+
+

सत्तारुढ निष्कर्ष : गठबन्धनभित्र समस्या आए ओली-देउवालाई भन्ने

‘गठबन्धन भएकाले समस्या भइहाल्छ । तर सरकार र गठबन्धनभित्र समस्या देखियो भने त्यो कुरा प्रधानमन्त्री र भावी प्रधानमन्त्री (देउवा) लाई भन्ने निष्कर्षमा हामी पुग्यौँ ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १४ गते २१:५०

१४ माघ, काठमाडौं । सत्ता साझेदार दलहरूको नियमित बैठकले सरकारलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ नेताहरूको बैठकले सरकारलाई थप प्रभावकारी बनाउन संसद र गठबन्धन सञ्चालनमा ध्यान केन्द्रित गर्ने निर्णय गरेको हो ।

सत्तापक्षबीच आगामी संसद अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्नेमा खुलस्त छलफल भएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने । ‘बाहिर सार्वजनिक भएका कतिपय विषयमा अलमल परेको भन्दै कतिपय साथीहरुले आफ्ना भनाई राख्नुभयो, तर अध्यादेशका विषयमा, अनि सदन चलाउने विषयमा एकजुट भएर जाने निर्णय नै आज भयो,’ उनले भने ।

सरकारलाई थप प्रभावकारी बनाउन सत्तारुढ सांसदहरू संसद्‌मा एउटै लयका साथ प्रस्तुत हुने निर्णय गरेको  एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने । उनका अनुसार सत्तारुढ सांसदहरूले संसद्‌मा सरकारले गरेका कामहरूबारे एउटै लयमा चर्चा गर्ने निर्णय भएको छ ।

‘विपक्षी दलहरूले अध्यादेशबारे अनर्गल प्रचार गरेका छन् । जबकि अध्यादेशको अन्तर्वस्तु हेरिएको छैन,’ बर्ताैलाले भने, ‘सत्तारुढ सांसदहरूले अध्यादेशको अन्तर्वस्तुमा गएर वकालत गर्ने निष्कर्षमा पुगेका छौं ।’ सत्ता साझेदार दलहरूले आफ्ना सांसदहरूलाई सरकारले गरेका अरु कामबारे पनि तथ्य र प्रमाणहरू उपलब्ध गराएर एउटै मत निर्माण गर्ने निष्कर्ष बैठकले निकालेको छ ।

यो बैठकले सत्ता गठबन्धनलाई कमजोर हुन नदिनेबारे पनि छलफल गरेको छ । नेताहरूका अनुसार सरकारले राम्रै काम गरिररहेकाले गठबन्धनभित्र कुनै समस्या आउन दिन नहुने निर्णय भएको छ ।

‘प्रधानमन्त्रीले सरकारले गरिरहेको कामको ब्रिफिङ गर्नुभयो, उहाँले राम्रै गरिरहेको भन्नुभयो,’ बैठकमा सहभागी अर्का एक नेताले भने, ‘राम्रै काम गरिरहेको सरकारलाई टिकाउन गठबन्धनभित्र देखिने समस्या हल गर्नुपर्ने पनि कुरा भयो ।’

ती नेताका अनुसार गठबन्धनभित्र देखिने समस्या हल गर्ने जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिनुपर्ने निष्कर्षमा नेताहरू पुगेका छन् । ‘गठबन्धन भएकाले समस्या भइहाल्छ । तर सरकार र गठबन्धनभित्र समस्या देखियो भने त्यो कुरा प्रधानमन्त्री र भावी प्रधानमन्त्री (देउवा) लाई भन्ने निष्कर्षमा हामी पुग्यौं’, एक नेता भन्छन् ।

पार्टीभित्र र गठबन्धनका दलहरूबीच पनि समस्या आउन सक्ने संभावना भएकाले नियमित छलफल गरिरहने र दुई नेता (ओली–देउवा) लाई भन्ने निष्कर्ष नेताहरूले निकालेका हुन् । कांग्रेस–एमाले नेतृत्व गठबन्धनका दलहरूबीच हरेक महिना नियमित बैठक बस्ने सहमति छ ।

त्यसैअनुसार बालुवाटारमा सत्ता साझेदारहरूको बैठक बसेको हो । आज सोमबारको बैठकमा प्रधानमन्त्री ओलीसँगै देउवालाई पनि समानान्तर बस्ने व्यवस्था गरिएको थियो । एमाले प्रमुख सचेतक बर्तौला भने देउवा पूर्वप्रधानमन्त्री भएकाले अगाडि बस्ने व्यवस्था मिलाइएको दाबी गर्छन् ।

बैठकमा सिके राउतको आपत्ति

जनमत पार्टी अध्यक्ष सीके राउतले ठूला दुई दल कांग्रेस र एमालेले गठबन्धनको संस्कृति आत्मसात् गर्न नसकेको भन्दै आलोचना गरेका थिए । उनले पछिल्ला अध्यादेश ल्याउँदा, अनि निर्वाचन आयोगबाट निर्वाचन प्रणालीमा पुनरावलोकन प्रस्ताव ल्याउने क्रममा साना दललाई राष्ट्रिय दल बन्न नदिने उद्देश्यबाट अघि बढ्ने काम भएको भन्दै आपत्ति जनाए ।

‘पाँच प्रतिशत थ्रेसहोल्ड राख्ने, ३ प्रदेशमा संघीय सांसद जितेको हुनुपर्ने, ८० प्रतिशत क्षेत्रमा उम्मेदवार उठाएको हुनुपर्ने प्रावधान हामीलाई सिध्याउने उद्देश्यले अघि सारिएका छन्, यो हामीलाई मान्य छैन,’ राउतले बालुवाटार बैठकमा भने ।

प्रधानमन्त्री ओलीले आफ्नो उद्देश्य त्यस्तो नभएको भन्दै त्यस्ता प्रस्ताव आएका भए रोकिने आश्वासन दिए । ‘मैले ती प्रस्तावहरू सबै हेर्न पाएको छैन, तर यस्तो हुनुुहुँदैन,’ ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले हेरेर पुनरावलोकन गर्न लगाउँछु ।’

राउतले भूमि अध्यादेश ल्याउँदा तराईमा राजमार्ग क्षेत्रका बासिन्दालाई लक्षित गरिएको, तर कोर मधेशी एरियालाई उपेक्षित गरिएको आफूले पाएको सुनाए ।

बैठकमा राउतले मधेशी दलितहरूको समस्या अझै पनि ज्यूँका त्यूँ रहने देखिएकाले तुरुन्तै पुनर्विचार गर्न माग गरे । प्रधानमन्त्री ओलीले राउतको प्रस्तावमा विचार गर्दै त्यसमा आवश्यक व्यवस्था गरिने आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?