
१४ माघ, काठमाडौं। काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले गाडीमा तरकारी राखेर बेच्नेमाथि धरपकड गरेको छ ।
काठमाडौं महानगरपालिका-१५ डल्लुस्थित चौतारा अगाडि सानो हाते ट्याक्टर (पावर ट्रिलर)मा तरकारी राखेर बिक्री गरिरहेका सुमन तामाङमाथि महानगर प्रहरीले धरपकड गरेको हो ।
‘स्थानीयहरूकै आग्रहमा तामाङले तरकारी बेच्न त्यहाँ ट्याक्टर रोकेका थिए । स्थानीयले तरकारी खरिद गरिरहेकै समयमा एक्कासि महानगर प्रहरीले उनीमाथि धरपकड गरे,’ प्रत्यक्षदर्शी एक स्थानीय भन्छन्।
स्थानीय बासिन्दाले नगर प्रहरीको नियन्त्रणबाट तामाङलाई फुत्काउने प्रयास गरेपनि नसकिएको ती प्रत्यक्षर्शी भन्छन्। ‘विचरा उनले तरकारी बेच्दा कसैलाई अफ्ठयारो भएकै थिएन, हामीले केही नगर्न भन्यौं । तर, महानगर प्रहरीको टोलीले यहाँ बेच्न मिल्दैन, अनुमती खै, भन्दै जंगिँदै उनलाई जबरजस्ती लिएर गए,’ उनले भने ।
तरकारी किन्ने स्थानीयका अनुसार तामाङको कारणले कसैलाई असहज नभए पनि महानगर प्रहरीले धरपकड गरेर तामाङलाई नियन्त्रणमा लिएको स्थानीय बताउँछन् ।
महानगर प्रहरीले अनुमति विना सवारीसाधन सडकमा रोकेर तरकारी बेचेको भन्दै जरिबाना गरेको जनाएको छ ।
ना५त १४११ नम्बरको गाडी सडकमा रोकेर तरकारी बिक्री गरिरहेको अवस्थामा तामाङलाई नियन्त्रणमा लिएको महानगर प्रहरीले जनाएको छ । उनलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।
प्रतिक्रिया 4