+
+

प्रदेश सरकारमा एमाले नेतृत्वको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि

एमालेबाट सरकारको नेतृत्व भएको लुम्बिनी र कर्णालीमा कांग्रेसका नेताहरूले असन्तुष्टि जनाएका छन् । लुम्बिनीमा चेतनारायण आचार्य र कर्णालीमा यामलाल कँडेल मुख्यमन्त्री छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १४ गते १४:१३
कांग्रेस कर्णालीका संसदीय दलका नेता जीवनबहादुर शाही र लुम्बिनी सभापति अमरसिंह पुन

१४ माघ, काठमाडौं । नेकपा एमालेले नेतृत्व गरेको प्रदेश सरकारप्रति सत्ताको सहयात्री दल नेपाली कांग्रेसले असन्तुष्टि जनाउन थालेको छ ।

संघमा कांग्रेस र एमालेको सत्ता गठबन्धन गर्ने सहमति बनेसँगै प्रदेशमा पनि भागबन्डा गरिएको थियो । दुई दल मिलेर प्रदेश सरकार बनाउँदा कोशी, लुम्बिनी र कर्णालीमा एमालेको नेतृत्वमा सरकार बनेको छ ।

कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकार बनाएको छ ।

मधेशमा भने कांग्रेस र एमालेको समर्थनमा जनमत पार्टीको नेतृत्वको सरकार छ ।

एमालेबाट सरकारको नेतृत्व भएको लुम्बिनी र कर्णालीमा कांग्रेसका नेताहरूले असन्तुष्टि जनाएका छन् । लुम्बिनीमा एमालेका चेतनारायण आचार्य र कर्णालीमा यामलाल कँडेल मुख्यमन्त्री छन् ।

ती प्रदेशमा सत्ता गठबन्धनको मर्म र भावना अनुसार सरकारको नेतृत्व गरेको दलले व्यहार नदेखिएको प्रदेश नेताहरूले बताए ।

लुम्बिनीका कांग्रेस सभापति अमरसिंह पुनले गठबन्धनको मर्म र भावना अनुसार जसरी प्रदेश सरकार चल्न नसकेको अनलाइनखबरसँग बताए ।

आफ्नो अनुकूलता र तरिकाले एमालेले सरकार चलाएको पुनले आरोप लगाए ।

‘कांग्रेस एमालेको गठबन्धन हुने र जनताले केही गरेन भन्ने अवस्था हुनुभएन । व्यक्ति कहाँ, के भन्ने प्राथमिकताको कुरा होइन,’ पुनले भने, ‘जनताले प्रदेश सरकार साँच्चै चलायमान भएको देख्न पाउनुपर्‍यो । घर–गाउँ नजिकको सरकार चाहिने जनतालाई देखाउनुपर्‍यो ।’

लुम्बिनीमा १२ सदस्यीय मन्त्रिपरिषद्‌मा कांग्रेसबाट पाँच मन्त्री छन् ।

प्रदेशमा मन्त्रीहरूको प्रभावकारितालाई लिएर समेत कांग्रेस असन्तुष्ट देखिएको छ । लुम्बिनीको कांग्रेस सांसद नीमा गिरीले बजेट कुद्नुपर्नेमा मन्त्रीहरूको गाडी मात्रै कुद्ने कार्य भएको बताइन् ।

मुख्यमन्त्री र मन्त्रीहरुको कार्यसम्पादनको अवस्थाबारे उनले प्रश्न गरिन् ।

गिरीले भनिन्, ‘मुख्यमन्त्रीसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता अनुसार कति काम भएको छ ? कार्यसम्पादन करार अनुसार कति प्रतिशत काम मन्त्रीहरुले गर्नुभएको छ ? के के विषयमा काम गर्नुभएको छ?’

एमालेको नेतृत्वमा रहेको कर्णालीमा समेत कांग्रेस असन्तुष्ट देखिएको छ ।

कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णालीका मुख्यमन्त्री कँडेलले सरकारको गति बढाउनुपर्ने टिप्पणी गरे । कर्णालीमा कांग्रेसका चार मन्त्री छन् ।

कर्णाली प्रदेश सरकारले अहिलेको गतिमा काम गरेर नहुने शाहीको निचोड छ । पूर्वमुख्यमन्त्री समेत रहेका शाहीले सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै भने, ‘अहिलेकै अवस्थामा जसरी सरकारले काम गरेर हुँदैन । क्याबिनेट कहिले बस्ने हो भन्ने समेत ठेगान छैन । मन लागे बस्ने नत्र कसैलाई वास्ता छैन जस्तो देखिन्छ ।’

शाही मुख्यमन्त्री र मन्त्रीहरूको कार्यसम्पादन प्रति असन्तुष्टि जनाएका छन् । अनलाइनखबरसँग कुरा गर्दै शाहीले मन्त्रीहरू कोही कसैलाई नटेर्ने भएको आरोप लगाए ।

शाहीले भने, ‘अब सबै मन्त्रीहरूलाई काम लगाउने, कन्ट्रोल गर्ने काम मुख्यमन्त्रीज्यूको हो । उहाँले नै अलि स्पिडमा हिँडाउनुपर्छ । अहिले चलेकै अवस्थामा सरकार चलाउन सकिँदैन ।’

शाहीले मन्त्रीहरूको कार्यसम्पादन समेत प्रभावकारी नभएको गुनासो गरे । कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको समेत कार्यसम्पादन कमजोर देखिएको उनको भनाइ छ ।

शाहीले एमाले र कांग्रेसले मात्रै संसदीय दलको नेतृत्व लिनुपर्ने एमालेको जोडप्रति आपत्ति जनाएका छन् । चार वटा समिति चार दललाई बाँड्न उपयुक्त हुने शाहीले बताए ।

‘एउटा समितिको नेतृत्व एकीकृत समाजवादीका साथीले नेतृत्व गरिरहनु भएको छ । सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी माओवादी केन्द्रलाई दिउँ,’ शाहीले भने, ‘बाँकी रहेका दुई वटामा समिति सामाजिक विकास समिति कांग्रेसले लिन्छ । अर्थ समिति एमालेलाई दिनुहोस् भनेको छु । बहुमतको हुर्मत देखाएर सबै आफैंले लिनुपर्छ भन्ने छ जस्तो पनि मलाई लाग्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?