+
+

हुम्लामा १५ घण्टा लोडसेडिङ

नरजन तामाङ नरजन तामाङ
२०८१ माघ १४ गते २१:०९

१४ माघ, हुम्ला । ०६५ साल जेठ १४ गतेबाट सञ्चालनमा आएको हिल्दुम वितरण केन्द्रले दैनिक रुपमा अघोषित लोडसेडिङ गरेपछि हुम्लाका सेवाग्राही मारमा परेका छन् । हरेक दिन १५ घण्टाभन्दा बढी विद्युत कटौती गरेपछि जिल्लाका २ हजार ५६६ सेवाग्राही प्रत्यक्ष मारमा परेका हुन् ।

लामो समय विद्युत कटौती गरेपछि जिल्लाभित्रका सरकारी कार्यालय, गैहसरकारी कार्यालय, स्थानीय बासिन्दा, उद्योगधन्दा, सञ्चारकर्मी, बजारका उपभोक्ता मारमा परेका छन् ।

हिल्दुम वितरण केन्द्र हुम्लाले दैनिक रुपमा अघोषित लोडसेटिङ गरेपछि बजार क्षेत्र, गाउँघर उद्योग व्यवसाय, जिल्लाका अधिकांश कार्यालय प्रत्यक्ष मर्कामा परेको सिमकोट गाउँपालिका-५ का कर्णसिहं रोकया गुनासो गरे ।

उनले भने, ‘हिल्दुम वितरण केन्द्र हुम्लाले दैनिक रुपमा अघोषित लोडसेटिङ गर्‍यो। जसका कारण यहाँको बजार क्षेत्र, गाउँघर उद्योग व्यवसाय, जिल्लाका अधिकांश कार्यालय प्रत्यक्ष मारमा पर्‍यो नै।  हामी उपभोक्ता त झनै मारमा पर्‍यौं ।  हाम्रो दैनिकीमा नै असर परिरहेको छ लोडसेडिङले । ‘

विद्युत आउने जाने भएपछि घरमा राखिएको कम्प्‍युटर, इलेक्ट्रोनिक डिभाइस, ल्यापटप, प्रिन्टर समेत बिग्रिएको रोकायाले बताए। ‘दिनमा कति घण्टासम्म लोडसेटिङ हुन्छ, भन्नै सकिन्न । यसले दैनिक जीवनमा असर त पारैकै छ,’ उनले भने, ‘लाइन आउने-जाने कारणले कम्प्‍युटर, इलेक्ट्रोनिक डिभाइस, ल्यापटप, प्रिन्टर बिगारिदिएको छ।’

यता, जिल्लामा लोडसेटिङको चपेटा सरकारी कार्यालय समेत पर्न गरेको परियोजना कार्यन्वयन इकाईका नायक सुब्बा लक्ष्मीप्रसाद अधिकारीले बताए। ‘अहिले कार्यालयमा सोलार जडान गरिएको हुदाँ कम समस्या छ। बत्ति कतिबेला आउछ, जान्छ थाहा हुदैँन। यसभन्दा अघि पूर्वाधार विकास कार्यालयबाट सोलारको लाइन मागेर पनि कामकाँज सञ्चालन गर्न बाध्य छौं।’

दैनिक लोडसेटिङले जिल्लामा रहेका दुई वटा रेडियो, पत्रपत्रिका र जिल्लाबाट रिर्पोटिङ गर्न सञ्चारकर्मीलाई समेत समस्या हुने गरेको नेपाल पत्रकार महासंघ हुम्लाका पूर्व अध्यक्ष अर्जुन बोहराले बताए । ‘अघोषित लोडसेटिङ छ, तालिका वितरण केन्द्रले सार्वजनिक गरेको छैन। त्यसकारण हामी सञ्‍चारकर्मीलाई पनि जिल्लाबाट रिपोर्टिङ गर्न गाह्रो छ। ‘ उनले बताए ।

हिल्दुम वितरण केन्द्रका निमित कार्यालय प्रमुख कृष्ण प्रकाश वलीले भने पानीको बाहब नहुदाँ लोडसेटिङ गर्नु परेको बताए । ‘अहिले हामीले जम्मा २५० किलोवाट टर्वाइन मेसिन चलाएका छौं। त्यही पानीको कारणले धानेको छैन।’ उनले भने, ‘लोडसेटिङ तालिका निकालेका छैनौ । दिनमा कति घण्टा लोडसेटिङ हुन्छ म पनि जानकार छैन।’

८ वर्षदेखि एउटा मेसिन प्रयोगविहीन

५ सय किलोवाट भएको हिल्दुम वितरण केन्द्रको एउटा मेसिन ८ वर्षदेखि प्रयोगविहीन भएर बसेको छ । विद्युत सञ्चालन भएदेखि एउटा मेसिन मात्रै सञ्चालन गरेपछि अर्का मेसिन प्रयोगविहीन भएको हो । मेसिन सञ्चालनमा नआएपछि खिया लागेर काम नलाग्ने भएको छ । हाल २५० किलोवाटको एउटा मेसिन सञ्चालन रहेको छ ।

वर्षेनि करोडौं शुल्क असुल, उपभोक्ता मारमा

हिल्दुम वितरण केन्द्र हुम्लाले विद्युत उपभोग गरेबापत वर्षेनि करोडौं रकम असुल्ने गरेको स्थानीयहरुको गुनासो छ । हिल्दुम वितरण केन्द्र हुम्लाका अनुसार आर्थिक वर्ष ०८०÷८१ म विद्युत महसुल १ करोड २७ लाख ४३ हजार २२९ रुपैया २२ पैसा ग्राहकबाट महसुल उठाएको छ ।

वितरण केन्द्र हुम्लाका निमित्त कार्यालय प्रमुख कृष्ण प्रकाश वलीका अनुसार एक आर्थिक वर्षमा ९५ हजार ३२१.८३ युनिट विद्युत्‌ खपत भएको छ । तर, दिर्घकालीन रुपमा हिल्दुम वितरण केन्द्रको व्यवस्थापन नहुदाँ हुम्लामा सेवाग्राही प्रत्यक्ष मारमा परेका छन्।

अघोषित लोडसेडिङका कारण मोबाइल चार्ज गर्न नपाएको तथा दैनिक कामकाजमा असर परेको सिमकोट गाउँपालिका-६ का ४५ वर्षीय दिनेश रावतले बताए । उनले भने, ‘
बत्ति आउने समय थाहा नहुँदा मोबाइल चार्ज गर्न पाइदैन। दैनिक रुपमा कामकाजमा असर परिरहेको छ।पैसा भने मासिक रुपमा तिर्नु परिरहेको छ । ‘

यस्तै अर्का उपभोक्ता सर्केगाड गाउँपालिका-५ 35 वर्षीय भक्त बहादुर ऐडीको पनि यही गुनासो छ । उनी भन्छन्, ‘हामीले विद्युतको काम कुनै गर्न पाउँदैनौ। तर बिजुलीको बिल भने नियमित रुपमा तिर्दै आएका छौं। यसले गर्दा हामी मारमा परेका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?