१३ माघ, काठमाडौं । नेपाली राष्ट्रिय टिम तथा न्युरोड टिम (एनआरटी) का फरवार्ड अन्जन विष्टले दशरथ रंगशालमा खेल्न पाउनु भाग्यको कुरा भएको बताएका छन् ।
सभापित कप अन्तर्गत आइतबार भएको खेलमा एनआरटीले फ्रेण्ड्सलाई ३-१ ले हराउँदै सेमिफाइनल प्रवेश गरेपछि अन्जनले यस्तो बताएका हुन् । ‘सर्वप्रथम दशरथ रंगशाला खेल्न पाउँदा नै म त भाग्यमानी ठान्छु,’ उनले खेलपछि लाइभ ब्रोडकास्टरसँग भने, ‘रेगुलर लिग भयो भने त झन् सबै खेलाडीहरु धेरै खुशी हुन्छ । त्यसमा गोल हान्दा यसको वर्णन गर्न सक्दिन ।’
अन्जनले दुई गोल गरेपछि एनआरटीले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
लिग फुटबल नभइरहेका बेला हुने यस्ता किसिमको नकआउट फुटबल प्रतियोगिता हुनु राम्रो भएको र यसले खेलाडीहरुले खेल्ने अवसर पाउने अन्जनले बताए । ‘फुटबल नहुँदा पनि यत्तिको प्रतियोगिता हुनु फुटबल खेलाडीको लागि राम्रो कुरा हो । यो प्रतियोगिताले राहत मिलेको छ । कति खेलाडीले यहाँ खेल्न पाएका छन् ।’ अन्जनले भने, ‘रेगुलर लिग हुन सक्यो भने अझ राम्रो खेलाडीहरु निस्कन्छ ।’
अन्जनले दशरथ रंगशालमा खेल्नु नै आफ्नो लागि ठूलो उपलब्धी भएको र त्यसमा जित हात पार्दा अझ खुशी लागेको बताए । ‘दशरथ रंगशालमा खेल्नु मेरो लागि ठूलो उपलब्धी हो । त्यसमा आफ्नो टिमलाई लिड गरेर जिताउनु भनेको झन् राम्रो हो । टिममा नयाँ भाईहरु थपिएको छ । यसले झन् उर्जा दिन्छ ।’
उनले पहिलो खेल जहिले पनि गाह्रो हुने र अब आगामी खेलमा अझ राम्रो प्रदर्शन गर्ने बताए ।
प्रतिक्रिया 4