+
+

कांग्रेस बैठकमा मन्त्रीमाथि प्रश्न: ‘मन्त्री मुस्कुराउने, सेवाग्राही रुने अवस्था किन ?’

संसदीय बैठकको बैठकमा बोलेका अधिकांश सांसदले कांग्रेस र एमाले मिलेर बनेको बलियो सरकारले पनि काम गर्न नसके जनतामा अझ निराशा बढ्ने चिन्ता व्यक्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १४ गते १९:४८
Photo Credit : तस्वीर : रासस ।
नयाँबानेश्वरस्थित ल्होत्से हलमा साेमबार बसेको कांग्रेस संसदीय दलको बैठक ।

१४ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा गएका मन्त्रीहरूको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् ।

दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि जनतालाई ‘डेलिभरी’ दिन नसके जनतामा निराशा अझ बढ्ने भन्दै सांसदहरूले यसबारे मन्त्रीहरूको जवाफ मागेका छन् ।

‘पार्टीबाट सरकारमा गएका अधिकांश मन्त्रीका काम प्रभावकारी भएनन् भन्ने धेरै सांसदहरूले गुनासो गर्नुभएको छ,’ नयाँबानेश्वरस्थित ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठक आजको बैठकमा सहभागी एक सांसदले अनलाइनखबरसँग भने, ‘मन्त्रीहरूले आफ्नो आफ्नो क्षमता बढाउनुपर्ने र काममा केन्द्रित हुनुपर्ने आवश्यकता छ भन्ने कुरा आएको छ ।’

यस्तै, अधिकांश मन्त्रीहरूले मन्त्रालयको जिम्मेवारीमा भन्दा उद्घाटन र समापनका कार्यक्रममा व्यस्त हुने गरेको भन्दै केही सांसदले आलोचना गरेका थिए ।

आजको बैठकमा १७–१८ सांसदले धारणा राखेको प्रमुख सचेक श्याम घिमिरले जानकारी दिए । उनले सरकारमा गएका मन्त्रीहरूका कार्यसम्पादन, सरकारले हालै ल्याएका अध्यादेशलगायतका विषयमा केन्द्रित भएर छलफल भएको बताए ।

बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राज्य व्यव्यवस्था तथा सुशासन समितिका सभापति रहेका रामहरि खतिवडाले बैठकमा मन्त्रीहरूको प्रभावकारिताको विषयमा छलफल भएको बताए ।

‘केही सांसद्हरूले मन्त्रीहरूको प्रभावकारिताको विषयमा कुरा राख्नुभयो । मुस्कानसहितको सेवा दिने भन्ने अनि मन्त्री मात्र मुस्कुराउने सेवाग्राही रुँदै हिड्नुपर्ने अवस्था छ भनेर मैले पनि कुरा राखें, अरुले पनि राखेका छन्,’ सांसद खतिवडाले भने ।

बैठकमा सांसदहरूले सरकारले ल्याएको अध्यादेशका विषयमा पूर्वजानकारी र पर्याप्त छलफल हुन नपाएको भन्दै गुनासो पनि गरेका थिए । अध्यादेश ल्याउनुअघि आफ्नै पार्टीका मन्त्रीहरूले पनि सांसद्हरूसँग किन छलफल नगरेको भन्दै यसबारे मन्त्रीहरूले जवाफ दिनुपर्ने कुरा उठेको उनले बताए ।

‘देशमा निराशा बढिरहेका बेला दुई ठूला दल मिलेर बनेको सरकारले पनि केही गर्न नसके निराशा चुलिने सांसदहरूको भनाइ थियो,’ एक सांसदले भने ।

बैठकको अन्तिममा पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबारको बैठकका बाँकी सांसदका कुरा सुनेपछि मन्त्रीहरूले जवाफ दिने भन्दै सांसदहरूसँग समन्वय कायम गरेर सरकारका कामलाई प्रभावकारी बनाउन मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?