+

कहिले हुन्छ ए डिभिजन लिग फुटबल ?

२०८१ माघ  १५ गते १३:४५ २०८१ माघ १५ गते १३:४५
कहिले हुन्छ ए डिभिजन लिग फुटबल ?

१५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को काम फुटबल गतिविधिलाई चलायमान बनाउने हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजनादेखि घरेलु लिग संरचनाअनुसार खेल आयोजना गर्ने, ग्रासरुट सञ्चालन गर्ने, एकेडेमीबाट प्रतिभावान् युवा खेलाडीहरू उत्पादन गर्ने लगायत काम एन्फाको हो । यसैका लागि नै एन्फा अस्तिस्वमा छ ।

अनि खेलाडीको काम खेल्ने हो । दर्शकको काम खेल हेर्ने आफ्नो टिमलाई समर्थन गर्ने खेलको मज्जा लिने हो । तर झण्डै दुई वर्ष हुन लाग्यो खेलाडी दर्शक र स्वयं एन्फालाई पनि एउटा कुरा भने खड्किएको छ । त्यो हो शीर्ष श्रेणीको लिग ।

शहीद स्मारक ए डिभिजन लिग नेपालको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता हो । यही लिगबाट खेलाडीहरूले आफ्नो प्रदर्शन देखाएर राष्ट्रिय टिमसम्म पुग्ने आधार तय गर्छन् । नयाँ खेलाडीहरू पनि यही लिगबाटै आफ्नो प्रतिभा देखाएर सबैको नजरमा पर्छन् ।

दर्शकले पनि ए डिभिजन लिग हेर्न खोजिरहेका छन् । अनि एन्फाको लागि पनि मुख्य लिग भनेकै ए डिभिजन लिग नै हो । जब ए डिभिजन लिग फुटबल हुन्छ, यसले फुटबल गतिविधिलाई चलायमान बनाउने मात्र नभई खेलाडी र प्रशिक्षकहरूलाई रोजगारी अनि दर्शकलाई फुटबलको मज्जा दिन्छ । साथै राष्ट्रिय टिम निर्माणका लागि प्रशिक्षकहरूले राम्रा खेलाडीहरू पनि लिगबाटै छान्न पाउनेछन् ।

तर अहिले अवस्था यस्तो छ कि एन्फा ए डिभिजन लिग गर्न नसक्ने, खेलाडीले लिग खेल्न नपाउने, दर्शकले लिगको मज्जा लिन नपाउने अवस्था कायम छ । अनि राष्ट्रिय टिममा पनि राम्रा खेलाडी आउन सकेका छैनन् । प्रशिक्षकलाई राष्ट्रिय टिममा खेलाडी संख्या पुर्‍याउन नै हम्मे हम्मे पर्ने अवस्था छ । कोही डिभिजन लिग नै नखेली सिधै राष्ट्रिय टिममा खेल्नुपर्ने अवस्था छ ।

अखिल नेपाल फुटबल संघका प्रवक्ता सुरेश शाहले नेपालको लिग संरचना ए, बी र सी डिभिजनको साइकल रहेको त्यो पूरा नहुँदा ए डिभिजन लिग हुन नसकेको बताए । ‘हाम्रो लिग संरचनामा तीन वटा लिग छ । लिगको साइकल पूरा हुन तीनवटै लिग हुनपर्छ’ शाहले अनलाइनखबरसँग भने, ‘तर यसअघिको साइकलमा ए डिभिजन लिग भयो । त्यसपछि सी डिभिजन सम्पन्न भयो । बी डिभिजन समयमा सम्पन्न हुन सकेन । मुख्य समस्या लिग साइकल पूरा हुन सकेन।’

खेलाडीले नै गुहार्नुपर्ने अवस्था

नेपाली राष्ट्रिय टिमका फरवार्ड तथा हाल एनआरटीबाट नकआउट प्रतियोगिताहरू खेलिरहेका अन्जन विष्टले लिग खेल्ने वातावरण बनाइदिन आग्रह गरेका छन् । उनले काठमाडौंमा भइरहेको सभापति कप फुटबलमा आइतबार फ्रेण्ड्सलाई हराउँदै आफ्नो टिमलाई सेमिफाइनल पुर्‍याएपछि लिग खेल्ने वातावरण बनाइदिन सम्बन्धित निकायलाई आग्रह गरेका थिए ।

खेलाडीले मुखै खोलेर लिग आयोजना गर्नुपर्‍यो भनेर भनेको यो पहिलोपटक होइन । यसअघि पनि धेर खेलाडीले धेरै पटक लिग गराउनुपर्‍यो भनेर नभनेको होइन । तर खै किन हो एन्फा सुनेन कि सुनेर पनि नसुनेजस्तो गरेको हो थाहा छैन । लिग चाहिँ भएको छैन, तथ्य यही हो ।

‘यस (सभापति कप) ले कम्तीमा राहत मिलेको छ । हामीलाई लिग खेल्ने वातावरण बनाइदिनु । धेरै पनि भनेको छैन ४-५ महिनाको लिग होस् । एनएसएल हुन्छ । मोफसल हुन्छ’ दुई गोल गर्दै प्लेयर अफ दि म्याच बनेका एनआरटीका कप्तान अन्जनले पोष्ट म्याच कन्फ्रेन्समा भनेका थिए ।

उनले नेपालमा फुटबल प्रतियोगिताहरू भइदिए विदेशिएका खेलाडीहरू समेत यहाँ आएर खेल्न सक्ने बताए । ‘लिग भयो भने त खुशी खुशी बसिहाल्छ नि । म मात्र होइन बाहिर हुने पनि आउने चान्स छ । मेरो साथी विमल आएर खेल्दैछ’ अन्जनले भने, ‘फुटबलको माया छ नि त । फुटबल छाड्न सकिन्न । मुख्य कुरा डोमेस्टिक लिग हुन पर्‍यो ।’

यस्तै अन्जनले दशरथ रंगशालमा खेल्न पाउँदा एकदमै धेरै खुशी लागेको पनि बताएका थिए । नियमित लिग हुने भने अरू खेलाडीले पनि खेल्न पाउने अन्जनको भनाई थियो । ‘दशरथ रंगशालामा खेल्न पाउँदा नै म त भाग्यमानी ठान्छु । त्यसमा गोल हान्दा यसको वर्णन गर्न सक्दिन’ उनले खेलपछि लाइभ ब्रोडकास्टरसँग भने, ‘रेगुलर लिग भयो भने त झन् सबै खेलाडीहरू धेरै खुशी हुन्छ । ।’

लिग फुटबल नभइरहेका बेला हुने यस्ता किसिमको नकआउट फुटबल प्रतियोगिता हुनु राम्रो भएको र यसले खेलाडीहरूले खेल्ने अवसर पाउने अन्जनले बताए । ‘फुटबल नहुँदा पनि यत्तिको प्रतियोगिता हुनु फुटबल खेलाडीको लागि राम्रो कुरा हो । यो प्रतियोगिताले राहत मिलेको छ । कति खेलाडीले यहाँ खेल्न पाएका छन्’ अन्जनले भने, ‘रेगुलर लिग हुन सक्यो भने अझ राम्रो खेलाडीहरू निस्कन्छ ।’

अन्जनसँगै एन्फा एकेडेमीबाट हुर्केका र युवा उमेर नै नेपालका लागि डेब्यु गरेर सनसनी मच्चाएका विमल घर्तीमरगले पनि दशरथ रंगशालमा आएर खेल्न पाउनु आफ्नो लागि विशेष क्षण भएको बताएका थिए ।

उनलाई नकआउट प्रतियोगिता र मोफसलमा हुने अन्य गोल्डकपका लागि मछिन्द्र एफसीले अष्ट्रेलियाबाट नै नपाल बोलाएको हो । विमलले एपीएफविरूद्धको पहिलो खेलपछि मच्छिन्द्रले आफूलाई लगाएको गुन र रंगशालमा खेल्न पाउँदाको खुशी सामाजिक सञ्जालमा स्ट्याटसमार्फत साटेका थिए ।

दुई वर्षदेखि भएको छैन ए डिभिजन लिग

नेपालमा पछिल्लो पटक २०७९ साल अन्तिममा ए डिभिजन लिग भएको थियो । जसको समापन २०८० साल जेठमा भएको थियो । तर त्यो लिग २०७९ सालकै थियो । २०८० सालको मध्यतिर ए डिभिजन लिगको नयाँ सिजन सुरू हुनुपर्ने हो तर त्यसो भएन ।

एन्फाले नै विविध कारणले गर्दा २०८० सालमा लिग गर्न नसक्ने स्वीकार गर्दै साधारण सभाबाटै २०८१ सालमा लिग सुरू गर्ने गरी क्यालेन्डरमा समावेश गरेको थियो । तर अब २०८१ सालमा पनि ए डिभिजन लिग हुने छाँटकाँट छैन । किनभने अघिल्लो वर्ष नै हुनुपर्ने बी डिभिजन लिग हुन सकेको छैन ।

२०७९ सालमा भएको बी डिभिजन लिगको च्याम्पियन बनेको चर्च ब्वाइजले ए डिभिजन लिग खेलेर पहिलो सहभागितामै च्याम्पियन बनेको पनि दुई वर्ष पुग्न लागिसक्यो । तर बी डिभिजन फेरि सुरू भएको छैन ।

बी डिभिजन लिग नहुँदा त्यसको असर ए डिभिजनमा पनि परेको छ । एन्फा अध्यक्षको बर्खास्तीको माग, नियमित साधारण सभा हुन नसक्नु, बी र सी डिभजन लिगमा ढिलाईले गर्दा २०८० सालमा ए डिभिजन लिग पनि हुन सकेन । यस वर्ष पनि बी डिभिजन लिग गर्न ढिला हुँदा त्यसको असर ए डिभिजनमा परेको छ ।

लिग संरचनामा बढुवा (प्रमोसन) र घटुवा (रेलिगेसन) को व्यवस्था हुने हुँदा बी डिभिजनबाट बढुवा भएर ए डिभिजनमा नउक्लेसम्म ए डिभिजनमा क्लबको कोटा पुरा हुँदैन ।

यस वर्ष भने किन हुन सकेन भनेर एन्फाले स्पष्ट रुपमा भन्न समेत सकेन । यद्यपी एन्फा प्रवक्ता शाहले पनि ए डिभिजन लिग नहनुमा लिग साइकल पूरा नहुनु पनि कारण रहेको बताए ।

उनले लिग साइकल पूरा नहुँदा बी डिभिजनबाट ए डिभिजनमा बढुवा हुने क्लबको टुङ्गो पनि नलागेको बताए । ‘हाम्रो लिग सिस्टममा दुई क्लब माथि चढ्ने र दुई क्लब तल झर्ने मेकानिजम छ । लिग साइकल पूरा नभएपछि बि बाट ए मा जाने टिम नहुँदा फर्म्याट पूरा नभएको कारणले २०८१ मा ए डिभिजन लिग गर्न सकेनौँ ।’

अब २०८१ साल पनि सकिन अब दुई महिना मात्र बाँकी रहँदा यस वर्ष पनि ए डिभिजन लिग टरेको स्थिती छ । किनभने फागुनमा एन्फाले चार राष्ट्र सहभागि अन्तर्राष्ट्रिय महिला फुटबल आयोजना गर्दैछ । त्यसपछि शहीद स्मारक बी डिभजन लिग पनि फागुनमै सुरू हुँदैछ ।

चैतको दोस्रो साता नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा मलेसियासँग घरेलु मैदानमै खेल्ने तालिका छ । यस्तै चैत तेस्रो साता देखि नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण सुरू गर्ने भनेर घोषणा भइसकेको छ । एनएसएलबारे धेरै कुरा सार्वजनिक नभएपनि मार्च २९ देखि सुरू गर्ने भनेर घोषणा भइसकेको छ । यसरी हेर्दा यस वर्ष ए डिभिजन लागि समय उपलब्ध नै छैन ।

ए डिभिजन लिगमा क्लब बढाउने तयारी !

सामान्य रूपमा हेर्दा लिगको संरचना पूरा नहुँदा ए डिभिजन लिग नभएको जस्तो देखिन्छ । तर कारण यतिमा मात्र सीमित भने छैन । फुटबल खेलाउने एन्फाले नै राम्रोसँग लिगको व्यवस्थापन गर्न नसक्दा लिग हुन सकेको छैन ।

समयमै ए डिभिजन लिग गर्न नसक्नु एन्फाकै कमजोरी हो । त्यसमा बी डिभिजन लिगका क्लबहरू र एन्फाबीचको समन्वय पनि हुन नसक्दा बी डिभिजन लिगको आयोजना मिति तोक्दै सर्दै गरेको छ ।

यस्तै अघिल्लो पटक भएको ए डिभिजन लिगमा थ्रीस्टारले जावलाखेल युथ क्लबविरूद्ध भिसा अवधि सकिएको विदेशी खेलाडी खेलाएपछि एपीएफले यस विषयमा उजुरी हालेको थियो । यो विषयमा पनि एन्फाले स्पष्ट रुपमा निर्णय गर्न सकेको छैन । यो पनि अर्को कारणको रूपमा देखिएको छ ।

यसअघि ए डिभिजन लिगबाट विभागीय टोली एपीएफ र खुमलटार एफसी रेलिगेसनमा परेको थियो । तर थ्रीस्टार क्लबले जावलाखेल युथ क्लबविरूद्ध १-० को जितमा भिसा अवधि सकिएका दुई विदेशी खेलाडी खेलाएको भन्दै एपीएफले थ्रीस्टारलाई कारवाही गरी अंक घटाउनुपर्ने माग राखेको थियो । त्यसो भएमा आफूहरू रेलिगेसनबाट बच्ने एपीएफको भनाई थियो ।

तर एन्फाको अनुशासन समितिले थ्रीस्टारलाई कारवाही गर्दै जरिवाना गराएपनि खेलको नतिजा जावलाखेलको पक्षमा भने दिएन । यसको अर्थ एपीएफ र खुमलटार नै रेलिगेसनमा पर्ने भन्ने हुन्छ । यदि थ्रीस्टारले जितेको उक्त खेलको नतिजा जावलाखेलको पक्षमा गएमा थ्रीस्टार नै रेलिगेसनमा पर्ने र एपीएफ बच्ने स्थिति हुन्छ । त्यसैले एन्फाले यस्तो किसिमको निर्णय गर्न सकेन ।

यही कारणले गर्दा अहिले एन्फा अघिल्लोपटकको ए डिभिजन लिगबाट कुनै पनि क्लबलाई घटुवा नगर्ने र अब हुने बी डिभिजन लिगबाट दुई क्लब बढुवा गरी ए डिभिजन लिगमा क्लब संख्या बढाएर अर्को पटक लिग गर्ने योजनामा छ ।

एन्फा प्रवक्ता सुरेश शाहलाई यसबारे सोध्दा उनले यसमा कुनै जवाफ दिएनन् । उनले अब बी डिभिजन लिग र राष्ट्रिय लिग गरेपछि अर्को सिजन ए डिभिजन लिग आयोजना हुने मात्र बताए ।

ए डिभिजन लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय