
काठमाडौं । काठमाडौंमा हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको राष्ट्रिय प्रतिस्पर्धा विधाबाट ‘भूठान’लाई हटाइएको छ । यो फिल्मको ठाउँमा ‘सानो संसार’लाई छनोट गरिएको आयोजकले जनाएको छ ।
भूठान’का निर्माताले सबैलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि सो फिल्मलाई महोत्सवबाट हटाइएको जारी विज्ञप्तिमा उल्लेख छ । हरिवंश आचार्य अभिनित फिल्मलाई हटाएपछि निर्माताले रिक्त ठाउँमा नयाँ फिल्मको लागि आवेदन मागेका थिए ।
चैत ७ गतेदेखि ११ सम्म काठमाडौंमा आयोजना हुने महोत्सवमा ४० देशका ८७ फिल्म देखाउने तयारी रहेको आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।
फेस्टिभलको लाइनअपअनुसार वर्ल्ड पानोरमा विधा (अन्तर्राष्ट्रिय प्रतिस्पर्धा)मा नेपालको ‘शाम्बाला’, भारतको ‘रुक्मिणी’, चीनको ‘स्ट्रेन्जर्स ह्वेन वी मिट’सहित १२ फिल्म मनोनयनमा छन् ।
अन्तर्राष्ट्रिय डकुमेन्ट्री विधाको प्रतिस्पर्धामा नेपालको ‘हिमालयन ड्रिम्स’सहित अमेरिका, भारत, बंगलादेश, बेल्जियम, चिली, न्यूजिल्याण्डका ९ फिल्म छनोट छन् ।
छोटो फिल्मको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा ३२ फिल्म छन् । यो विधामा मलेसियाको ‘चाइना बिस्ट’, अस्ट्रेलियाको ‘ड्रिम लिंक’, चीनको ‘अ इयर अपार्ट’ लगायत छन् ।
पहिलोपटक निफले आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतमा बनाइएका फिल्मको प्रतिस्पर्धात्मक विधा समेत समावेश गरेको छ । ‘एआई फिल्म्स’ नाम दिइएको यो विधामा चीनको ‘एभ्री हेजिसटेसन अफ योर्स क्यान डिस्ट्रोय द वर्ल्ड’, अर्जेन्टिनाको ‘द एबिस’, फ्रान्सको ‘गोल्ड कास्टिङ’, पेरुको ‘द ड्रिम, द फग एन्ड द रेन’ र अमेरिकाको ‘मब पार्ट १’ छन् ।
ओपनिङ र क्लोजिङ फिल्म तय हुन बाँकी छ ।
प्रतिक्रिया 4