
काठमाडौं । ९६ औं अस्कर अवार्डमा नेपालबाट सिफारिस फिल्म ‘हल्कारा’ ओटीटीमा रिलिज भएको छ । नेपाली ओटीटी प्लाटफर्म एमएसएममा सोमबारदेखि स्ट्रिमिङ सुरु भएको हो ।
गतवर्ष स्वदेशी हलमा रिलिज भएको फिल्मले उत्कृष्ट समीक्षा प्राप्त गरेको थियो । अमेरिकाको लस एन्जलसमा आयोजित एसियन वर्ल्ड फिल्म फेस्टिभलमा समेत छनोट भएको थियो ।
५५औँ वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट फिल्मसँगै महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड जितेका थिए ।
हलमा रिलिज भएपनि ओटीटीमा हेर्न रुचाउने दर्शकमाझ फिल्मलाई लिएर पर्खाइ थियो । यो फिल्मले एक हुलाकीको कथा भन्छ जसलाई गाउँमा चिठी पुर्याउनु छ । महेश त्रिपाठी र बिनिता थापाको शीर्ष भूमिका रहेको फिल्मलाई विक्रम सापकोटाले निर्देशन गरेका हुन् ।
फिल्ममा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय छ । यो फिल्म कालिपार स्टुडियोको निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो ।
प्रतिक्रिया 4