
काठमाडौं । यस्तो लाग्छ जहाँ दिनेश डीसी त्यहाँ दीपकराज गिरी र जितु नेपाल । यी दुई अभिनेता डीसीलाई गुरु मान्छन् । डीसी बोर्ड अध्यक्ष हुँदा पनि यी दुई कलाकारलाई लड्डु खुवाउँदै गरेको बेला देखिएको थियो ।
आइतबार बेलुका पनि यी तीन जनालाई एकसाथ देखियो । डीसीलाई छेउमा राखेर मिडियाकर्मीले दीपक र जितुलाई कहिले मिल्ने भन्दै प्रश्न वर्षाए । आफूहरूलाई अहिले पनि सँगै फिल्म गर्न प्रस्ताव आइरहेको बताउँदै दीपकले जितुसँग फिल्म गर्न आपत्ति नहुने जवाफ दिएको बताए ।
‘म त भन्छु यसको लागि यसको लागि धेरै समय कुर्नुपर्दैन’ भविष्यमा दुईजनाको सहकार्य कति सम्भव छ भन्ने प्रश्नमा दीपकले भने, ‘तपाईंलाई जितुसँग फिल्म खेल्न आपत्ति छ कि छैन भनेर प्रस्ताव आउने गर्छ । मैले किन आपत्ति हुनु भनेको छु ।’
जितुलाई पनि सोधियो- झगडाबाट के पाउनुभयो, के गुमाउनुभयो ? जितुले हाँस्दै जवाफ दिए– (हाँस्दै) गुमाउन त २ वटा फिल्म गुमाइयो नि । अहिले उहाँले बोलिरहँदा म मनमनै भावुक बनेँ । यति विद्धान साथीसँग म २ वर्ष कसरी अलग बसेँ ?’
दीपकले जितु र आफ्नो संघर्षका दिन सम्झिए । जितु सिन्धुपाल्चोकबाट खाली खुट्टा काठमाडौंमा आएर संघर्ष गरेको र आफू दहचोकबाट खाली खुट्टै आएको संघर्षका दिन दीपकले सम्झिए । ‘त्यतिबेला कहाँ बस्ने र के खाने समस्या हुन्थ्यो’ उनले भने ।
जितु र दीपक बोलिरहेको सुनेका बोर्ड अध्यक्ष तथा निर्देशक डीसीले २ वर्षपछि आफू बोर्डको अध्यक्षबाट हट्दा एक फिल्म निर्माणको घोषणा गर्ने र यो फिल्मको कलाकारमा दीपक र जितु हुने बताए । डीसीले भने, ‘दुई वर्षपछि जतिबेला म चलचित्र विकास बोर्डको अध्यक्षबाट हट्छु, त्यसबेला मैले फिल्म अनाउन्स गर्छु । त्यसबेला यी दुईजना हुन्छन् । त्यतिबेला उनीहरूले नाईं पनि भन्न सक्दैनन् ।’
प्रतिक्रिया 4