+
+

१६औं शताब्दीको इखा पोखरी पुनर्निर्माण सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १३ गते १४:५५

१३ माघ, काठमाडौं । इखा पोखरी पुनर्निर्माण गर्न आइतबार शिलान्यास भएको छ । काडमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर र सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगतले पुनर्निर्माण कार्य शिलान्यास गरे ।

महानगरका अनुसार ३ करोड ६४ लाख रुपैयाँमा इखा पोखरी पुनर्निर्माणको काम सकिने छ । पोखरीको क्षेत्रफल करिब साढे ७ रोपनी भए पनि करिब ६ रोपनी क्षेत्रफलमा पानीको भाग हुने महानगरले जनाएको छ ।

पानीको भागभन्दा बाहिर वरिपरि २ मिटरको पैदल मार्ग हुनेछ । पुनर्निर्माण गर्दा आकासे पानी जम्मा हुने प्रणाली बनाइने महानगरले जनाएको छ । यसका लागि महानगरले ११ माघमा निर्माण पक्षसँग सम्झौता गरिसकेको छ ।

के हो इखा पोखरी ?

महानगरपालिकाले २०३६ सालमा तयार पारेको अभिलेखमा इखा पुखु ज्यादै फोहोर अवस्थामा रहेको उल्लेख गरिएको छ । त्यसमा भनिएको छ, ‘चारैतिर पर्खाल बनाइ फोहर पानी निकासको प्रबन्धद्वारा बाहिर पठाइ पुनः सफा गरी भरिदिएमा पोखरीको महत्त्व एवं सौन्दर्य निकै बढ्ने देखिन्छ ।’

यसबाट बुझ्न सकिन्छ, त्यसबेला पोखरीमा पानी थियो तर फोहर थियो । अभिलेख अनुसार पोखरीको लम्बाइ २ सय १० फिट र चौडाइ ९२ फिट हो । यसको निर्माण १६औं शताब्दीमा भएको थियो ।

महानगरका अनुसार इखा पोखरीको पानीले धुँदा आँखामा भएको रोग निको हुन्छ भन्ने जनविश्वास छ । प्रयोगबाट विकास भएको यो जनविश्वासलाई सूक्ष्म रूपमा हेर्ने हो भने पानीमा पाइने तत्व, यसको वातावरणीय सम्बन्ध प्राकृतिक भएको मान्न सकिन्छ । इखा पोखरी र बाङ्गेमुढामा भएको इखानारायणको मन्दिर अन्तरसम्बन्धित रहेको मानिन्छ ।

पछिल्लो समयमा पानी सुकेर मैदानजस्तो मात्रै अवस्थामा रहेको इखा पोखरीलाई महानगरले पुनर्निर्माणको काम थालेको हो ।

‘सहरी विकासका क्रममा जल प्रणालीको मुहान, पानीको भण्डारण प्रणाली तथा निकासको उचित व्यवस्थापन नहुँदा पोखरीहरू सुक्दै जाने क्रम बढ्यो । यसरी सुकेका पोखरीमध्ये कति वटा पुरिए, पुरिएकामध्ये कतिमा भौतिक संरचना बनाइए, कतिवटा मैदान बनेर रहेका छन्,’ महानगरको अभिलेखमा छ ।

शिलान्यासमा उपप्रमुख डंगोलले जल प्रणाली (ब्लु ल्यान्डस्केप) को पुनस्र्थापनालाई प्राथमिकतामा राखिएको बताइन् ।

महानगरका सम्पदा तथा पर्यटन समितिका संयोजक संगतका अनुसार उपत्यकाका पोखरी बनाउँदा बसोबास र पेसा आधार मानेर बस्तीको सिरानमा, मध्य भाग र पुछार गरी तीन किसिमका पोखरी बनाइएको पाइन्छ ।

‘वर्षातमा पानीको भेल बस्तीमा नजाओस्, आवश्यक परेका बेला सिँचाइ गर्न सकियोस् भन्नका लागि पोखरी खनिन्थे । बस्तीमा बनाइएका पोखरीमा पानी जम्मा गरेर जमिन पुनर्भरण गर्ने, पशुपालन जस्ता कामका लागि बनाइएका पाइन्छन्,’ उनले भने ।

सहरीकरणले क्षय भएका नदी, पोखरी, तलाउ, धारा लगायत पानीजन्य प्रणाली थप नासिन नदिन, क्षय हुन नदिन महानगरले गौरव आयोजना अन्तर्गत ‘सबैको चाहना, ढुङ्गेधारा, हिटी र पोखरीको पुनस्र्थापना’ कार्यक्रम र गौरव योजना अन्तर्गत ‘ढुङ्‍गेधारा, हिटी र पोखरी संरक्षण’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?