
१४ माघ, काठमाडौं । एउटा कोठामा तीन वटा दराज छन् । एउटा टेबलमा ग्यास चुल्हो छ । भाँडाकुँडा यत्रतत्र छन् । छेउमा केही थान किताबहरू छन् । यो त्रिविको हिन्दी विभागको लाइब्रेरी हो । अर्को कोठालाई कक्षा कोठा बनाइएको छ, तर पढ्ने कक्षा कोठाजस्तो छैन ।
‘कोठा अपुग भएकाले लाइब्रेरी र किचेन एकै ठाउँमा छ,’ विभागकी प्रमुख स्वेता दिप्तीले भनिन्, ‘सात वटा कोठा पायो भने व्यवस्थित हुने थियो । चार वटा कोठामा काम चलाएका छौँ ।’
थप कोठाका लागि त्रिवि नेतृत्वसँग आफूले कुरा राखेको उनले बताइन् । ‘कोठाका लागि माथि कुरा राखेको छु । त्रिविको जग्गा छ, भवन बनाउन दाता पनि छैनन्,’ उनले समस्या सुनाइन् ।
कोठा मात्र होइन विद्यार्थीको समेत अभाव झेल्नु परेको छ, हिन्दी विभागले । एमएको दोस्रो सेमेस्टरमा अहिले दुई जना विद्यार्थी अध्ययनरत छन् । तीन जना भर्ना भए पनि एक जनाले छाडेपछि दुई जनामा झरेको हो । ‘स्वास्थ्यका कारण एक जनाले छोड्नु भएको हो,’ प्रमुख दिप्तीले भनिन्, ‘त्रिविका सबै विभागको हालत यस्तै छ ।’
विभागमा हाल पाँच जना शिक्षक र दुई जना कर्मचारी गरी ७ जना कार्यरत छन् । यो वर्ष भने विद्यार्थीको संख्या बढ्नेमा आशावादी छिन् प्रमुख दिप्ती ।
‘एमएका लागि ७ जनाले प्रवेश परीक्षा दिनु भएको छ । सबै उत्तीर्ण हुनुभएको छ । ६ जनाले भर्ना गर्नेमा ढुक्क छु,’ उनले भनिन् ।
विभाग प्रमुख दिप्तीका अनुसार तेस्रो सेमेस्टरमा विद्यार्थी छैनन् । चौथो सेमेस्टरमा दुई जना विद्यार्थी छन् । एमफिल सकेर बसेका २ जना विद्यार्थी पीएचडीमा भर्नाको तयारीमा रहेको बताउँछिन् दिप्ती ।
‘एमफिलमा अहिले भर्ना खुलेको छैन । दुई चार जना सम्पर्कमा आउनु भएको छ । उहाँहरू आउनु हुन्छ भन्ने छ,’ उनले भनिन् । पछिल्लो १० वर्षमा २९ जना विद्यार्थी हिन्दीमा भर्ना भएका छन् । यो अवधिमा सबैभन्दा धेरै आर्थिक वर्ष २०७२/७३ मा र २०७५/७६ मा ६/६ जना विद्यार्थी भर्ना भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा हिन्दीमा विद्यार्थी भर्ना नै भएनन् ।
विभागको स्तरोन्नतिका लागि त्रिविले चासो नदिएको उनको गुनासो छ । ‘भीसी, रेक्टर र रजिस्ट्रार कार्यालयमा कुरा गर्न खोजेको हो । कहिले ताला लाग्छ, कहिले समय मिल्दैन । म आएको दुई महिना भयो । चार वर्षसम्म केही सुधार गर्छु,’ उनले भनिन्, ‘त्रिविले पनि विभागको संरक्षणमा चासो दिनुपर्छ ।’
त्रिविले विभागका शिक्षक कर्मचारीलाई तलब खुवाउने बाहेक अन्य कुरामा ख्याल नगरेको तर्क उनको छ । ‘हिन्दी भन्ने वित्तिकै अर्को सोच राखिन्छ । विश्वविद्यालय स्थापना हुँदाकै विभाग हो हिन्दी विभाग । संरक्षणमा सबैले चासो दिनुपर्छ,’ दिप्ती भन्छिन् ।
नयाँ विभाग खोल्ने तर पुरानो विभागलाई भने त्रिविले बेवास्ता गरेको बताउँछिन् विभागकी पूर्वप्रमुख डा. सञ्जिता बर्मा । उनी आफैंले पनि यही विभागबाट पीएचडी गरेकी हुन् ।
‘मानविकी संकायकै समस्या हो । हिन्दीमा पनि कम भएको हो । हामीले पढ्ने समयमा राम्रो थियो । अहिले राजनीतिको असर परेको हो,’ बर्मा भन्छिन्, ‘नयाँ नयाँ विभाग खोलियो तर पुरानोको संरक्षण गरिएन ।’
विद्यार्थीहरू विदेश पलयान भएका कारण विभागामा विद्यार्थी कम भएको निष्कर्ष उनको छ । ‘राज्यले रोजगारी दिन सकेको छैन । विद्यार्थी विदेश पलायन भएका छन् । अनि कसरी विद्यार्थीको संख्या धेरै हुन्छ त ?,’ उनी राज्यलाई दोष दिन्छिन् ।
के गर्ने त ?
हिन्दी विभागबाट एमए उत्तीर्ण गरेकी रेखा यादाव प्रतिनिधिसभा सदस्य छिन् । विभागबाट पीएचडी गर्न चाहे पनि पीएचडीका लागि १० जना विद्यार्थी चाहिने भनेका कारण पढ्न नपाएको बताउँछिन् ।
‘पीएचडी गर्न म सहित ६ जना थियौं तर १० जनाको संख्या हुनुपर्ने भनेपछि रोकियो । यहाँ भर्ना नभएपछि विद्यार्थी अर्को ठाउँमा पढ्न जान्छन्,’ यादव भन्छिन्, ‘कम विद्यार्थी भएका विभागलाई मर्ज गरेर एक जनालाई पनि पढ्ने अवसरबाट वञ्चित गरिनु हुन्न ।’
विद्यार्थीको संख्या बढाउन राज्यको सहि नीति नभएको उनी बताउँछिन् । ‘भाषा जान्नु भनेको राम्रो कुरा हो । जुनसुकै भाषा पढेको भएपनि कामसँग जोडिनुपर्छ । यसका लागि राज्यले नीति बनाउनुपर्छ,’ उनी भन्छिन् ।
कम संख्या भएका विभाग बन्द गर्नुपर्ने आवाज पनि उठिरहेको छ । तर, सांसद यादव बन्द नगरी कम विद्यार्थी भएका विभागहरूलाई मर्ज गर्नुपर्ने बताउँछिन् । ‘बन्द गर्नु समाधान होइन । व्यवस्थित गर्ने हो,’ उनी भन्छिन् ।
प्रतिक्रिया 4