको बाटो अनुसार पावर र रेन्ज अब आउने यात्रीको उत्पादनमा हुनेछ ।
‘अहिले नेपालमा भएका इलेक्ट्रिक बाइक, स्कुटरमा उकालोमा नतान्ने, रेन्ज एकदमै कम, ग्राउन्ड क्लियरेन्स कम भएको भन्ने गुनासोहरू छ । ती सबैको सम्बोधन हुने गरी आउँदै छ,’ उनले भने ।
नयाँ प्रविधिसँगै नेपाली सडकमा कन्फिडेन्स दिने यात्री आउन लागेको पाण्डेको दाबी छ ।
‘नेपालको सडक हामी सबैलाई थाहा छ, खाल्डाखुल्डी, उकालो ओरालो छ । यस्तो अहिले इलेक्ट्रिक बाइक, स्कुटर राइडरहरू एउटा सहरबाट अर्को सहर जानका लागि कन्फिडेन्स छैन । यसको सम्बोधन हुने गरी अब हामी ल्याउँछौं,’ उनी भन्छ्न ।
उनले नेपाली उपभोक्तामा देखिएको इलेक्ट्रिक बाइक, स्कुटरको शंका निवारण गर्न सक्ने उत्पादन भइरहेको सुनाए । ‘अहिले नै हामीले यति नै मूल्य, यति रेन्ज भन्न सक्दैनौं । तर, अहिले नेपालमा चलिरहेका मध्ये उत्कृष्ट ल्याउने गरी प्राविधिक टिमले काम गरिरहेको छ,’ पाण्डेले भने ।
उनका अनुसार आफ्नै नेपाली उत्पादन, उत्कृष्ट इन्जिनियरिङ क्वालिटी र आकर्षक डिजाइन र आफ्टर सेल्स सर्भिसको सुविधाले नेपाली बजारमा अब आउने यात्रीको उत्पादनले छुट्टै पहिचान स्थापना गर्छ भन्ने अपेक्षा छ ।
पाण्डेले नेपाली उत्पादनको ट्रेडमार्क, पेटेन्ट राइट जस्ता कुरामा सरकारले नीतिगत सम्बोधन गर्नुपर्ने बताए । उनले उत्पादन बजारमा आएसँगै नीतिगत समस्या आउँदा हतोत्साहित हुने भन्दै सरकारले स्वउद्यमीलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
प्रतिक्रिया 4