
१४ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पार्टी नेतृत्वले आफ्ना सांसदहरूलाई मन्त्रीहरूविरुद्ध बोल्न वा लेख्न नदिने प्रयास उचित नरहेको बताएका छन् ।
संसदीय दलको बैठकमा बोल्दै उनले सांसदहरू पार्टीका अधीनस्थ नभई जनताका सार्वभौम प्रतिनिधि भएको बताएका हुन् ।
सांसद बजगाईंले बेलायतको उदाहरण दिँदै भनेका छन्, ‘पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनले एक स्वास्थ्य उपकरण आपूर्तिकर्तालाई रात्रिभोजमा घुसाएको कारण आफ्नो स्वास्थ्यमन्त्रीलाई पदमुक्त गरेका थिए । क्यामरुनले कैयौं मन्त्रीहरूलाई बर्खास्त गर्दै नैतिक शासनप्रति आफ्नो प्रतिबद्धता देखाए । जुन कुरा नेपालका नेताहरूले सिक्न आवश्यक छ ।’
बजगाईंले विभिन्न विवाद र भ्रष्टाचारका आरोपहरूबारे सरकारमा रहेका र नरहेका सबैले प्रष्ट पार्नुपर्ने बताए । आफ्नो पार्टीका सभापति शेरबहादुर देउवा लोकतान्त्रिक मूल्यहरूबारे गहिरो गरी जानकार रहेको उल्लेख गर्दै उनले त्यस्ता सभापतिबाट बोल्नै रोकिनु अपेक्षा नगरिएको बताए ।
पार्टी नेतृत्वको आन्तरिक गुनासाहरू केवल पार्टी फोरममै सीमित गर्नुपर्ने धारणा पनि गलत रहेको बजगाईंको टिप्पणी छ । नेतृत्वको आलोचना गर्न नपाइने अभ्यास कम्युनिस्ट पार्टीहरूमा हुने गरेको उल्लेख गर्दै उनले त्यसको सिको कांग्रेसजस्तो लोकतान्त्रिक दलमा नहुने धारणा राखे ।
प्रतिक्रिया 4