+
+
बाबुराजा अपहरण प्रकरण :

१२ वर्षको मिहिनेतबाट समातिएका अपहरणकारी फरार भएपछि दोषी ठहर

सफाइ दिँदा बर्खास्तीमा परेका न्यायाधीशको फैसला उल्टियो

गत ७ माघमा टंकप्रसाद गुरुङ र प्रकाश खरेलको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै बुढाथोकीलाई दोषी ठहर गरेको हो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ माघ १४ गते २१:४०

१४ माघ, काठमाडौं । भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा जोडिएका एक व्यक्तिलाई उच्च अदालत पाटनले दोषी ठहर गरेको छ । सोले कुमार भनेर चिनिने दुर्गाबहादुर बुढाथोकीलाई उच्च अदालत पाटनले दोषी ठहर गरेको हो ।

गत ७ माघमा टंकप्रसाद गुरुङ र प्रकाश खरेलको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै बुढाथोकीलाई दोषी ठहर गरेको हो । उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले बुढाथोकीलाई अपहरण तथा शरीर बन्धकको कसुरमा दोषी ठहर गरिएको बताए । ‘उहाँ (बुढाथोकी) दोषी ठहर हुनभएको छ । कति सजाय निर्धारण भयो भन्ने विषय भोलि खुल्छ, ’ आचार्यले अनलाइनखबरसँग भने ।

यसअघि ५ असोज २०७८ मा बुढाथोकीलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिका प्रसाद निरौलाको इजलासले सफाइ दिएको थियो ।

‘पक्राउ परेका व्यक्ति दुर्गाबहादुर नै हुन् भन्ने प्रमाण नभएको, उनले आफू भारतीय नागरिक रहेको बताएको, सोही अनुसारको कागजात समेत पेस गरेको र अपहरणमा संलग्न भनिएका व्यक्तिले नै दुर्गाबहादुरलाई नचिन्ने बताएको’ जस्ता आधारहरू देखाउँदै न्यायाधीश निरौलाको इजलासले सफाइ दिएको थियो ।

प्रहरी हिरासतमा हुँदा अपराध स्वीकारेको (साविति बयान) दिएका दुर्गाबहादुर बुढाथोकीले अदालतमा भने भारतको राशन कार्डदेखि जन्मदर्तासम्म पेस गरेर आफू भारतीय नागरिक प्रकाश क्षेत्री भएको बताएका थिए । त्यसबारे अनुसन्धान अधिकृतहरूसँग थप नबुझी र प्रमाण समेत नझिकाई निरौलाले सफाइ दिएका थिए ।

पर्याप्त प्रमाण हुँदाहुँदै बुढाथोकीलाई सफाइ दिएको भन्दै आलोचना भएको थियो । बुढाथोकीलाई नेपाली नागरिक नै नभएको भन्दै न्यायाधीश निरौलाले निर्दोष रहेको फैसला गरेपछि उनी विवादमा तानिएका थिए । पछि बुढाथोकी नेपाली नागरिक नै भएको भन्दै उनको नागरिकतासमेत प्रहरीले जुटाएको थियो ।

बुढाथोकी नेपाली नागरिक रहेको प्रमाण प्रहरीले जुटाएपछि न्यायाधीश निरौलामाथि न्याय परिषद्ले छानबिन समेत गरेको थियो । १३ फागुन २०८० मा न्याय परिषद्ले निरौलालाई बर्खास्त गरेको थियो ।

अपहरणको १२ वर्षसम्मको मेहनतबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले भारतको दार्जेलिङबाट बुढाथोकीलाई १५ पुस २०७७ मा पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

त्यसपछि बुढाथोकीविरुद्ध थप अनुसन्धान गरेर मुद्दा चलाउन भन्दै सीआईबीले जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो । काठमाडौं परिसरबाट मुद्दा चलेका बुढाथोकी निर्दोष ठहर भएर जेलबाट छुटेको भोलिपल्ट मात्रै प्रहरीले थाहा पाएको थियो । त्यसपछि यो प्रकरण बाहिर आएको थियो ।

यता अपहरणकारी दुर्गाबहादुर बुढाथोकी नै भएको र भारतीय नागरिक रहेको भन्दै फैसला भएपछि अनुसन्धान अधिकृतहरू नै झस्किएका थिए । त्यसपछि यसको वास्तविकता बुझ्न र थप प्रमाण खोज्न भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका तत्कालीन एसएसपी चक्रबहादुर सिंहको नेतृत्वमा पाँच सदस्यीय समिति समेत गठन गरिएको थियो ।

भारतीय नागरिक प्रकाश क्षेत्री भन्दै अदालतले सफाइ दिएका व्यक्ति दुर्गाबहादुर बुढाथोकी नै रहेको भन्दै प्रमाणहरू समेत प्रहरीले जुटाएको थियो । जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट जारी भएको नागरिकता समेत प्रहरीले जुटाएको थियो ।

प्रमाण हुँदाहुँदै सफाइ पाएपछि यो फैसलाविरुद्ध उच्च अदालतमा पुनरावलोकन भएको थियो । जसमा जिल्लाको फैसला उल्टाउँदै उनलाई दोषी ठहर भएको हो । दोषी ठहर भए पनि बुढाथोकी भने अहिले फरार छन् । उनी त्यतिबेलै फरार भएर भारत पुगेको आशंका गरिए पनि अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।

कसरी भयो अपहरण ?

बाबुराजा रावलको अपहणका मुख्य योजनाकार उदय सेट्टी हुन् । अमर टण्डन अपहरणमा पक्राउ परेर जेल परेपछि सेट्टीले नेपालमा अपहरणको भन्दा चलाएका थिए । १ पुस २०६५ मा रावलको अपहरण भएको थियो ।

मारुती गाडीमा हालेर ४/५ जनाको समूहले मुखमा पट्टी बाँधेर रावलको अपहरण गरेको थियो । अपहरणमा प्रयोग भएको उक्त भ्यान कान्ति बाल अस्पतालको पार्किङमा प्रहरीले फेला पारेको थियो ।
यो अपहरणबारे प्रहरीले त्यसबेला मात्रै थाहा पायो, जति बेला बाबुराजा अपहरणमुक्त भइसकेका थिए ।

यही अपहरण घटनाको अनुसन्धानका सिलसिलामा अपहरणकारीका नाइके भारतीय नागरिक उदय सेट्टी पक्राउ परे । तर सेट्टीले भने बाबुराजाको अपहरण अस्वीकार गरे ।

प्रहरीको अनुसन्धानका क्रममा सेट्टीले नै बाबुराजाको अपहरणमा प्रल्हादको संलग्नता हुन सक्ने बताएका थिए । त्यसअघिसम्म प्रल्हाद महतबारे प्रहरी अनविज्ञ थियो । प्रह्दालमाथि अनुसन्धान गर्ने क्रममा नै बाबुराजा रावलको अपहरण प्रकरण सुल्झिएको थियो ।

प्रल्हाल सुरुमा सेट्टी समूहमै रहेर अपहरणको धन्दा चलाउने व्यक्ति रहेको खुलेको थियो । अपहरणमा प्रयोग हुने चोरीका गाडी, मोटरसाइकल प्रल्हादले नै अहिले दोषी ठहर भएका बुढाथोकीमार्फत बन्दोबस्त गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो ।

थप अनुसन्धानका क्रममा प्रल्हादसँगै बाबुराजाको अपहरणमा बिष्णु जिसी, सोले कुमार भनिने दुर्गाबहादुर बुढाथोकी, बंगुरे भनिने विकास कार्की, विनोद कार्की, अनिल गुरुङ, सोल्टी भनिने टासी गुरुङको संलग्नता खुलेको थियो ।

यता मोटरसाइकलसहित पक्राउ परेका सेट्टीले उक्त मोटरसाइकल प्रल्हादमार्फत नै आफूले लिएको बताएका थिए । उक्त मोटरसाइकल लिन भन्दै सेट्टीमार्फत नै प्रल्हादलाई बोलाएपछि उनी पक्राउ परेका थिए । प्रल्हाद पक्राउ परेपछि बाबुराजाको अपहरण नालिबेली खुलेको थियो ।

बाबुराजालाई अपहरण गरेर राखिएको महाराजगञ्जको एक घरमा प्रहरी पुगेको थियो । प्रहरी पुग्नुभन्दा केही मिनेट पहिला नै बुढाथोकी त्यहाँबाट भागिसेकका थिए । उनै बुढाथोकीलाई सीआईबीका तत्कालीन डीएसपी अनिल घिमिरेको टोलीले दार्जेलिङबाट १२ वर्षपछि पक्राउ गरेको थियो ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?