
१५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सरकारले कानुनको दुरुपयोग गरेर मानव अधिकार उल्लंघन गरिरहेको आरोप लगाएकी छिन् ।
मंगलबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा बोल्दै सांसद गौतमले सरकारले थुनेर मात्र अभियोजन लगाउँदै मानव अधिकारको गम्भिर उल्लंघन गरिरहेको बताएकी हुन् ।
अभियोन लगाउनुपर्ने कारण भए नथुनिकन पनि राज्यले अभियोजन लगाउन सक्ने कानुनी व्यवस्था भएपनि लामो समयसम्म थुनेर मात्र अभियोजन लगाउने प्रवृत्तिको विकास भएको उनले बताइन् ।
‘राज्यले अभियोजन गर्न पाउँछ तर थुनेर मात्रै र कानुनअनुसार आवश्यकता पर्दा अनुसन्धान प्रयोजनका लागि थुन भनेकोमा सरकार पक्षबाट कानुनको दुरुपयोग गरेर कानुनी हिसाबले थुन्न पाउँदासम्म थुन्ने अनि बल्ल अभियोजन गर्ने काम भइरहेको छ । यो मानव अधिकारको गम्भिर उल्लंघन हो,’ उनले भनिन् ।
सरकारले कसैले सार्वजनिक रुपमा प्रश्न उठाउने बित्तिकै पक्राउ गरिहाल्ने काम गरेको भन्दै त्यसतर्फ उनले ध्यानाकर्षण गराइन् ।
न्यायिक निरुपण गर्ने संस्थाले अपराधी करार गरे जसरि नागरिकलाई थुन्नु उसको मानव अधिकार र स्वतन्त्रता हनन हुने जिकिर सांसद गौतमको थियो ।
‘कसैलाई नथुनि पनि अभियोज गर्न सकिन्छ । कसैलाई अभियोजन गर्नुपर्ने लाग्यो भने राज्यले अभियोजन गर्न पाउँछ । तर थुनेर मात्रै अभियोजन गर्नुपर्छ भन्ने त छैन नि,’ गौतमले भनिन्, ‘कसैलाई नथुनेर पनि अभियोजन गर्न सकिन्छ भन्ने अवस्थामा पनि सरकारले अहिले कसैले बोल्यो, सार्वजनिक रुपमा प्रश्न उठायो भने पक्रिहाल्ने र कति दिन हुन्छ अनुसन्धान प्रक्रियाको लागि भनेर थुनामा राख्ने अनि निश्चित समयपछि अभियोजन गर्ने प्रवृतिको देखिएको छ ।’
सरकारले जनताको माग समस्या गर्न नसक्दा जनताले आक्रोशित रुपमा प्रश्न गर्ने गरेको र अभद्र व्यवहारमा मुद्दा चलाउने गरेको भन्दै त्यसको विरोध पनि उनले समितिको बैठकमा भनिन् ।
‘मानिसहरूलाई डर, त्रासको वातावरण सिर्जना गर्ने अनि न्यायिक प्रक्रियामा अगाडि जाने जस्तो प्रक्रियामा सरकार गइरहेको जस्तो देखिन्छ । यो एक व्यक्तिको कुरा होइन । अहिले प्रवृत्ति नै यही देखिएको अवस्था छ,’ सांसद गौतमले भनिन्, ‘यसमा म आईजीपी सर हुनुहुन्छ गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु । भोलि अपराध हो वा होइन त पुष्टि हुनै बाँकी छ नि । भोलिको दिनमा न्यायिक निकायले पुष्टि त गर्ने नै हो । आज नै कसुरदार हो भने जसरि थुनेर भोलि उसले गल्ति गरेको रहेनछ भनेदेखि त उसको मानव अधिकार र स्वतन्त्रता हनन भयो नि ।’
नागरिकले उठाएका प्रश्नको समाधान गर्न नसक्दा आक्रोशित रुपमा प्रस्तुत भएको हुनसक्ने उनको भनाइ थियो ।
‘सरकारले नागरिकले उठाएका प्रश्नको समाधान आफूले गर्न सकेको छैन । अनि नागरिक आक्रोशित शैलीमा प्रस्तुत भएको हुनसक्छ त्यस्ता कुरामा समातेर अभद्र व्यवहारमा मुद्दा चलाउने भनेको चाहीँ मानव अधिकारको उल्लंघन हो,’ उनले भनिन् ।
गम्भिर मुद्दाका कसुरदारबाहेकलाई थुनामा नराखि अभियोजन चलाउनुपर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया 4