आजकाल धेरैजसो मानिसलाई घुँडा दुख्ने समस्या भएको पाइन्छ । घुँडा दुख्ने विभिन्न कारण हुन्छन् । त्यसमध्ये उमेरका कारण हड्डी खिइँदा (ओस्टियोआर्थराइटिस) दुख्ने हुन्छ, जसका लागि औषधि खाने, अभ्यास तथा थेरापीहरु गर्ने, जीवनशैली परिवर्तन गरेर निको पार्ने प्रयास गरिन्छ ।
धेरैजसो अवस्थामा यो ठीक पनि हुन्छ । तर, कहिलेकहीँ घुँडाको दुखाइ यति जटिल भइदिन्छ कि बिरामीले शारीरिक अभ्यास (एक्सरसाइज) नै गर्न सक्दैनन् अथवा औषधि पनि साइडइफेक्टका कारण प्रयोग गर्न सक्दैनन् । कति बिरामीको त विभिन्न जोखिमका कारण घुँडाको शल्यक्रिया नै गर्न नमिल्ने अवस्था हुन्छ । यस्तो अवस्थामा इन्टरभेन्सनल पेन म्यानेजमेन्ट विधि अपनाइन्छ ।
के हो इन्टरभेन्सनल पेन म्यानेजमेन्ट ?
यसमा सबैभन्दा पहिले दुखाइका कारण के हुन् भनेर पहिचान गरिन्छ । घुँडा दुखाइकै उदाहरण लिनुपर्दा घुँडा भनेको शरीरको ठूलो संरचना मध्येको एक हो, जहाँ जोर्नी हुन्छ । मांसपेशी तथा लिगामेन्ट हुन्छन् । हामी अल्ट्रासाउन्ड अथवा एमआरआई गरेर घुँडा दुखाइको कारण पत्ता लगाउँछौं, त्यसपछि विभिन्न इन्जेक्सनमार्फत् लक्षित उपचार गर्छौं । यदि पानी जमेको हो भने पानी सुकाउने औषधि दिइन्छ । मांसपेशी या लिगामेन्ट च्यातिएको हो भने त्यसलाई परिवर्तन गर्ने विधि प्लाज्मा थेरापी अपनाइन्छ । सुन्निएको छ भने इन्टरभेन्सनल पेन थेरापीजस्तै रेडियो फ्रिक्वेन्सी ओभुलेसनजस्ता विधि अपनाएर घुँडाका दुखाउने नसाहरुलाई निष्क्रिय गरिन्छ, जुन दीर्घकालीन पनि हुन्छ ।
अझै स्पष्ट रुपमा भन्नुपर्दा इन्टरभेन्सनल पेन म्यानेजमेन्ट भनेको रोग पत्ता लगाएर निश्चित लक्षित क्षेत्रमा उपचार गर्ने विधि हो । लामो समयदेखि दुखाइ सहेर बस्दै आएका बिरामीको दुखाइ व्यवस्थापन गर्न अपनाइने आधुनिक पद्धति नै इन्टरभेन्सनल पेन म्यानेजमेन्ट हो । यो विधि पछिल्ला वर्ष विश्वभर नै लोकप्रिय भइरहेको छ ।
परम्परागत पद्धतिअनुसार औषधि खाएर, जीवनशैली परिवर्तन गरेर, शारीरिक अभ्यासजस्ता विधि अपनाउँदा पनि दुखाइ कम भएको छैन भने यसको भूमिका त्यतिखेर हुन्छ । खासगरी दुखाइ कम्तिमा ३ महिनादेखि निको भएको छैन, रोग नै पत्ता लागेको छैन, औषधिको साइडइफेक्टका कारण दुखाइ कम भइरहेको छैन या शल्यक्रियापछि पनि कम भएको छैन भने यस्तो अवस्थामा यो पद्धतिमार्फत् रोग पहिचान गर्दै उपचार गरिन्छ । इन्टरभेन्सनल पेन म्यानेजमेन्टमा के जोखिम हुन्छ ? इन्जेक्सन लगाउने भन्नेबित्तिकै धेरैजसो मानिस डराउँछन् ।
तर, इन्जेक्सन कहाँ लगाउने र कति जटिल अंग या क्षेत्र हो, जोखिम पनि त्यसअनुसार घटी–बढी हुन्छ । जस्तो, गर्धन तथा मेरुदण्डको दुखाइका लागि इन्जेक्सन लगाइन्छ भने त्यस्तो अवस्थामा सावधान हुनैपर्छ । इन्जेक्सनको निडल गलत ठाउँमा पर्यो भने त्यसले अरु जटिलताहरु पनि निम्त्याउन सक्छ । त्यस्तो नहोस् भनेर एक्स–रे, अल्ट्रासाउन्ड या सीटी स्क्यानको मद्दतबाट सुइलाई लक्षित स्थानमा पुर्याएर औषधि हालिन्छ ।
त्यसैले कुनैपनि उपचारमा जोखिम जहिले पनि हुन सक्छ । तर, जोखिम कम गर्न प्रविधिहरुको सही प्रयोग गर्नुपर्छ । विशेषगरी पेन म्यानेजमेन्ट मुटुको समस्या भएका, प्यारालाइसिस भएका, अन्य जोखिमका कारण शल्यक्रिया गर्न नमिल्ने र वयोवृद्धहरुका लागि निकै सुरक्षित हुन्छ ।
दीर्घकालीन दुखाइ आफैँमा एउटा रोग हो । जबसम्म दुखाइको समाधान हुँदैन, यसले भौतिकरुपमा मात्र नभएर मानसिक र अरु धेरै किसिमका जटिलता निम्त्याउन सक्छ । र, दुखाइ दीर्घकालीन र जटिल हुँदै गएको छ भने यो आफैँमा रोग पनि हो । तर, यसको उपचार सम्भव हुन्छ । विभिन्न परीक्षण विधिबाट रोग पत्ता लगाएर इन्जेक्सनमार्फत् उपचार गरे निको हुन्छ ।
तर, कसै–कसैले एक पटक इन्जेक्सन लगाएपछि सधैंभरि लगाइराख्नुपर्छ भन्ने सोच्नुहुन्छ । तर, त्यसो होइन । दुखाइको कारण यकिन भएको छ, कहाँ समस्या छ भनेर पहिचान पनि भइसकेको छ भने एउटै इन्जेक्सनले पनि रोग निको हुन्छ । समस्या पत्ता लागेको अवस्थामा धेरै इन्जेक्सन लगाइराख्नुपर्ने आवश्यकता हुँदैन । समस्या पत्ता नलागेको अवस्थामा त दुखाइ कम हुँदैन, औषधि पनि बढ्दै जान्छ र बिरामीले दुःख पाउने स्थिति रहन्छ । त्यसैले दुखाइ सहेर कुनै फाइदा छैन, त्यसका लागि नर्भिक अस्पतालमा इन्टरभेन्सनल पेन म्यानेजमेन्ट विधिद्वारा अत्याधुनिक उपचार सुविधा हामीले दिँदै आएका छौं ।
(डा. श्रेष्ठ नर्भिक इन्टरनेशनल अस्पतालकी कन्सल्टेन्ट पेन फिजिसियन हुन् । )
प्रतिक्रिया 4