
१५ माघ, काठमाडौं । सरकारले संसद् छलेर अध्यादेश नल्याएको भन्दै कुनै बदनियत नभएको स्पष्ट पारेको छ
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो प्रष्टिकरण दिएका हुन् ।
उनले अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएको जिकिर गरे ।
‘यो सरकारको संवैधानिक अधिकार हो । मुलुकको आवश्यकताको लागि, सुशासन प्रवद्र्धन गर्नका लागि र अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अध्यादेश ल्याइएको हो,’ गुरुङले प्रश्न गर्दै भने, ‘अध्यादेश कसरी बदनियत हुन्छ ? संसद्बाट छलेर भागेको भए छुट्टै, संसद्मा पेस भएर पारित हुन्छ । यो प्रतिपक्षीको भाषा होला ।’
अध्यादेश फास्ट ट्र्याकबाट पारित गरिने
साथै, उनले सरकारले ल्याएको अध्यादेश संसद्बाट फास्ट ट्रयाकबाट पारित गरिनेगरि संसद् सचिवालयमा दर्ता गरिएको पनि जानकारी गराए ।
‘हिउँदे अधिवेशनमा अध्यादेश संसद् सचिवालयमा दर्ता गरिसकेका छौं । त्यो अध्यादेश फास्ट ट्र्याकबाट पारित हुन्छ,’ उनले भने ।
अध्यादेश कार्यान्वयनका लागि नियमावली बनाउने र तदारुकताका साथ अघि बढ्ने बताए ।
‘अध्यादेश कार्यान्वयनका लागि नियमावली बनाउने काम हुन्छ । त्यो नियमावली तदारुकताकासाथ बनाउने काम हुन्छ,’ सरकारका प्रवक्ता गुरुङले भने ।
संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेबाट सुरु हुँदैछ । सोही दिन सरकारले ल्याएका ६ वटा अध्यादेश पेस गर्ने तयारी छ ।
प्रतिक्रिया 4