+
+

ट्रम्पको विरोधमा रोइन सेलेना गोेमेज : मेरा मान्छेमाथि आक्रमण भैरहेको छ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते १३:४३

काठमाडौं । चुनावी वाचाअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएलगत्तै गैरकानूनी आप्रवासीमाथिको कार्वाहीलाई तीव्र तुल्याएका छन् । यस क्रममा ५०० भन्दा धेरै पक्राउ परेका छन् र कतिपयलाई देश फिर्ता गराइएको छ ।

ट्रम्पले आप्रवासीलाई धमाधम निकाला गर्दैगर्दा यसबीचमा पपस्टार सेलेना गोमेजको भिडियो भाइरल भइरहेको छ, जसमा उनी रोएकी छन् । अमेरिकी राष्ट्रपतिले अध्यागमन नीति कडा बनाउँदै कार्वाही तीव्र तुल्याएपछि उनले आँसु झारिन् ।

सेलेनाले इन्स्टाग्राममा भावुक पोस्ट सेयर गरेकी छिन् । ३२ वर्षीय गायिकाले गत जनवरी २७ मा मेक्सिकन झण्डाको इमोजी प्रयोग गरेर ‘मलाई माफ गर्नुहोस्’ क्याप्सनको साथ एक भावनात्मक क्लिप पोस्ट गरेकी थिइन् । तर पछि भिडियो हटाइन् ।

गोमेजले भिडियोमा अहिलेको अवस्थाप्रति दुःख व्यक्त गर्दै भनिन्, ‘मेरा सबै मानिसमाथि आक्रमण भइरहेको छ, बालबालिकालाई समेत । मैले बुझ्न सकिरहेको छैन । म धेरै दुखी छु । म केही गर्न चाहन्छु, तर म सक्दिन । मलाई के गर्ने थाहा छैन । म सक्दो प्रयास गर्नेछु । म प्रतिज्ञा गर्छु ।’

भिडियोपछि सेलेनाले इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन्, ‘स्पष्ट रूपमा मानिसप्रति सहानुभूति देखाउनु ठीक होइन ।’ उनले आफ्नो विचार व्यक्त गर्दा भएको आलोचनाको जवाफ दिएको देखिन्छ ।

सेलेनाले अक्टोबर २०१९ मा टाइम म्यागजिनको लेखमा यस मुद्दासँग सम्बन्धित आफ्नो व्यक्तिगत जीवनको बारेमा खुलासा गरेकी थिइन् । उनले सन् १९७० को दशकमा अमेरिका–मेक्सिको सीमा पार गर्ने आफ्नो परिवारको पहिलो सदस्य आफू रहेको उल्लेख गरेकी थिइन् । उनका बुबा टेक्सासमा जन्मेका थिए ।

राष्ट्रपतीय चुनावका बेला रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले आफू जितेमा अमेरिकामा रहेका गैरकानुनी आप्रवासीविरुद्ध कारबाही गर्ने वाचा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?