
काठमाडौंं। लोकगायक विमलराज क्षेत्रीले देशव्यापी सांगीतिक कार्यक्रम गर्ने भएका छन् । ‘बिमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ नाम दिइएको कार्यक्रम नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक महासंघले आयोजना गर्न लागेको हो ।
आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीले यसबारे जानकारी दिए । महासंघ अध्यक्ष तीर्थबहादुर थापाले पार्टीले गरेका क्रियाकलाप, उपलब्धि, सामाजिक रुपान्तरणका महत्वपूर्ण घटना र भावी योजना जनतासमक्ष लैजान अभियान गर्न लागेको बताए ।
‘नेपाली कांग्रेसले गरेको जति महत्वपूर्ण काम र गतिविधि अन्य पार्टीको छैन । ती सबै कामको जानकारी जनतामाझ पुग्न सकेको छैन । अन्यले भ्रम पार्ने काम गरिरहेका छन्’, थापाले भने ‘सांगीतिक माध्यमबाट ती गतिविधि जनतामाझ अब पुग्छ ।’
अभिनेता शिवशंकर रिजाल ‘जोगिन्दर’ले कांग्रेसलाई अझ नजिकबाट चिनाउन अभियान महत्वपूर्ण हुने चर्चा गरे । गायक क्षेत्रीले यो अभियान आफूले सानैदेखि देखेको सपना भएको भन्दै अहिले आएर पुरा हुन लागेको बताए ।
माघ २४ गतेदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले उद्घाटन गरेपछि अभियान सुरु हुने जनाइएको छ । पहिलो चरणमा सातै प्रदेशको एक-एक जिल्लामा कार्यक्रम हुनेछ ।
तामझामसहित हुने सांगीतिक अभियानमा क्षेत्रीलाई गायिका राधिका हमालले साथ दिनेछिन् । शिवंकर रिजाल, सुजाना केसी, शिवहरी बैरागी, प्रभाकर शर्मा, ,ऋतु थापा, सन्ध्या सानु, शशी थापा पुन, विष्णु धामी, उमाशंकर जोशी, टीकाकुमारी क्षेत्री लगायतले प्रस्तुति दिनेछन् ।
प्रतिक्रिया 4