१५ माघ, काठमाडौं । हेटौंडामा सञ्चालन भइरहेको २५औं पुरूष राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अन्तर्गत तेस्रो दिन पाँच चरणका खेल सम्पन्न भएका छन्। जसमा एफएम रुपेश जैसवालले ४.५ अंक बनाउँदै स्पष्ट १ अंकको अग्रता कायम गरेका छन्।
मंगलबार सम्पन्न भएको खेलमा रौतहटका रुपेशले वर्तमान नेपाल च्याम्पियन झापाका राजन सुवेदीलाई पराजित गरेका छन्। राजनले रुपेशविरूद्ध २३औं चालमा रुक सि सेभेन गलत मुभ चाल्दा बि सिक्स पाउन गुमाउन पुगेका थिए। लगत्तै ए सेभेन पाउन पनि त्याग्नु पर्दा खेल रुपेशको पक्षमा गएको थियो।
राष्ट्रिय चेस प्रतिस्पर्धामा मकवानपुरका क्षितिज भण्डारी र झापाका शुश्रुत दहालले समान ३.५ अंक जोडेर संयुक्त दोस्रो स्थान ओगट्न सफल भएका छन्। खेलमा एफएम क्षितिजले काठमाडौंका सिएम नवीन तण्डुकारलाई हराए भने सिएम शुश्रुतले भक्तपुरका विनय थापा माथि जित निकाले।
स्पर्धामा अन्य तीनजना खेलाडी समान ३ अंकका साथ संयुक्त रूपमा तेस्रो स्थानमा छन्। दोलखाका आशिष् फूँयाल, काठमाडौंका पुरुषोत्तम सिलवाल र एफएम रिजेन्द्र राजभण्डारी खेलमा टिकिरहेका छन्।
यसैगरी १०औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पाँचौ खेल सम्पन्न हुFदा वर्तमान नेशनल वुमन च्याम्पियन सिन्दिरा जोशीले ४.५ अंक जोडेर स्पष्ट अग्रता बनाएकी छिन्। राष्ट्रिय महिला विजेता सिन्दिरा जोशीले चार जीत र एक खेल बराबर खेल्दै अपराजित रहन सफल भएकी छिन्।
प्रतियोगितामा पहिलो हार व्यहोरेका एञ्जल महर्जन ४ अंकमै सिमित बन्दै दोस्रो स्थानमा रहेकी छिन्। काठमाडौंका एञ्जलले क्रमश: ४ जीत र एक खेलमा हारको नतिजा निकालेकी हुन्। उनीसँगै काठमाडौंकै बिनिता कपाली ४ अंक बनाई संयुक्त दोस्रो स्थानमा रहन सफल भएकी छिन्। बिनिताले ४ खेलमा जीत प्राप्त गरेकी छिन्।
यस्तै बाँकेकी इशा गिरी र मोरङकी शान्ति धिमाल समान ३.५ अंकसहित संयुक्त तेस्रो स्थानमा सम्भावना कायमै राखेका छन्। दुवै खेलाडीले समान ३ जीत र एकमा बराबर खेले।
प्रतिक्रिया 4