+
+

कांग्रेस-एमालेको संयन्त्रबारे पार्टीमा गगनको प्रष्टीकरण : अतिरिक्त शक्तिकेन्द्र होइन

‘विगतमा पनि संयन्त्र बनेको थियो । तर, कांग्रेसले कहिलेपनि अतिरिक्त शक्तिकेन्द्रमा विश्वास गर्दैन । हामी सरकारलाई मद्दत गर्ने संयन्त्रमा विश्वास गर्छौं,’ बैठकमा थापाले धारणा उद्धृत गर्दै एक सांसदले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १३ गते १९:१२

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्तारुढ दुई दलबीचमा बनेको संयन्त्र नयाँ अतिरिक्त शक्तिकेन्द्र नभएको बताएका छन् । थापाले सरकारले गर्ने दैनिक कार्यमा संयन्त्रले चासो नराख्ने र मुख्यमुद्दामा साझा धारणा तयार गर्न योगदान गर्ने बताए ।

आइतबार बसेको संसदीय दलको बैठकमा महामन्त्री थापाले विगतमा पनि संयन्त्रको अभ्यास भएकोबारे सांसदहरूलाई स्मरण गराएका थिए

संयन्त्रले मुख्यगरी राजनीतिक दिशाका सन्दर्भमा रहेर कार्य गरिने थापाले बैठकमा जानकारी गराए ।

‘विगतमा पनि संयन्त्र बनेको थियो । तर, कांग्रेसले कहिलेपनि अतिरिक्त शक्तिकेन्द्रमा विश्वास गर्दैन । हामी सरकारलाई मद्दत गर्ने संयन्त्रमा विश्वास गर्छौं,’ बैठकमा थापाले धारणा उद्धृत गर्दै एक सांसदले भने ।

संघ, प्रदेश र स्थानीय तहसम्म गठन हुने गरी कांग्रेस र एमालेबीच संयन्त्र निर्माण गर्ने सहमति बनेको छ । केन्द्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा संयन्त्रमा छन् ।

सत्ताको नेतृत्व गरेको दल एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल संयन्त्रमा छन् । सरकार चलाउनका लागि संयन्त्र बनाउने कार्यको विगतदेखि आलोचना हुँदै आएको छ ।

संयन्त्रको औचित्यता माथि प्रश्न उठेपछि महामन्त्री थापाले पार्टीमा त्यसबारेमा जानकारी गराएका हुन् । महामन्त्री थापाले एक दलीय सरकार हुँदा सञ्चालनमा सहज हुने तर धेरै दल सहभागी भएको सरकारमा आफ्नै जटिलता हुने हुँदा साझा धारणा तय गर्ने मञ्च चाहिने उनले बताए ।

‘दुई वा दुईभन्दा धेरै दल मिलेर सरकार हुँदा साझा विषय बनाउनुपर्दछ । साझा दृष्टिकोण बनाउन त्यो छलफल गराउने कहाँ हो त ?,’ बैठकमा महामन्त्री थापाले भने, ‘कहिले कोसँग गठबन्धन हुन्छ । फेरि अर्को दलसँग बन्नपुग्छ । त्यसो हुँदा जिम्मेवारी कसैले नलिने भयो ।’

संयन्त्रको नेता प्रधानमन्त्री केपी ओली र पार्टी सभापति शेरबहादुर देउवा नै भएको थापाले बैठकमा बताएका थिए । थापाले साझा धारणामा बनाउन एमसीसीको बेलाको कार्य समेत स्मरण गराएका थिए । कांग्रेस र एमालेबीचमा हुने सहमतिलाई संस्थागत गर्ने माध्यम संयन्त्र भएको थापाको भनाइ थियो ।

संयन्त्रले गर्ने कार्यबारे जानकारी गराउँदै थापाले बैठकमा भने, ‘शान्ति प्रक्रियाको बाँकी रहेको काम कसरी टुंग्याउने ? अर्थतन्त्रमा के गर्ने ? वैदेशिक नीतिमा के गर्ने ? यस्ता ठूला–ठूला कुरा हुन्छन् । यस्तोमा साझा धारणा बनाउनुपर्दछ ।’

उनले थपे, ‘काम गर्ने सरकारले नै हो । सरकारले गर्ने काममा संयन्त्रले मद्दत गर्ने हो । सरकारले गरेको कामको स्वामित्व लिन्छ ।’ गठबन्धनको सरकार हुँदा सत्ताले गरेको कार्यको स्वामित्व लिन संयन्त्र आवश्यक हुने थापाको निचोड थियो ।

अध्यादेश र मन्त्रीहरूले गरेका कार्य बारेमा छलफल गर्न कांग्रेसले आज र भोलिका लागि संसदीय दलको बैठक बोलाएको छ । कानुन सुधार कार्यदलले दिएको सुझावका आधारमा सरकारको सिफारिस गरे अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पाँच अध्यादेश जारी गरेका छन् ।

कानुन सुधार कार्यदलमा कांग्रेसबाट सम्मिलित सदस्यहरु अधिवक्ता सेमन्त दाहाल र योजनाविद् प्रताप पौडेलले सुशासनका लागि कानुन सुधार गर्नुपरेका कारणबारे सांसदहरूलाई जानकारी गराएका थिए । बैठकमा महामन्त्री थापाले अध्यादेशमा कमजोरी रहे संशोधनका लागि ठाउँ बाँकी नै रहेको बताएका थिए ।

उनले भने, ‘सरकारले विधेयक ल्याउँदा कमजोरी भयो भने हामी संशोधन हाल्ने जिम्मेवारी हौं । अध्यादेशमा कुनै संशोधन आवश्यक परे हामी स्वतन्त्र छौं । कानुनी बाटो छँदैछ । कन्टेन्टमा केही समस्या रहे छलफल बहस गरौं ।’

समस्या छ भनेर बाहिर भन्दै हिँड्ने तर संशोधन हाल्ने बेला दायित्व नभुल्न उनले सुझाव दिएका थिए ।

गृहमन्त्री रमेश लेखकले अध्यादेशमा त्रुटी रहेको भए प्रतिस्थापन विधेयकमा सच्चिएर आउने जानकारी गराए । बैठकपछि प्रतिक्रया दिँदै सांसद रामहरि खतिवडाले माओवादी केन्द्र र एमाले सरकार हुँदा ल्याएको लगानी सम्बन्धी अध्यादेश पारित गर्न कांग्रेसले सहयोग गरेको बताए ।

सोमबारको बैठकमा सांसदहरूले आफ्ना धारणा राख्ने र उनीहरूको जिज्ञासको जवाफ मन्त्रीहरूले दिने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?